• गीतकार प्रतिमा गुरुङ र गायक चिरञ्जीवी भण्डारीको ‘विस्तारै विस्तारै तिमी मेरी’

    म्यूजिक खबर
    प्रकाशित: ८ फाल्गुन २०७६, बिहीबार
    Chiranjivi Bhandari

    काठमाडौं । गीतकार प्रतिमा गुरुङको शब्द एवं गायक चिरञ्जीवी भण्डारीको संगीतमा नयाँ गीतको म्यूजिक भिडियो ‘बिस्तारै बिस्तारै तिमी मेरी’ सार्वजनिक भएको छ । आज राजधानीमा एक कार्यक्रमको आयोजना गरी उक्त भिडियोलाई सार्वजनिक गरिएको थियो । वरिष्ठ गीतकार डा.कृष्णहरि बरालको प्रमुख आतिथ्यतामा उक्त गीतको श्रव्य, दृश्य सामग्री सार्वजनिक गरिएको हो ।

    गायक चिरञ्जीवी भण्डारीका संगीत गुरु राम सिटौलाको सभापतित्वमा भएको उक्त कार्यक्रममा भिडियोका निर्देशक सुब्रतराज आचार्य, नायिका जेबिका कार्की र व्यवसायी शंकर पाण्डेको आतिथ्यता रहेको थियो । कार्यक्रमलाई स्वागत गर्दै गायक चिरञ्जीवी भण्डारीले आफ्ना पीडासमेत पोखेका थिए । उनले पुराना दिन सम्झिँदै भने– ‘लाखौं लगानी गरेर कलाकारलाई खेलायो भिडियोको लिंक समेत सेयर गरिदिएनन्, त्यसैले पनि आफैं म्यूजिक भिडियोमा खेल्नलाई राजी भएको हुँ’ । भिडियोमा खेल्न निर्देशक सुव्रतराज आचार्यले नै उक्साएको बताउँदै गायक भण्डारीले आफ्नो गीतमा आफैं खेल्न सके अझै धेरैले चिन्ने वातावरण बन्ने बताए । गायक भण्डारीले गीतकार तथा समाजसेवी प्रतिमा गुरुङले विश्वास गरी सहकार्य गर्ने अवसर मिलाइदिने गायक तथा समाजसेवी जितेन वान्तवालाई पनि आभार प्रकट गरेका थिए ।

    कार्यक्रममा बोल्दै निर्देशक सुव्रतराज आचार्यले गायकका रुपमा चिनिएका चिरञ्जीवी भण्डारीलाई अब मोडलका रुपमा पनि प्रस्तुत गरेको हुँदा उनले आगामी भिडियोमा पनि आफैं अभिनय गर्न सक्ने बताए । उनले गीतअनुसार आफूले सकेसम्म खर्च कम हुने गरी भिडियो निर्माणमा सहयोग गरेको बताए । त्यस्तै नायिका जेबिका कार्कीले गायक भण्डारीले एउटा भिडियोमा सँगै काम गर्ने भन्नुभएको थियो त्यो अवसर पनि जुरेको बताए । आफूले गीतअनुसार अभिनयमा कमी नगरेको बताइन् ।

    त्यसैगरी गायक भण्डारीलाई गायन क्षेत्रमा लाग्न प्रेरित गर्ने व्यवसाय शंकर पाण्डेले भण्डारीको सुरुवातका दिन सम्झँदै भने– ‘गीत गाउने जोश र जाँगर भएको मान्छे जसरी पनि काठमाडौं जानु पर्छ र गीत रेकर्ड गरी गायक बन्नुपर्छ भनेको थिएँ त्यो आज पूरा भएको बताए ।’

    Chiranjivi Bhandari
    कार्यक्रममा बोल्दै प्रमुख अतिथि वरिष्ठ गीतकार डा.कृष्णहरि बरालले गायक चिरञ्जीवी भण्डारीको सम्भावना बोकेको एउटा प्रतिभा रहेको बताए । डा. बरालले गीतको शीर्षकअनुसार नै ‘विस्तारै विस्तारै तिमी मेरी हुनु’ भनेजस्तै अडियो र भिडियो दुवै पक्ष सबल बनेको बताए । गीतको शब्दमा पनि फरक प्रयोग पाएको बताउँदै गीतकार प्रतिमा गुरुङको लेखनको तारिफ गर्दै डा.बरालले हतारमा गरिएको मायाले पूर्णता नपाएको हुँदा यो विस्तारै विस्तारै गरेको माया सबल हुनेमा विश्वास गरे । गीतकार गुरुङ र संगीतकार भण्डारीको सिर्जनामा गायक भण्डारी र गायिका राईको स्वर पनि उत्तिकै कर्णप्रिय बनेको बताए ।

    कार्यक्रममा गायक चिरञ्जीवी भण्डारीका संगीत गुरु राम सिटौलाले आफूलाई सभाको अध्यक्ष जस्तो जिम्मेवारी सुम्पेकोमा गायक भण्डारीलाई विशेष आभार प्रकट गरे । संगीतकार सिटौलाले मनभरि गायक बन्ने हुटहुटी बोकेर काठमाडौं छिरेको गायक भण्डारीलाई आफूले सरगम सिकाउँदाका दिनदेखि आजसम्मको यात्रामा निकै सफल भएकोमा गर्व महसुस भएको बताए । गायक भण्डारीमा क्षमता छ, सम्भावना पनि उत्तिकै छ त्यसैले सबैको साथ र सहयोगको खाँचो पनि आवश्यक छ, संगीतकार सिटौलाले शुभकामना दिँदै भने । कार्यक्रमको सहजीकरण गीतकार तथा पत्रकार सुमन पण्डितले गरेका थिए ।

    गीतमा गायक संगीतकार चिरन्जीवी भण्डारी र चर्चित गायिका मेलिना राईको स्वर रहेको छ । गीतको संगीत संयोजन भने सञ्जीव बराइलीले गरेका छन् । गीतकार प्रतिमा गुरुङ परदेशमा रहेर पनि नेपाली गीत संगीतलाई अत्यधिक माया गर्ने गीतकार तथा समाजसेवी हुन् । ‘बिस्तारै बिस्तारै तिमी मेरी’ गीतको भिडियोलाई सुब्रतराज आचार्यले निर्देशन गरेका छन् भने’ उत्सव दाहालको छायांकन’ बिष्णु खड्का’को भिडियो सम्पादन रहेको छ । भिडियोमा गायक संगीतकार चिरन्जीवी भण्डारी र जेबिका कार्कीको रोमान्टिक अभिनय रहेको छ । गीतको भिडियोलाई गायक चिरन्जीवी’को आफ्नै युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु