‘प्रसाद–२’ प्रदर्शन नगर्न उच्च अदालत पाटनको आदेश

म्यूजिक खबर
प्रकाशित: २२ चैत्र २०७९, बुधबार

काठमाडौं । चलचित्र प्रसाद–२ लाई प्रदर्शन नगर्न उच्च अदालत पाटनले रोक लगाएको छ । मंगलबार न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले अल्पकालीन आदेश जारी गर्दै प्रदर्शनमा रोक लगाएको प्रवक्ता मन्दिरा शाहीले जानकारी दिइन्।

फिल्मको रिलिज रोक्ने अन्तरिम आदेशसँगै चलचित्र विकास बोर्डलाई सेन्सर पास गरिएको विषयमा समेत कारण देखाउ आदेश जारी गरेको छ। पाण्डेको पक्षबाट अधिवक्ता सरोज अधिकारी, श्यामकुमार विश्वकर्मा र अरुण पौडेलले बहस गरेका थिए।

‘प्रसाद–२’ शुक्रबारबाट रिलिज हुने बताइएको थियो। तर आफूलाई निर्माता बनाउँछु भनेर ठगी गरेको भन्दै केशव पाण्डेले प्रसाद २ का निर्माता सुवास थापाविरूद्ध रिट हालेका हुन्। उनले पाटनमा सोमबार रिट दर्ता गराएका थिए।

थापाले निर्माता बनाउँछु भन्दै ६२ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोप छ। उनीविरूद्ध पाण्डेले जिल्ला प्रहरी परिसर काठमाडौंमा गत फागुन २९ गते जाहेरी दिएका थिए। तर निर्माता थापा फरार छन्।

केशव पाण्डेले ‘प्रसाद २’ सेन्सरसम्बन्धी कार्य रोकी पाऊँ भन्दै चलचित्र विकास बोर्डमा समेत उजुरी दिएका थिए।

पाण्डेलाई ठगी गरेको आरोप लागेका थापाले फिल्मको सुटिङ गरिएको ठाउँको होमस्टेमा समेत पैसा तिरेका छैनन्। होमस्टे र प्राविधिकसहित पैसा नभएको भन्दै थापाविरूद्ध ६ जनाले बोर्ड गुहारेका थिए।

सोमबार बोर्डले दुवै पक्षबीच सहमति गराउने भन्दै छलफलका लागि बोलाएको थियो। बोर्डमा पाण्डे उपस्थित हुँदा सुवास थापा आएनन्।

उनको पक्षमा वितरक गोपाल कायस्थ उपस्थित थिए। बोर्डले फिल्म चलाउने निर्णय गरेसँगै पाण्डेले असहमति जनाएका हुन्।
इजलासले चैत २६ गते दुबै पक्षलाई छलफल गर्न बोलाएको हो। त्यतिञ्जेल यो फिल्म प्रदर्शन नगर्न आदेश भएको प्रवक्ता शाहीले बताइन्।

बैंकिङ कसुरमा फरार रहेका थापाले सामाजिक सञ्जालमार्फत् फिल्म रिलिज भएपछि सबैको पैसा तिर्ने दाबी गरेका छन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु