“भिडियोको भाउ चिनी, तेल, तरकारीको भाउ जस्तो होइन”

म्यूजिक खबर
प्रकाशित: १८ माघ २०७४, बिहीबार

सुमन पण्डित÷म्यूजिकखबर

प्रकाश भट्ट, गोरखाबाट काठमाडौंसम्मको यात्रामा धेरै उतार चढाव भोगेका छन् । उनले काठमाडौंको यात्रा तय गर्नु अघि लाहुरे बन्ने सपना बोकेका थिए । पढ्न भनेर काठमाडौं छिरेका उनले आर्मीमा सेकेन्ड लप्टनमा जागिर खाने सोच बनाएका थिए । हाइट र वेट नपुगेकै कारण उनी लाहुरे हुनबाट बञ्चित भए तर काठमाडौं प्रवेश गरेपछि विभिन्न आरोह अवरोहमा समाहित गर्दै अघि बढेका छन् । यो सपनाको शहरमा छिर्दा उनीभित्र पनि धेरै सपना थिए तर जिन्दगीको भोगाईका अनुभवले आज उनलाई ती दिनले तर्साउँछ, अतितको यादमा उनका अहिलेका उपलब्धीहरुले मार्गदर्शन गरिरहेको जस्तो लाग्छ ।
काठमाडौं छिरेपछि उनले नृत्य सिक्न थाले । त्यसपछि साइडमा नृत्य गर्दागर्दै उनी आज सफल निर्देशकको स्थानमा छन् । मोटरसाइकल बेचेर अरुलाई खाजा खुवाउँदै कलाकारिताको यात्रालाई तय गरेका थिए निर्देशक भट्टले । निरन्तर सक्रिय रुपमा कलाकारिताकै क्षेत्रमा क्रियाशील रहेका उनले जुन दिनदेखि यो पेशामा हात हाले पछाडि फर्केर अहिलेसम्म हेरेका छैनन् । किनकी व्यस्त दैनिकीभित्र उनले विगतलाई पल्टाउने फुर्सद पाएका पनि छैनन् ।


निर्देशक भट्टले आजभोलि महिनामा २०–२५ दिन सुटिङमै दिन बिताउने गर्छन् । पछिल्लो समय दिनमै दुई चारवटा भिडियो गर्नेहरुको बीचमा उनी दिनमा एउटा मुस्किलले सकिरहेका छन् । किनकी गुणस्तरमा उनी विश्वास गर्छन् र कलाकारको गीत अनुसारको क्वालिटी दिएर भिडियोलाई उत्कृष्ट बनाउने गर्छन । भिडियोमा संख्यात्मकता भन्दा गुणात्मकता खोज्नुपर्छ त्यसले पक्कै पनि निर्देशकीय उचाई बढाउँछ, उनले भने । उनीसँग सस्तोमा दिनमै दुई चारवटा गरौं भन्न आउने आँट कलाकारसँग नभएकै कारण अहिलेसम्म त्यो अवसर नजुरेको बताउँछन् । तर तीजको समयमा भने दिनमा दुई तीन वटा भिडियो गर्ने गर्छन् उनी । छोटो समयका कारण र लोकेशन टाढा जानु नपर्ने कारण अलि सहज हुने गरेको बताउँछन् । तर रात दिन नभनी त्यसरी काम गर्नु भनेको सिर्जना मार्नु भन्दा अरु विकल्प नभएको बताउँछन् उनी ।
भिडियो हेरेर धेरै दर्शकहरु रमाउने गर्छन् तर भिडियो निर्माण गर्दाको समयका दुःखहरु कसले बुझेको हुन्छन र ? निर्देशक भट्टले भने दुःखभित्र मनोरञ्जन गर्ने कामभित्र रुन पनि त भएन । सधैं रमाएरै भिडियोको काम सकिन्छ । एउटा भिडियो निर्माण गर्दा कति लिनुहुन्छ भन्ने प्रश्नमा उनले भने – भिडियोको भाउ चिनी, तेल, तरकारीको भाउ जस्तो होइन, कलाकार, ब्यानर, इक्वीभमेन्ट, लोकेशन हेरेर बल्ल कति खर्च लाग्छ भन्ने तय हुन्छ ।


एक समय थियो उनको अफिस नजिकै धोबिखोलामा बाढी आयो । बाढीले उनको अफिस पुरै डुबानमा प¥यो त्यसपछि मनमा तनाव बोकेर हिंडेका भट्टले मलेसियामा पसल गर्ने सोच बनाए । भएको लगानी मलेसियातिर लगाउन थाले र यता अफिसको जिम्मेवारीमा कसैलाई राखेर हिंडे । यता अफिस डुबेका कारण तनाव छ भने मलेसियामा शून्यबाट व्यवसाय गर्नुपर्दा अझै अप्ठ्यारो स्थिति हुँदै गयो । त्यही मौकामा उनले अफिसको जिम्मेवारी दिएकाहरुले उनीमाथि घात गरे त्यसपछि उनी पुनः नेपालमै फर्किए र अफिसलाई व्यवस्थापन गरेर निर्देशनको यात्रामा नै फर्किए । एकातिर बाढीले डुबाउनु, अर्कोतिर मलेसियामा लगानी फस्नु त्यसमा पनि टीमभित्र जिम्मेवारी दिएकाले घात गरेर व्यवसाय लैजानुले नै उनीमाथि ठूलो चुनौति आइपुग्यो । त्यसलाई सजिलै सामना गरेर निर्देशक भट्टले काम अगाडि बढाए । जसको फलस्वरुप आजसम्म उनको नामले उचाइ पाएको छ । उनी दिनदिनै व्यस्त छन्, निर्देशनकै यात्राबाट घरगाडीको उपभोग गर्न पाइरहेकै छन् । उनी भन्छन् काम गर्न नछाड्नु राम्रो काम गर्नेको पछाडि सबै आउँछन्, विश्वास र गुणस्तर दिलाउन सक्नुपर्छ ।
निर्देशक भट्टले चर्चित अर्का निर्देशक शंकर बिसीदेखि अभिनेता, अभिनेत्री, मोडलहरु धेरैलाई नचाइसकेका छन् । २०५८ सालतिरबाट कलाकारिताको क्षेत्रमा प्रवेश गरेका प्रकाश भट्ट २०६० र ६१ सम्म आइपुग्दा निर्देशक बनिसकेका थिए । त्यसपछि उनको निर्देशकीय यात्रा क्रमश अघि बढिरह्यो ।
पछिल्लो समयमा लोकदोहोरीको म्यूजिक भिडियोमा आफूलाई व्यस्त बनाइरहेका निर्देशक प्रकाश भट्टले करिब ३५ सयभन्दा माथि म्यूजिक भिडियोहरुको निर्देशन गरिसकेका छन् भने तीन दर्जन भन्दा बढी म्यूजिक भिडियोहरुमा आफैंले अभिनय समेत गरेका छन् । आधा दर्जन वृत्तचित्रको निर्माण एवं निर्देशन पनि गरेका निर्देशक प्रकाश भट्टले मौलिक कला संस्कृतिको जगेर्नाका खातिर धेरै कामहरु गरिसकेका छन् । यसो उनले लोककला संस्कृतिको बारेमा रिसर्चसमेत गरेका छन् । कला संस्कृतिको बारेमा शिक्षा प्रदान गर्न होस् या रिसर्चबाट आफूलाई अझ उच्च कोटीमा राख्न होस् कुनैबेला नेपालका प्राय जिल्लामा उनको उपस्थिति हुने गथ्र्यो । २०६३ सालमा साइ भिजन प्रा.लि. कम्पनी स्थापना गरी म्यूजिक भिडियो, डकुमेन्ट्री, चलचित्र, टेलिभिजन कार्यक्रममा सक्रिय हुन थालेका प्रकाश भट्टले नेपाल टेलिभिजनबाट प्रसारण भएको बिसौनी कार्यक्रमको निर्माण तथा निर्देशन एवं प्रस्तोता भएर कार्यक्रमलाई अगाडि बढाए भने गीत गुन्जन कार्यक्रमको निर्माता निर्देशक भएर कार्यक्रमलाई उचाइमा पु¥याए । कोरस डान्सर हुादा जति सजिलो हुन्थ्यो त्योभन्दा धेरै गाह्रो निर्देशक बन्दा भएको उनको अनुभव छ । जति जति कलाकारितामा आफूलाई अगाडि बढाउँदै लग्यो उति उति जिम्मेवारी थपिएको महसुस हुन्छ, भट्टले भने । केही चलचित्रमा कोरियोग्राफर बनिसकेका छन् भने निर्देशनको काममा उनको दक्षतापूर्ण कलाशैली प्रस्तुत भइरहेको छ ।


ड्राइभर दाइ मन प¥यो मलाई, गर्नु ग¥यौं बलराम भैंसी पालेर, धर्ती कुनको आकाश जुनकै हो, क्याम्पस पढ्न आउनी,मलाई अमेरिका यही, फूल फुलेर पहेंलै भयो जस्ता ३५ सयभन्दा माथि चर्चित गीतहरुको भिडियो निर्देशन गरिसकेका प्रकाश भट्टले पूजा लोकदोहोरी अवार्ड २०६८ मा ॐ नमः शिवायः गीतको म्यूजिक भिडियोबाट उत्कृष्ट म्यूजिक भिडियो निर्देशकको अवार्ड चुम्न सफल भए । त्यस्तै म्यूजिक खबर म्यूजिक अवार्ड दुईपटकसम्म उत्कृष्ट म्यूजिक भिडियो निर्देशकको अवार्ड जित्न सफल भएका थिए भने तीज म्यूजिक अवार्ड, सुन्दरादेवी म्यूजिक अवार्ड, विन्ध्वासिनी म्यूजिक अवार्डलगायत थुप्रै सम्मान एवं पुरस्कारहरु पाइसकेका निर्देशक भट्टले कौरा, सालैजो, सोरठी, पैंसेरी, पश्चिमेली गर्रा, माझीको खााडो नाच, थारुहरुको सख्याा पैंयाा, झुम्रा, डण्डिया आदि लोक संस्कृतिको स्थलगत अध्ययनका साथै नृत्यमा समेत ठूलो अनुभव बटुलेका छन् । मुलुकभित्र हुने विभिन्न मेला, महोत्सव एवं स्टेज कार्यक्रमहरुमा आफ्नो निर्देशकीय क्षमतासहित नृत्यहरु प्रस्तुत गर्दै आएका भट्टले करिब ५० जिल्लामा आफ्नो कलाकारितालाई प्रदर्शन गरेका छन् ।


आजभोली प्रकाश भट्टको कलाशैलीलाई पछ्याउनेहरु धेरै छन् । हुन त उनले पनि धेरै कलाकारहरु जन्माए, हुर्काए र बढाए, जो आफूसँगै निर्देशक बनेर हिंड्न सक्ने पनि बनाएका छन् । उनले प्रशिक्षण दिएका थुप्रै निर्देशकहरु अहिले चलचित्रमा व्यस्त कोरियोग्राफरका रुपमा परिचित छन् । त्यो देखेर नै उनी आत्मसन्तुष्टि लिइरहेका छन् । कुनै पनि सीप भनेको आफूले जति बाँड्न सक्यो त्यति नै फाइदा हुने उनको भनाइ छ । निर्देशनमै निरन्तर आफूलाई उभ्याइराख्ने उनको लक्ष्य रहेको छ । अझ राम्रा राम्रा सिर्जना गीतसंगीतको क्षेत्रमा दिइरहन चाहन्छु, भट्टले भने – तर म यस क्षेत्रदेखि टाढा हुन भने चाहन्नँ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु