संगीत साधानाका अध्यक्ष राम धामीको निधन

म्यूजिक खबर
प्रकाशित: २६ पुष २०७७, आईतवार
Ram Dhami

इटहरी । संगीत साधना इटहरीका अध्यक्ष बरिष्ठ संगीतकार राम धामीको ५५ वर्षको उमेरमा आज निधन भएको छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा उनको मृत्यु भएको संगीत साधना प्रतिष्ठानका महासचिव राजु केसीले जानकारी दिए ।

‘५ दिनअघि कोरोना मुक्त भएर पनि उहाँलाई निमोनिया भएकाले अस्पतालमै उपचारको लागि राखिएको थियो’ उनले भने । संगीत साधनाका अध्यक्ष समेत रहेका धामी लामो समयदेखि संगीत सिकाउँदै आएका थिए । सरल र सामान्य स्वभावका धामी इटहरी २ का थारु धामी समुदायमा हुर्किएका हुन् ।

थारु भाषाको गीत गाएर २०४८ सालमा रेडियो नेपालमा स्वर परीक्षा उत्तीर्ण गरेका धामीको स्वरमा ५० वटा गीत रेकर्ड भएका छन्। उनको संगीतमा झण्डै चार दर्जन गीत अरुले गाएका छन्।

संगीत साधना केन्द्र इटहरीका संस्थापकमध्येका धामी संगीत प्रशिक्षकका रूपमा समेत सक्रिय थिए। धामीले पहिलोपटक २०७१ सालमा मात्र राजधानीको मञ्चमा गीत गाएका थिए। ४–५ फागुनमा लाजिम्पाटस्थित् थिएटर भिलेजमा आयोजित  ‘राम धामी एकल साँझ’  कार्यक्रममा उनले डेढ दर्जन गीत गाएका थिए, जसमा उनकै सिर्जना र नारायणगोपाल, भक्तराज आचार्य, दीप श्रेष्ठका चर्चित गीत थिए।

एकल साँझ हिमाल एशोसिएसन र थिएटर भिलेजले आयोजना गरेको थियो। त्यही वर्षको ९२०७१० माघमा बसन्त थापा र कवि विप्लव प्रतीकले इटहरीमा भएको एक जमघटमा धामीको प्रतिभा सुनेलगत्तै उनलाई काठमाडौं बोलाउने योजना बनाएका थिए। 

एकल साँझमा गाउँदागाउँदै उनले भनेका थिए, ‘मेरो गीत काठमाडौंले सुन्दैन र यहाँका रेडियोमा बज्दैन।’ म्यूजिक खबर परिवार संगीतकार राम धामीप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु