वरिष्ठ गीतकार पवन चामलिङलाई गीतकार संघको अभिनन्दन, जनताको सम्मान नहुने देश समृद्ध हुँदैनः चामलिङ

म्यूजिक खबर
प्रकाशित: २ माघ २०७६, बिहीबार २३:४०
Pawan Chamling

काठमाडौं । सिक्किमका पूर्व मुख्यमन्त्री एवं वरिष्ठ गीतकार पवन चामलिङ ‘किरण’लाई गीतकार सङ्घ नेपालले अभिनन्दन गरेको छ । माघ २ गते बिहीबार भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको सभाहलमा कार्यक्रमको आयोजना गरी सङ्घले कवि तथा गीतकार चामलिङलाई अभिनन्दन गरेको हो ।
सङ्घका अध्यक्ष चूडामणि देवकोटाको अध्यक्षता एवम् अग्रज गीतकार किरण खरेलको प्रमुख आतिथ्यमा सम्पन्न सो अभिनन्दन समारोहमा अग्रज गीतकारहरु यादव खरेल, राजेन्द्र थापा, एस. पी. कोईराला, अग्रज गायक प्रेमध्वज प्रधान, कुमार बस्नेत, अग्रज सङ्गीतकार दीपक जंगम, राजु सिंह लगायत वरिष्ठ गीतकार, सङ्गीतकार, गायक गायिकाको उपस्थितिमा चामलिङलाई अभिनन्दन गरिएकोे थियो ।

समारोहमा पवन चामलिङले यसअघि राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा धेरै पटक आफू सम्मानित भईसकेको स्मरण गर्दै भने– ‘तपाईंहरू जस्ता सर्जकहरुमाझ सम्मानित हुन र यसरी बोल्न पाउनुलाई यो जुनीमा मैले सबैभन्दा ठूलो पुरस्कार पाएको अनुभव गरेको छु । मलाई आज न्यानो महसुस भएको छ र गर्वको अनुभूति गरिरहेको छु ।’
चामलिङले भने– ‘म राष्ट्रियताले भारतीय भए पनि भाषाले नेपाली हुँ, नेपाली भूमिमा आफूले आत्मीय स्पर्श पाएँ, यो सम्मानले जीवनकै सबैभन्दा ठूलो सम्मान प्राप्त गरेको महसुस भएको छ ।’ जुन देशमा कला संस्कृतिको सम्मान हुन्छ त्यो देश पक्कै पनि समृद्ध मुलुक बन्न सफल हुन्छ, उनले भने ।
सिक्किममा नेपाली भाषाको संरक्षणमा अथक प्रयास गरिएको भन्दै नेता चाम्लिङले अब सिक्किम विश्वका लागि नमूना बनेको बताए । सिक्किम विश्वकै पहिलो जैविक राज्य भएको जानकारी दिँदै नेता चाम्लिङले जनताको प्रयासले सिक्किमा लोककल्याणकारी राज्य सफल भएको दाबी गरे । प्रकृति, धर्मसंस्कृति र लोककथनलाई समेत सदुपयोग गरी जनशक्तिकै भरमा सिक्किमले पर्यटनका साथै सर्वांगीण विकास गरिएको भन्दै नेता चाम्लिङले जनकल्याणको भावना राखेर राजनीति गर्न सुझाव दिएका छन् । चाम्लिङले जनताको सम्मान नहुने देशमा कहिल्यै उन्नति नहुने पनि बताए ।
अभिनन्दन समारोहलाई सम्वोधन गर्दै सङ्घका अध्यक्ष चूडामणि देवकोटाले नेपाली भाषा र साहित्यलाई औधी माया गर्ने कुशल कवि एवम् गीतकार तथा लोकप्रिय राजनीतिज्ञ पवन चाम्लिङलाई अभिनन्दन गर्न पाउँदा गौरवान्वित भएको बताए ।

यसैगरी अग्रज गीतकार यादव खरेलले चामलिङलाई अभिनन्दन गर्दा गीतकार सङ्घ आफैं पुरस्कृत भएको बताए । पूर्व अर्थमन्त्री तथा सङ्घका सल्लाहकार एवम् वरिष्ठ गीतकार एसपी कोईरालाले भारतीय ईतिहासमै सबैभन्दा लामो समयसम्म मुख्यमन्त्री भई सबैको मन जित्न सफल विकाशप्रेमी र लोकप्रिय नेता भन्दै अभिनन्दित गीतकार चाम्लिङको प्रशंसा गर्नलायक कवि तथा गीतकार भएको बताए । कार्यक्रमको सहजीकरण सङ्घकी सचिव सुशीला पौडेलले गरेकी थिइन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु