इनारमाथी नाचेको भन्दै प्रकाश विवादमा, भिडियो भाइरल भएपछि गमलाले घेरीयो इनारलाई

म्यूजिक खबर
प्रकाशित: १९ मंसिर २०८०, मंगलवार

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा यस्तो एउटा नाम छ जो लोकप्रिय, चर्चित सँगसँगै विवादित पनि हुन्छ – जुन नाम हो प्रकाश सपुत । उनका हरेक गीत चर्चामा आउँछन् र प्राय सबै विवादमा पनि मुछिन्छन् । दोहोरी ब्याटल मार्फत नेपाली गायनमा नौलो स्वाद प्रयोग गर्दै दर्शकको मनमा निरन्तर डेरा जमाएका प्रकाश अहिले फेरि अर्को विवादमा तानिएका छन् । एक म्युजिक भिडियो छायाङ्कनको क्रममा इनारमाथि नाचेको दृश्यले उनी अहिले फेरि विवादमा परेका हुन् ।

उनले मोडल जुना विश्वकर्मासँग इनारमाथि नाचेको भिडियो यति बेला सामाजिक सञ्जालमा भाइरल छ । भिडियो क्लिपलाई लिएर सामाजिक प्रयोगकर्ताले उनको आलोचना गरिरहेका छन् । भिडिओ क्लिपमा उनले मोडल जुनासँग काठमाडौँको वसन्तपुरस्थित कुमारी घरनजिकै रहेको इनारमाथि नाचेको देखिन्छ ।

कुमारीले प्रयोग गर्ने पानी ल्याउने इनारमा ‘सुटिङ गरेर’ नेवाः सभ्यता र संस्कृतिमाथि अपमान गरेको समेत उनलाई आरोप लगाइएको छ । भिडियो क्लिप करिब चार महिनाअघि ‘कमाउने नि हो, रमाउने नि हो’ भन्ने बोलको गीतको सुटिङ हो । यो गीतको पूरा भिडियो छायाङ्कन हनुमान ढोका दरबार परिसरमा भएको थियो । अहिले सुटिङको भिडियो क्लिप बाहिरिएपछि उनको आलोचना भएको हो । गीतमा भने इनारमाथि नाचेको प्रस्ट देखिएको छैन ।

कुमारी घर भित्रै थियो इनारः
उक्त इनार र त्यसको अवस्थाबारे चर्चा गरौं – कुमारी घरका चिताइदार गौतम शाक्यका अनुसार ९० साल अघिसम्म कुमारीको नित्य पूजा आदिको लागि सोही इनारबाट पानी लिने गरिन्थ्यो भने अहिले भित्रै धारा जडान भएपछि धारामै चोखो पानी लिने गरिएको छ । अहिले पनि धारामा पानी नआउँदा सोही इनारमा चोखो पानी लिने गरिएको छ ।

त्यो इनार लगायत अहिले स्कूलको भवन रहेको भागसम्म पनि कुमारी घर भित्रै थियो । त्यो भागलाई अहिले पनि कुमारी चोक नै भन्ने गरिन्छ ।

वर्षको दुई पटक कुमारीको वर्षवर्धन पूजा गरिँदा सो इनारमा पनि पनि पूजा गर्नुपर्ने परम्परा आजसम्म पनि निरन्तर रहेको शाक्यले बताए ।
यस किसिमको ऐतिहासिक, धार्मिक, सांस्कृतिक महत्वको इनारमा प्रकाश सपुतले मात्र चढेर नाचेका छैनन् । साँझतिर हेर्न गएमा त्यहि इनारमा बसेर चुरोट तान्ने, चिया पिउनेको भीड नै हुन्छ । यति मात्र होइन, राजनीतिक कार्यक्रम, सभाहरु हुँदा सोही इनारलाई स्टेज बनाएर माथि चढिन्छ र भाषण ठोकिन्छ ।

गमलाले घेरीयो इनारलाईः
यो घटना भाइरल बनेपछि सोहि दिन अर्थात् मंसीर १८ सोमबार मात्र इनार वरिपरि गमला राखिएको छ । तर यो पनि दीर्घकालीन समाधान भने होइन ।
इनार लगायत वसन्तपुर दरवारका अन्य क्षेत्र र गमलाको पनि सुरक्षाको लागि गुल्मका सेनाले सक्दो सहयोग पु¥याउने गुल्मपति प्रजापतिले बताए । दीगो सुरक्षाका सम्वन्धमा कुमारी घरका चिताइदार गौतम शाक्यसँग छलफल भएको प्रजापतिले बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु