२०७९ मा संगीत क्षेत्रले गुमाएका संगीतकर्मी

म्यूजिक खबर
प्रकाशित: ३० चैत्र २०७९, बिहीबार

काठमाडौं । हामी अहिले २०७९ साललाई बिदाइ गरेर २०८० साललाई स्वागत गर्न संघारमा उभिएका छौँ । २०७९ लाई सम्झँदा नेपाली सांगीतिक क्षेत्रमा थुप्रै नयाँ कलाकारहरुको प्रवेश भयो । सँगसँगै यस क्षेत्रले संगीतका खम्बाहरु गुमाउनु पनि प¥यो । यसले सिंगो सांगीतिक क्षेत्रलाई स्तब्ध तुल्यायो । यहाँ सांगीतिक क्षेत्रले गुमाएका केही मूर्धन्य, अग्रज र अनुज व्यक्तिहरूलाई सम्झना गरेका छौं ।
आफ्नो अन्तिम बिन्दु २०७९ साललाई नै बनाएर हामीबाट टाढा भएका संगीत क्षेत्रका प्रमुख व्यक्तित्वहरु

लोकदोहोरी गायक राजेन्द्र लम्साल
हामीले २०७९ मा लोकदोहोरी बरिष्ठ गायक राजेन्द्र लम्साल क्षेत्रीलाई गुमाउनु पर्यो । ६० वर्षको उमेरमा निधन भएको हो । लोकदोहोरीका सर्जक समेत रहेका लम्सालको फागुन २२ गते सोमबार स्पेनको एक हस्पिटलमा निधन भएको हो । उनी केही वर्षदेखि उच्च रक्तचाप, कलेजो र पिसाबसम्बन्धी समस्याबाट पीडित थिए ।
लामो समयदेखि स्पेनमा बस्दै आएका राष्ट्रिय दोहोरी गीत प्रतिष्ठान नेपालका संस्थापकसमेत रहेका लम्साल ‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल’ युरोप शाखाका संस्थापक संरक्षक पनि हुन् ।
राजेन्द्रको शबलाई काठमाडौं ल्याइ अन्त्येष्टिका गरिएको थियो ।
रेडियो नेपालका विशिष्ट श्रेणीका गायक लम्सालले गाएका चर्चित गीतमा जापान टोकियो गीत लोक दोहोरी गीतमा सर्वाधिक लोकप्रिय बन्न पुगेको थियो । उनको कागती गेडी खुर्सानीको ढेडी, आमा तिम्रो दूधको धारा, पारी प¥यो भीर, निलो पछ्यौरी, शिरमा रिबन, भीरको टुनी हो, मस्र्याङदीको पुल, राइनासकोटको भीर, गैरी खेतमा मूल, आऊ है मेलैमा, आमा छाती चिरिन्छ हुन् । यस्तै, पोखराको माटेपानी, पानी पर्दा उसैलाई, मस्र्यादीको पुल, ज्याग्दी खोलाकिनारै, मुसलधारे पानी प¥या गीत चर्चित छन् ।
दिवंगत गायक लम्सालकी श्रीमती, तीन छोरा तथा एक छोरी छन् । जसमध्ये हास्य अभिनेता सागर लम्साल ‘बले’ पनि दिवंगत गायक राजेन्द्रका छोरा हुन् ।

गायक प्रमोद पाण्डे
‘जिन्दगीले कहाँ ल्याइ र्पुयायो’ लगायत लोकप्रिय गीतका गायक प्रमोद पाण्डेलाई पनि हामीले २०७९ सालमा गुमायौं । पाण्डेको ५९ वर्षको उमेरमा असोज २० मा निधन भएको हो । उनी करिब डेढ वर्षदेखि मस्तिष्क क्यान्सरको उपचार गराउँदै आएका थिए ।
२०३९ सालदेखि रेडियो नेपालमा गाउन सुरु गरेका पाण्डेले थुप्रै आधुनिक, भजन र लोकगीत गाएका छन् ।
२०४२ सालमा रेडियो नेपालमा रेकर्ड भएको उनले गाएको ‘जिन्दगीले कहाँ ल्याइपुर्यायो’ बोलको गीत चर्चित थियो । कुन्ति मोक्तानसँग गाएको ‘आँखामै राखेर’ बोलको गीत र उनले प्रेम खड्कासँग गाएको ‘डालीमा डाली नाचेर हिंड्ने’ बोलको लोक गीत पनि चर्चित थियो ।
उनले मधुमास बोलको एल्बम पनि निकालेका थिए । उक्त एल्बममा समावेश अन्जु पन्तसँग गाएको ‘त्यो मनमा फूलेको पिरतीको फूल कसको हो रु’ बोलको गीत स्रोताहरुले धेरै रुचाएको गीतमध्येमा पर्दछ ।

