स्वदेशी र विदेशीएकी नेपाली बिच दोहोरी भिडन्त, भिडियो ट्रेण्डिङको उकालो यात्रामा

म्यूजिक खबर
प्रकाशित: ११ आश्विन २०७९, मंगलवार

काठमाडौं । कलाकार प्रकाश सपुत र गायिका निशा सुनारले ‘नभन विदेशी’ बोलको दोहोरी गीत सार्वजनिक गरेका छन् । गीतमा स्वदेशी र परदेशी बीचको संवादलाई मीठो लयमा प्रस्तुत गरिएको छ ।

प्रकाशले स्वदेशीको प्रतिनिधी गरेका छन् भने निशा विदेशीएको नेपालीको भूमिकामा छिन् । गीत गायिका निशा सुनारको वास्तविक जीवनसँग नै मेल खान्छ । किनकि उनी पछिल्लो केही वर्षयता अमेरिकामा बस्दै आएकी छन् । निशाले ५ वर्षपछि आफ्नो स्वरमा नयाँ गीत ल्याएकी हुन् ।

प्रकाशकै शब्द एवं लय रहेको गीतमा विनोद बाजुरालीको संगीत संयोजन छ । भिडियोमा प्रकाश र निशा स्वयंले अभिनय गरेका छन् । गायक प्रकाशले निशालाई किन विदेश बसेको भनेर विभिन्न घोचपेच गरेका छन् भने निशाले देशको माया हुँदाहुँदै बाध्यताले विदेश बस्नु परेको दुखेसो पोखेकी छिन् ।

उनले आफू विदेशमा रहे पनि मन देश, घरगाउँमै हुने बताउँदै विदेशी नभन्न आग्रह समेत गरेकी छन् । गीतले विदेशिएका नेपालीको मन छुन सक्छ । आरन प्रोडक्सनको प्रस्तुति रहेको गीतको भिडियोलाई प्रकाशका भाइ सुनिल विकले निर्देशन गरेका हुन् । नवराज उप्रेतिको छायांकन, प्रविन भट्टको सम्पादन रहेको भिडियो प्रकाशको यूट्युब च्यानलमार्फत सार्वजनिक भएको छ ।

गीतले यतिबेला राम्रो भ्युज पाउँदै यूट्युब ट्रेन्डिङमा अगाडि उक्लिरहेको छ । यो समाचार तयार पार्दै गर्दा गीत १६ नं. स्थानमा परेको छ । झण्डै २ लाख दर्शकले हेरिसकेको भिडियोलाई प्रतिक्रिया ८७० बढी प्रतिक्रिया आएका छन् । सबैजसो कमेन्टमा यथार्थ बोकेको गीत भन्दै प्रकाशको तारिफ गरेका छन् । गायक प्रकाशले आफ्नो अफिसियल यूट्युब च्यानलमार्फत ‘नभन विदेशी’ गीत सार्वजनिक गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु