
काठमाडौँ । नायक पल शाह र मोडल नारायणी खत्रीको जोडी पछिल्लो समय गज्जबसँग जमेको छ । देशका विभिन्न ठाउँमा भएका मेला महोत्सवमा यी दुईलाई एकसाथ देखिन थालेको छ । त्यस्तै म्यूजिक भिडियोमा समेत पल र नारायणीको सहकार्यले निरन्तरता पाएको छ । सहकार्य सांगीतिक क्षेत्रमा निकै फापेको पनि छ । २ महिना अघि यी दुईको सहकार्यमा ‘करिमैले पो के गर्छ काईंला सार्वजनिक भएको थियो । छोटो समयमा राम्रो भ्यूज र चर्चा कमाएको यो गीतले अहिले ५० लाख भ्युज क्रस गरिसकेको छ । गीतलाई टिकटकका प्रयोगकर्ताले समेत अत्याधिक रुचाइदिएका थिए ।
सहकार्यकै क्रममा नायक तथा मोडल पल शाह र मोडल नारायणी खत्रीको पछिल्लो सांगीतिक कोशेली हो – ‘मायालुकै नाउँमा’ । बिक्रम चौहानको निर्देशन तथा कोरियोग्राफीमा बनेको भिडियोमा यो जोडीको केमेष्ट्री पनि मिलेको देखिन्छ । करण चैसिरले छायांंकन गरेको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका हुन् । भिडियोमा जुरी ठाकुरले पनि अभिनय गरेका छन् ।
बिन्दु परियार युट्युब च्यानलमार्फत सार्वजनिक भएको गीतमा रामचन्द्र चन्द र बिन्दु परियारको स्वर सुन्न सकिन्छ । गीतमा नेत्र अर्यालको शब्द तथा नन्दु परियारको संगीत रहेको छ । गीतको भिडियोमा समेत गायक–गायिकालाई समेत देखाइएको छ । दुई दिन अगाडि सार्वजनिक भएको यो गीतलाई दर्शक श्रोताले रुचाईदिएका छन् । यो समाचार तयार पारिरहँदा गीतले २ लाख ७२ हजार बढी भ्युज पाएको छ । कमेन्टमा गीतको सम्पुर्ण पक्षको तारिफ गरिएको छ ।