नेपालको पहिलो रक गायक माइक (मुकुन्द) खड्का
नेपालको पहिलो रक गायक माइक (मुकुन्द) खड्काको २०७९ फागुन ११ गते निधन भयो । ६९ वर्षको उमेरमा उनले भौतिक संसारबाट टाढा भएका हुन् ।
उनी नेपाली, अङ्ग्रेजी, हिन्दी गीत सङ्गीतका ज्ञाता थिए । खड्काले शास्त्रीय गायक रङ्गराव कादम्बरीबाट सङ्गीत सिकेका थिए । गायक ओमविक्रम विष्ट, अरुण थापा, दिव्य खालिङसित उनले साङ्गीतिक सहकार्य गरेका थिए ।
सन् १९५५ जनवरी १४ तारिखमा जावलाखेलमा जन्मिएका खड्का क्लासिक एफएमको निर्देशकसमेत थिए । खड्काकी श्रीमती र एक छोरा छन् ।

लोकदोहोरी गायक भीम पौडेल
लोकदोहोरी गायक भीम पौडेलको माघ १२ गते निधन भएको हो । उनको निधनले समग्र लोकदोहोरी क्षेत्रकै लागि अपूरणीय क्षति पू¥यायो । स्याङजा, खुदी घर भएका उनी लामो समयदेखि लोकदोहोरी गायनमा सक्रिय थिए । उनी केही समयदेखि बिरामी रहेको लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजी बताउँछन् । उनको घरमै निधन भएको हो । लामो समयदेखि उनी लोकदोहोरी गायनमा सक्रिय थिए । पछिल्लो समय उनी लाइभ दोहोरीमा लोकप्रिय थिए । भीम शालीन स्वभावको प्रतिभावान गायकका रुपमा परिचित थिए ।

वरिष्ठ संगीतकार शुभ बहादुर सुनाम
वरिष्ठ संगीतकार शुभ बहादुर सुनामको निधनसँगै सांगीतिक क्षेत्रले ठुलो क्षती बेहोर्नु प¥यो । असोज ३ काठमाडौंको क्षेत्रपाटीमा जन्मिएका उनको ७४ वर्षको उमेरमा निधन भएको हो । उनी लामो समयदेखि मिर्गौलाको समस्याबाट पीडित थिए ।
५५ वर्षदेखि सुनाम नेपाली संगीतमा सक्रिय थिए । स्याक्सोफोनमा उनको विशेष दख्खल थियो । उनले अघिल्लो पुस्ताका नारायणगोपाल, तारादेवी, प्रेमध्वाज प्रधानदेखि अहिलेका नयाँ पुस्ताका गायक गायिकासँग काम गरेका थिए । सुनामले नेपाली सेनामा पनि लामो समय काम गरेका थिए ।
उनी नेपाली सेनामा सहायक रथीसम्म पुगेर जनताको सेवा गरेका थिए । उनी सफल संगीतकार, रचनाकार र एरेन्जर पनि हुन्् । उनको संगीतमा मीरा राणाले गाएको गीत ‘फूलै फूलको मौसम तिमीलाई’ र दीप श्रेष्ठले लाएको ‘हुँ यात्री एउटा’ गीत सदावहार मानिन्छन् । नारायणगोपालको स्वर रहेको ‘तिमीले भनेका सारा देव छोएर’ उनको कालजयी संगीत हो ।

गायक आशिष ताम्राकार
गायक आशिष ताम्राकारको निधन फागुन १९ गते भएको हो । कलेजो, मिर्गौला लगायतको समस्यबाट पीडित गायक ताम्राकारको शिक्षण अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान निधन भएको हो । दुई तीन हप्तादेखि बिरामी बनेका ताम्राकारलाई केही समय अल्कामा उपचार गरेर टिचिङ अस्पताल लगिएको थियो । २०३५ साल जेठ ७ गते जन्मिएका गायक ताम्राकारका आखिर, प्रेमपत्र लगायतका एल्बम प्रकाशित छन् । उनका ‘प्रेमपत्र लेख्दै पातपातमा, मलाई पनि सँगै लैजाउ, एक्लै रुनु कति रुनु, बिहानीको घाम हौ कि’ लगायतका दर्जनौं गीत चर्चित छन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल घर भएका ताम्राकार काठ्माठौं सिनामंगलमा परिवार सहित बस्दै आएका थिए । उनका श्रीमती र दुई छोरी छन् ।

गायिका स्मिता घिमिरे
चर्चित गायिका स्मिता घिमिरेको साउन ३० गते निधन भयो । घिमिरे पछिल्लो तीन वर्षदेखि बोनम्यारो क्यान्सरबाट ग्रस्त थिइन् । सोमबार उपचारकै क्रममा उनको निधन भएको हो ।
‘ए भन्छन्’, ‘आँखाको नानी हौ’, ‘भाग्य भन्नु’ जस्ता गीत गाएकी स्मिताले केही वर्षअघि ‘स्मि’ नामक एल्मब निकालेकी थिइन ।
विराटनगरमा जन्मिएर बाल्यकालबाटै गायन क्षेत्रमा लागेकी उनले ‘हराएको मुस्कान’ नामक उपन्यास पनि लेखेकी थिइन् ।
स्मिता कांग्रेस नेता मातृका प्रसाद कोइरालाकी छोरी सविता अर्यालकी छोरीसमेत हन् ।

कलाकार सुशीला ग्लान तामाङ
तामाङ गीत, संगीत क्षेत्रको अभिनय विधामा सक्रिय कलाकार सुशीला ग्लान तामाङको निधन भएको छ । काठमाडौं जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा उपचारको क्रममा शुक्रबार बिहान ५ बजे उनको निधन भएको नेपाल तामाङ कलाकार संघका अध्यक्ष विश्व दोङले बताए ।
अध्यक्ष दोङका अनुसार जन्डिस भएर स्वास्थ्यस्थिति जटिल भएपछि तामाङलाई दुई दिनअघि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।
काठमाडौं शंखरापुर नगरपालिका १ मा २०५२ सालमा जन्मिएकी तामाङको अभिनय रहेको ‘दुप्चेश्वर मेला’, ‘टुङ्नाको धुन’, ‘ल्होछार मेला’, ‘डम्फूमा सेलो’ लगायतका गीत लोकप्रिय छन् । अभिनयमार्फत तामाङ समुदायको मौलिक गीत, संगीतको संरक्षण र संवद्र्धनमा निरन्तर लागेकी थिइन् ।

गायिका सुस्मिता राई
उदयीमान गायिका सुस्मिता राईको असोज १२ गते निधन भएको छ । आज विहान राजधानीको पाटन अस्पतालको आकस्मिक कक्षमा उपचारको क्रममा उनको निधन भएको हो । डेङ्गीको संक्रमणपछि उनलाई उपचारार्थ अस्पताल भर्ना गरिएको थियो ।
डेङ्गीसँगै किड्नी,कलेजो र फोक्सोमा संक्रमण देखिएको चिकित्सकले जानकारी दिएका छन् । सुस्मिताले निधनको केही घण्टा अघि एउटा लाइभ भिडियो पोस्ट गर्दै आफ्ना लागि प्रार्थना गरिदिन आग्रह गरेकी थिइन् । २४ वर्षकी सुस्मिताको ९ महिनाको छोरा छन् । उनको जन्मघर खोटाङमै अन्तिम संस्कार गर्ने तयारी छ ।
सुमधुर स्वरकी धनी केही वर्ष अघि मात्रै विवाह गरेकी थिइन् । ६ वर्षमै उनले दृष्टि गुमाएकी थिइन् । एसएलसी सकेपछि खोटाङबाट काठमाडौं आएकी सुस्मिताले राजेशपायल राई लगायत धेरै चर्चित कलाकारसँग काम गरेकी थिइन् ।

लोकदोहोरी गायिका निरा छन्त्याल
२०७९ सालको माघ १ गते सांगीतिक क्षेत्रका लागि कालो दिन भयो । यो दिन नेपाली लोकसङ्गीत क्षेत्रले एकजना प्रतिभावान कलाकार गुमायो । यती एयरको जहाज दुर्घटनामा परी लोकदोहोरी गायिका निरा छन्त्यालको २२ वर्षको कलिलो उमेरमा निधन भयो । काठमाडौंबाट पोखराका लागि उडेको नाइनएन एएनसि एटीआर १७ जहाज अवतरण गर्ने क्रममा सेती नदीको खोंचमा दुर्घटनाग्रस्त हुँदा गायिका छन्त्यालको निधन भएको हो । उनी माघे सङ्क्रान्ति पर्वका अवसरमा आयोजित साङ्गीतिक कार्यक्रममा भाग लिन काठमाडौँदेखि पोखराको यात्रामा थिइन् ।
विशेषगरी प्रत्यक्ष दोहोरीमा चर्चित गायिका छन्त्यालको ‘माइतलीको धुरी’, ‘साली कस्को भेनाको’, ‘बुकी’, ‘सारङ्गीनी’, ‘फल केसरी’, ‘सुर्तै मायाको’, ‘मुरली धुन’ लगायत दर्जनौँ गीतमा स्वर दिएकी थिइन् ।
बागलुङको बडिगाड गाउँपालिका–३ सिसाखानीमा जन्मिएकी छन्त्याल पछिल्लो समय लाइभ दोहोरीमा चर्चा कमाइरहेकी थिइन् ।

मोडल दीपसागर डीसी
चर्चित गीत ‘बेनीको बजार’मा अभिनय गरेका मोडल दीपसागर डीसीको भदौ २६ गते निधन भयो ।
लोकदोहोरी गीतका मोडल, निर्देशक, छायांकार तथा सम्पादक समेत रहेका उनको ४२ वर्षको उमेरमा निधन भएको हो ।उनी मिर्गौला तथा मधुमेहको रोगबाट पीडित थिए । स्याङ्जा घर भएका उनले ५० को दशकमा कोरस डान्सरबाट करिअर थालेका थिए ।

डीसीले राजु परियार, बीमाकुमारी दुराजस्ता चर्चित कलाकारका गीतमा समेत मोडलिङ गरेका छन् । ‘बेनीको बजार’ उनले अभिनय गरेको चर्चित गीत हो । उनले ‘पुरानो पुस्ता’ नामक फिचर फिल्म समेत निर्देशन गरेका थिए ।

गिटारिस्ट तथा संगीतकर्मी निशान्त आचार्य
युवापुस्ताका चर्चित गिटारिस्ट तथा संगीतकर्मी निशान्त आचार्यलाई पनि हामीले २०७९ मा गुमाउनु पर्यो । उनको माघ १ गते पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भएको हो ।

पोखरा घर भएका आचार्य पछिल्लो समय नेपालका गिटारिस्टका रुपमा चर्चित थिए । उनको लोकप्रियता युटयुब र टिकटकजस्ता इन्टरनेटका भिडियो प्लेटफर्ममा पनि उत्तिकै छ । उनको आफ्नै केसिक्स बिफोर नामक ब्याण्ड थियो भने उनले यी भिडियो प्लेटफर्मबाट गिटारसम्बन्धी ट्युटोरियल सिकाउँदै आएका थिए । उनको गिटार ट्युटोरियल सिकेर पछिल्लो समय मानिसहरु संगीततर्फ आकर्षित भइरहेका थिए ।
काठमाडौंबाट पोखरातर्फ उडेको यती एयरलाइन्सको उक्त विमानमा चालक दलका सदस्यसहित ७२ जना सवार सबैको निधन भएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु