• पछिल्लो समय बाँच्ने गीत भन्दा नाच्ने र भाँच्ने बढी

    म्यूजिक खवर
    प्रकाशित: १५ जेष्ठ २०७६, बुधबार

    सम्पादकीयः

    पछिल्लो समयको गीतसंगीतलाई हेर्दा मन बुझाउने ठाउँहरु खोज्नुपर्ने हुन्छ । अडियोको जमानामा व्यापार गरेकाहरुको कुरा फरक हो तर पछिल्लो डिजिटल बजारमा आइपुग्दा स्रष्टा सर्जकहरु पनि धेरै बुझ्ने र प्रतिस्पर्धा गर्ने भइसकेका छन् । तर बुझेकैहरुबाट गल्ती दोहोरिरहने प्रक्रिया हुनु हाम्रो उद्योगका लागि त्यति नौलो कुरा भएन ।

    सामाजिक सञ्जालको प्रयोगसँगै नेपाली गीतसंगीतले पनि आफ्नो बजार त्यहीभित्र खोजिरहेको छ । लगानीका हिसाबले यतिखेर एउटा अडियो र भिडियो निर्माण गर्दा थोरैमा पनि दुई लाखबाट सुरु हुन्छ र ८ देखि १० लाखसम्म म्यूजिक भिडियोमा लगानी गर्नेहरु पनि भेटिन थालेका छन् । आखिर गीतसंगीतमा व्यापार छैन, प्रतिफल छैन भन्नेहरुले कहाँबाट ल्याएर त्यति ठूलो रकम खर्च गरिरहेका छन् यो पनि सोचनीय विषय बनिरहेको छ ।

    पछिल्लो समयलाई राम्रोसँग अध्ययन गर्ने हो भने एउटा गीत बजारमा हल्ली खल्ली भयो भने त्यसकै पछि लाग्नेहरुको जमात धेरै देखिन्छ । एउटा गीतले यूट्यूबको बजारमा ट्रेन्डिङ वा करोड क्लबको यात्रा ग¥यो भनिरहँदा भोलिको अवस्था कस्तो हुन्छ भनेरसम्म सोचिएको छैन । सबै त्यसकै पछि लागेर उसको जस्तै संगीत संयोजन बनाउने, शब्द दुईअर्थी लाग्ने बनाउने वा जबरजस्त अन्त्यानुप्रयास मिलाउने काम गर्ने प्रवृत्ति हावी भएको देखिन्छ ।

    गीत सुन्दा लाग्छ चर्चा कमाउला जस्तो । यूट्यूबमा भिडियो अपलोड भएपछि बुष्ट गर्ने कामले ट्रेन्डिङ र मिलियन भ्यूजलाई अरुका अगाडि देखाउने काम गरिरहेको हुन्छ । चलेको गीतको नक्कलसँगै अघि बढेको हुन्छ । तर शब्द केलाउन थाल्यो भने अर्थ न बर्थको हुन्छ । व्याकरण, साहित्य, शब्द बिन्यास भन्ने कुरा कता हो कता लोक दोहोरी गीतहरुलाई भाँचेर नयाँ बनाएर चर्चा बटुलिरहेका छन् । स्टेजलाई लक्षित गर्दै लाखौं खर्च गर्नेहरुले गीतलाई नकटो बनाइरहेका छन् । कुनै पनि शब्दको साहित्यिक भाव हुन्छ तर यहाँ दुई लाइन मिलाउने काममा जथाभावी शब्दलाई मिलाउने र संगीत भन्दा एरेन्जमेन्टको पाटोलाई बढी लक्षित गर्ने प्रचलन बढ्दै आएको छ ।

    एउटा गीत ‘सालको पात’ चल्यो । कसरी चल्यो, के कारणले चल्यो, कुन ठाउँमा के गर्नुपर्ने रहेछ भन्नेतिर कोही पनि लागेको छैन तर अबका गीतहरुले सधैं माग गरिरहेका छन् सालको पात जस्तै गीत बन्नुपर्छ । सबै संगीतकर्मीहरु त्यस्तै गीतको पछि दौडिन थाले जसका कारण गीतले फरकपनको नाममा कम्पन मात्र ल्याइरहेको देखिन्छ । सबै गीतका आफ्नोपन हुन्छ तर यहाँ अर्काकोपन धेरै भित्र्याएर आफ्नो मौलिकतालाई लत्याइरहेका छन् । स्टेजमा नाच्ने गीत भयो भने मेला महोत्सव, देश विदेश डुल्न पाइन्छ भन्ने स्वभावकै कारण नाच्ने गीत बन्यो जसका लागि शब्द मिलाउने भन्दा भाँच्ने काममा बढी संगीतकर्मीहरु लागेका छन् । यसले परिणाम गलत बनाइरहेको छ । भोलिका दिनमा यो गीत भनेर सम्झने ठाउँसमेत नराखिकन गीत निर्माण गरिएको छ । हो नाच्ने गीत पनि चाहिन्छ तर ती गीतलाई पनि अमर बनाउन सक्नु, सदाबहार बनाउन सक्नु सर्जकको दायित्व हो । संगीतमा संस्कारको विकास हुन सकेन भने कहिल्यै पनि उपलब्धी हासिल हुन सक्दैन । त्यसैले पछिल्लो समयको गीतसंगीत हेर्दा बाँच्ने गीत भन्दा नाच्ने र भाँच्ने गीतहरुको बाहुल्यता बढेको छ । सबै संगीतकर्मीले आफ्नोपन दिने हो अर्काको संगीतलाई भाँचेर नयाँ हुन्छ भन्ने सोचबाट बाहिरिनु जरुरी छ । सबैलाई चेतना भया ।

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु