चर्चा र लोकप्रियताको पर्याय : प्रकाश र उनका सिर्जना

म्यूजिक खबर
प्रकाशित: २७ श्रावण २०७८, बुधबार

काठमाडौं । कलाकारहरु चर्चित हुनु र लोकप्रिय हुनु फरक पाटो हो । चर्चामा आएका हरेक कलाकार तथा सिर्जना लोकप्रिय हुन्छन् नै भन्ने छैन । तर नेपाली सांगीतिक क्षेत्रमा यस्तो नाम छ जो लोकप्रिय छन् र उनका हरेक गीत चर्चामा रहेका छन् – जसको नाम हो प्रकाश सपुत । दोहोरी ब्याटल मार्फत नेपाली गायनमा नौलो स्वाद प्रयोग गर्दै दर्शकको मनमा बसेका थिए प्रकाश । उनका एकपछि अर्को गर्दै आएका बोलमाया, गलबन्दी, बदला बरिलै, फुटेका चुरा र मेरो पनि होइन र यो देश पनि उतिकै चर्चामा आए, लोकप्रिय भए । नेपाली गीत संगीतमा छुट्टै पहिचान बनाएर उदाएका उनी अहिले चम्किरहेका छन् ।

फरक फरक जनराका गीत ल्याउन मन पराउने प्रकाशले एक हप्ता अगाडि ‘कुरा बुझ्न पर्च’ गीत सार्वजनिक गरेका छन् । प्राय उनका गीतहरुमा गम्भीर विषय वस्तु र मुद्धा उठान गरिएको हुन्थ्यो यो गीतमा भने उनले रमाइलो ढंगले गीत प्रस्तुत गरेका छन् । यो गीत पनि चर्चा र लोकप्रिय बन्न सफल भएको छ ।

तीजको अवसरमा महिलाहरुको भावनालाई समेट्दै गम्भीर विषयलाई पनि रमाइलो तरिकाले गीतमार्फत प्रस्तुत गर्न खोजेका छन् प्रकाशले । सकारात्मक कमेन्ट पाएको गीतलाई दर्शकले अत्याधिक रुचाएका छन् । जुन गीत अहिले युट्युवको ‘ट्रेन्डिङ वान’ मा छ। गीतले एकै दिनमा १ मिलिएन भ्युजको आँकडा पार गर्न सफल भयो । अहिलेसम्म नं. वानको स्थान छाडेको छैन । यो समाचार तयार पारिरहेको समयमा ४ मिलियन बढीपटक हेरिएको छ । १ लाख ६४ हजार लाईक, ४ हजार ८ सय डिसलाइक र ७ हजार ८ सय बढी कमेन्ट प्राप्त भएको छ ।

प्रकाश सपूतको शब्द, संगीत रहेको ‘कुरा बुझ्न पर्च’मा शान्तीश्री परियार र समीक्षा अधिकारीले स्वर दिएका छन् । गीतको भिडियोलाई प्रकाश स्वयंमले निर्देशन गरेका हुन् । भिडियोमा नायिकाद्धय स्वस्तिमा खड्का र आँचल शर्माले अभिनय गरेका छन् । साथमा लक्ष्मी गिरी, कालु राना, कमला रेग्मी, अनिता बस्नेत लगायतको अभिनय भिडियोमा हेर्न सकिन्छ । नवराज उप्रेतीको छायाँकन रहेको भिडियोलाई प्रविन भट्टले सम्पादन गरेका हुन् ।

अहिलेका युवतीहरुले आफ्नो जीवन र ‘करियर’को बारेमा के सोच्छन् भन्ने कुरालाई गीतमा विश्लेषण गरिएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु