‘रङ्गेली’मा जुनकिरी बनिन् मिरुना, पोस्टरमा यस्ती देखिइन्

म्यूजिक खबर
प्रकाशित: ८ मंसिर २०८०, शुक्रबार

काठमाडौँ। आगामी फागुन २५ गते महाशिवरात्रिको दिन विश्वव्यापी रिलिज हुने नेपाली चलचित्र ‘रङ्गेली’मा अभिनेत्री मिरुना मगर ‘जुनकिरी’ बनेकी छन् । ‘जुनकिरी’को रूपमा परिचय गराउँदै मगरको क्यारेक्टर झल्किने पोस्टर चलचित्र टिमले सार्वजनिक गरेको छ ।

यस चलचित्र निर्देशक अर्जुन सुवेदीले मिरुनाले अहिलेसम्म अभिनय गरेको भन्दा भिन्न चरित्र निर्वाह गरेको कारण दर्शकलाई थप चासो हुने विश्वास व्यक्त गरे । सुवेदीकै लेखन रहेको ‘रङ्गेली’मा मिरुनाको साथमा दयाहाङ राई, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी लगायतको प्रमुख भूमिका रहेको छ । यस चलचित्रका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन सिंहको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत रहेको छ ।

चलचित्रका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह-निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् । छायाकार सुशन प्रजापति हुन् ।

अस्ट्रेलिया र अमेरिकामा कलाकारसहित भिआइपी रेड कार्पेट प्रिमियर हुने यो चलचित्र नेपालसँगै नेपालीहरूको बसोबास रहेका अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया, हङकङ लगायतका विश्वका विभिन्न मुलुकहरूमा एकसाथ रिलिज हुनेछ ।

जापान, कोरिया र हङकङमा उज्ज्वल गुरागाईँ र यूएनए इन्टरटेन्मेन्ट, अमेरिकामा ‘एक्का बास्सा इन्टरटेन्मेन्ट’ र ‘लाइभ एट प्रिजेन्ट’ तथा अस्ट्रेलियामा ‘हट बिट्स ईभेन्टस्’ले ‘रङ्गेली’ रिलिज गर्दैछन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु