
काठमाडौं । अनेसासका पूर्व अध्यक्ष तथा साहित्यिक पत्रकार संघका अध्यक्ष साहित्यकार राधेश्याम लेकाली सम्मानित भएका छन् । माउन्ट ग्लोरी इनटरनेसनल बोडिङ हाई स्कुल, बसुन्धरा, काठमाडौंले साहित्यका विविध विधा र क्षेत्रमा योगदान पू¥याएको भन्दै लेकालीलाई सम्मान गरेको हो । विद्यालयको २६ औं वार्षिकोत्सवको अवसरमा आयोजित अभिभावक दिवस एवं पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा उनी सम्मानित भएका हुन् । पूर्व राजदूत एवं पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले प्रमुख आतिथ्यता र जीवनकुमार श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
साहित्यकार लेकालीलाई समारोहका प्रमुख अतिथि पूर्व राजदूत एवं पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठ, विद्यालयका संस्थापक प्रिन्सीपल गणेश श्रेष्ठ, कार्यक्रमका अध्यक्ष जीवनकुमार श्रेष्ठले खादा, दोसल्ला र प्रमाणपत्र सहित सम्मान अर्पण गरेका थिए । नेपाली साहित्य सिर्जना र संस्थागत योगदानको लागि अतुलनिय योगदान पू¥याएको भन्दै सम्मान गरिएको हो ।
राष्ट्रिय नाचघरमा आयोजित स्कुलको वार्षिक अभिभावक दिवसको अवसरमा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यक्रमकहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रममा वरिष्ठ साहित्यकार डा. शैलेन्द्रप्रकाश नेपाल, लात्भियाका लागि अबैतनिक वाणिज्यदूत करण बैद्य , डा. गरिमा श्रेष्ठ, समाजसेवी लक्ष्मी शर्मा, सर्जक जीवन श्रेष्ठ तथा विभिन्न स्कुलका प्रमुख लगायत अभिभावक र विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो ।