रेडियो नेपालको आधुनिक गीत प्रतियोगिता सम्पन्न, नतिजा विवादमा

म्यूजिक खबर
प्रकाशित: १९ चैत्र २०८०, सोमबार

काठमाडौं । रेडियो नेपालको ७४ औं वार्षिकोत्सवको अवसरमा आयोजित आधुनिक गीत संगीत प्रतियोगिता सम्पन्न भएको छ । आधुनिक गीत प्रतियोगितामा भाग लिएका ४८ प्रतिस्पर्धीहरुमध्येबाट २१ प्रतिस्पर्धी छानिएका थिए । सोही २१ जनाबाट गायनतर्फ मिलन परियार प्रथम भए । त्यस्तै गायनतर्फ नै समीर परियार द्वितीय र लेखराज ढकाल तृतीय हुन सफल भए ।
त्यसैगरी उत्कृष्ट रचना दावा तामाङको भयो भने उत्कृष्ट संगीत ज्योति प्रकाशको बन्न सफल भयो ।
त्यस्तै उत्कृष्ट पाँच गायनतर्फ विशाल श्रेष्ठ, सम्भव थापा, मधु सेन्चुरी, पुनम गुरुङ र दिनेश सुवेदी हुन सफल भएका छन् । यस प्रतियोगिता संगीत विभाग प्रमुख मनराजा नकर्मीको संयोजकत्वमा सम्पन्न भएको हो । प्रतियोगिताको निर्णायकहरुमा गायक संगीतकार माइला लामा, गायिका लोचन भट्टराई, र गायक संगीतकार मुरलीधर रहेका थिए ।

रेडियो नेपालको आधुनिक गीत प्रतियोगिताको नतिजा सार्वजनिक भएसँगै विवाद पनि देखिएको छ । गीतकार रमेश सुवेदीले प्रतियोगितामा उत्कृष्ट भएको संगीततर्फ लक्षित गर्दै सामाजिक सञ्जालमा स्टाटस लेखेका छन् । उनले उत्कृष्ट संगीत कसरी भयो ? यी दुई गीत सुन्नुहोस् भन्दै दुईवटै गीतलाई प्रस्तुत गरेका छन् । आधुनिक गीत प्रतियोगिता २०८० मा उत्कृष्ट संगीत भएको ज्योतिप्रकाशको संगीत रहेको गीत ‘भन्नलाई त सजिलो छ’ र ईश्वर अमात्यको स्वर आलोक श्रीको संगीत रहेको गीत ‘सुन्नेलाई सुनको माला’ सेयर गरेका छन् । गीतकार सुवेदीले लेखेको स्टाटसमा लेखेका छन्ः नेपाली सङ्गीतको जननी सर्वोच्च संस्था रेडियो नेपालले बनाएको २०८० सालको उत्कृष्ट संगीतकारको गीत । ओरिजिनल र कपी कुन हो आफै जान्नु होला ।।
प्रतियोगितामा उल्लेखित सूचनालाई आधार मान्दा के नवीन संगीत भनेको यस्तै संगीत हो त ?? यस्तो कुरा बुझ्नलाई न्याय खोज्न जाऊ कहाँ ??

त्यसैगरी रेडियो नेपालकै पूर्व कर्मचारी समेत रहेका संगीतकार नारायण वलीले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै रेडियो नेपालको उमेरसँगै थिलथिलो हुन पुगेको बताएका छन् । उनले रेडियो नेपालको संगीत विभागमाथी शंका भएको बताउँदै राजनीतिले मुछिँदा सहि निर्णय हुन नसकेको प्रतिक्रियासमेत सामाजिक सञ्जालमा लेखेका छन् ।
उनले लेखेको स्टाटस जस्ताको तस्तै यहाँ प्रस्तुत गरिएको छः
सन्दर्भ : हाम्रो बुढो रेडियो नेपाल् किन थिलथिलो ?
———— ————
कलाकारहरुको ऐतिहासिक थलो रेडियो नेपालमा बिगतमा झैं यसपटक पनि गीत संगीत प्रतियोगिता भएछ। रमाइलो मेला र उतस्व झै लाग्ने यो समय किन हो सुक्खा खडेरी परेको पोखरी झैँ भएछ।
पहिला पहिला हजारौं कलाकारहरुको उपस्थिति रहनेमा खिइदै खिंइदै यसपटक महिनौं बिज्ञापन गर्दा अनि नेपाल् टेलिभिजनको गेट्मा कोहि आँउछन कि भनेर दिनभर बस्दा जम्मा ४८ प्रतिस्पर्धी आएछन अनि २१ छानिएछन।
त्यहाँका संगीत कर्मचारीको योग्यता र क्षमतामा शंका गर्दै गीत छनोट गर्न पनि बाहिर बाट गायिका बिमला राई र एक अर्का माओबादिका साथीलाई ब्यबस्थापनले भित्र्याएछ। अब भन्नुहोस् कलाकारलाई कर्मचारीको रुपमा किन राख्नु पर्यो त? बर्षमा एकचोटि बाजा बजाउन पनि जतिसुकै स्वतन्त्र बाध्यबादक पाई हालिन्छ।
बरिस्ठ गायिका बिमला राइ जि लाई छनोटमा भित्राएर वहाँको मान मर्दन गर्न पुगेको ब्यबस्थापनले हेक्कै राखेनछ।
संस्मरण रहोस् वहाँ २०४० साल मै कान्छी फ्लिमको लोकप्रिय ” कान्छी हे कान्छी ” बोलको गीत गाएर लोकप्रिय हुनु भा थियो।
वहाँलाई संगीत छनोटको झाडु मात्र लाउन लाएर आज अन्तिम चरणमा गायिका लोचन भट्टराई लाई मुल जज बनाउदा आफू senior भएर पनि लोचन भट्टराईको assistant को रुपमा राखेको देखिने र त्यसले पार्ने पिडाको थोरै सम्म हेक्का किन ब्यबस्थापनका हस्तिहरुले नगरेको ?
यहाँ लोचन भट्टराई जज हुनुहुदैन भन्न खोजिएको होइन, उनी त ०७५/ ०७६ तिर तत्कालीन कार्यकारी सुरेश कु. कार्की हुँदा र निज कार्यकारीले त्यो बेला अघिल्लो दिनको रातको ९ बजे उनी कस्तो हुन्छ भन्दा मैले she is capable भन्दै मोबाईल no दिएर भोलिपल्ट जज बनेर आएकै थिइन।
त्यो अभिलेख नहेरी एऔटाको संबेदनसिलता लाई छिया छिया बनाएर ब्यबस्थापनले के जितें भन्छ?
एक कलाकार लाई लागेको कुरा सम्प्रेषण मात्र गरेको हो।
एवं रितले काम गरेमा प्रतिस्पर्धी घटेर भोलिका दिन ३०/ २० हुँदै १० मा आउनेछन।
रेडियो संग निकटतम सम्बन्ध भएका पुराना र दिगज श्रस्टा कलाकारहरु सबै प्राङ्गण टेक्न छोड्नेछन।
त्यहाँको भात खाँदा अजिर्ण हुन्छ भन्नेछन।
भातको दर भाउमा घोटाला भएको रहेछ भने भ्रस्टाचारको भातले पोल्छ भन्नेछन। बिगत यस्को सांची छ।
रह्यो कुरा यसपटकको प्रतिस्पर्धी र अरु निर्णायकको केही कुरा :
मैले पनि घर बाटै आधाजस्तो गीतहरू सुने ।
गायनमा :
१.सन्देश पौड्याल
२.परेश राई
३.पुर्ण बि. क.
निर्मल दियाली / राजु तामाङ / अमला महर्जन लगायतका प्रस्तुति राम्रा थिए।
संगितको स्तर भने रमेश सुवेदी कै राम्रो देखिएको थियो। परेश राइले गाएको गीतको संगीत पनि राम्रै हो।
तर उनी २ बर्ष अघि म निर्णायकमा बस्दा विशेषत मेरै मुल्यांकन बाट उत्कृष्ट संगीतकार भएका थिए, दृस्टीबिहिन छन, तर पक्का छन।यसपटक त्यो बेला पाइसकेका लाई ब्यबस्थापनले के गर्छ, उही जानोस।
तर विशेष intelligence ले ज्योति प्रकाशले पाउने भन्छ, राम जाने /
शब्द ( यान कि गीत रचना ) माइला लामा ( माओबादी क्रान्तिकारी सर्जक कलाकारले हेर्नू भा रहेछ) मेरो बिचारमा वहाँले स्वर, संगीत नै हेरेर गीतको जिम्मा अरु नै अब्बल रचनाकार लाई दिएको भए हुन्थ्यो कि भन्ने हो।
यस्तै छ हए श्रस्टा कलाकारहरु-हाम्रो रेडियोको आलो खबर !
ऐले सम्म तलब पनि छैन रे पेन्सन पनि छैन रे !!!
२० गते भरपेट भात भने छ रे।
पुग्ने नपुग्ने दोमन छ।

रेडियो नेपालजस्तो गरिमा बोकेको संस्थामा यसरी विवादका बाछिटा आउनु राम्रो कुरा भने पक्कै होइन । स्मरण रहोस् अघिल्ला वर्षको प्रतियोगिता पनि विवादमा रहेर अख्तियारमा मुद्दासमेत परेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु