वरिष्ठ गायक एवं संगीतकार प्रेमध्वज प्रधानको निधन

म्यूजिक खबर
प्रकाशित: २३ बैशाख २०७८, बिहीबार

काठमाडौं । वरिष्ठ गायक एवं संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ । उनको बिहीबार १ः४५ मा सुन्धारास्थित काठमाडौं न्यूरो एन्ड जनरल अस्पतालमा निधन भएको हो ।

छातीमा समस्या देखिएपछि केही दिन अगाडि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । ८५ वर्षीय प्रधानको उपचारका क्रममा निधन भएको संगीतकार संघका पूर्वअध्यक्ष लक्ष्मण शेषले जानकारी दिए ।
१२ दिनदेखि सोही अस्पतालमा उपचाररत प्रधानलाई कोभिड संक्रमणको आशंका गरिए पनि उनको परीक्षणमा नेगेटिभ आएको थियो ।

‘विसं. १९९४ सालमा सिन्धुपाल्चोक जिल्लाको चौतारामा बुबा रत्नध्वज प्रधान र आमा प्राणदेवी प्रधानको कोखबाट जन्मिएका उनको घरमै सांगीतिक माहोल थियो । उनको जिजुबाजे नारायणकृष्ण प्रधान र बाजे उत्तरध्वज प्रधान शास्त्रीय संगीतका गहिरो रुची राख्थे । उनलाई नेपाली सांगीतिक क्षेत्रमा ‘गोल्डेन भ्वाइस’ उपनामले पनि चिनिन्छ ।

सन् १९५२ मा प्रेमध्वजले १६ वर्षकै उमेरमा ‘याद कसैको आइरहन्छ यो अन्धेरी रातमा’ बोलको गीत रेकर्ड गराएका थिए । सन् १९६५ मा प्रेमध्वजले उषा मंगेश्करसँग नेपाली चलचित्र ‘माइतीघर’मा गीत गाएका थिए । यस्तै उनले आशा भोस्लेसँग ‘मायालु इन बम्बे’ नामक चलचित्रमा पनि स्वर दिएका छन् ।

गायक प्रधानका यो नेपाली शिर उचाली, पर लैजाऊ फूलहरु, घुम्तीमा नआऊ है, गोरेटो त्यो गाउँको, तिमीलाई अचेल कहाँ भेटौं लगायतका दर्जनौं गीत सदाबहार छन् ।

उनका ‘हिमालयन बुकेत फ्रम स्विगिङ काठमाडौं’ , ‘हिट सङ्स फ्रम दि गोल्डेन भ्वाइस अफ प्रेमध्वज प्रधान’, ‘घाइते जवानी’, ‘माया नमार’, ‘कतै यो सहरमा’ आदि एल्बम प्रकाशित छन् । नारायण गोपाललाई गायनमा ल्याउन प्रेमध्वज प्रधानको ठूलो हात थियो । प्रधानले नै नारायण गोपालको हात समातेर रेडियो नेपालसम्म लिएर गएका थिए ।

प्रधानले बागीनामा लेखेको संस्मरणमा यो घटनाको उल्लेख गर्नुका साथै पछि नारायण गोपाल दार्जिलिङका स्रष्टासँग नजिकिएपछि आफूहरु टाढिँदै गएको बताएका थिए । प्रेमध्वज प्रधानले ‘माइतीघर’ गीतसँगै अभिनयको पनि प्रस्ताव पाएका थिए ।

तर, उनले गीत गाउन आएको गीत मात्रै गाउँछु भनेर अभिनयको प्रस्तावलाई अस्वीकार गरेका थिए । पछि उनले अस्वीकार गरेको भूमिका सिपी लोहनीले गरेका थिए । प्रेमध्वज प्रधानका एक श्रीमती किरण प्रधान र प्रशन्न र कबीर नामका दुई छोरा छन् । प्रधानका दुई छोराहरु अमेरिकामा छन् ।
म्यूजिक खबर परिवार अमर स्रष्टा प्रेमध्वज प्रधानप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु