दोहोरीका खम्बाः गायक रामचन्द्र अर्याल

म्यूजिक खबर
प्रकाशित: १० भाद्र २०७६, मंगलवार
Ram Chandra Aryal, Singer

सुमन पण्डित


‘चारपाते भएर
गरौं काम खेतबारी गएर’

उमेरले बालापन नै थियो, मुटुभित्र गीतसंगीत थियो, जहाँ मादल बज्थ्यो उनको उपस्थिति हुने गथ्र्यो । त्यतिबेला नेपालभरि छरिएर रहेको चारपाते क्लबमार्फत् समाज रुपान्तरणका गीत गाएका थिए गायक रामचन्द्र अर्यालले । समाजमा उर्जा थप्ने गीत गाउँदै गर्दाको समय सम्झिँदै गर्दा गायक अर्यालले चारपाते क्बलमार्फत् जनजागरणका गीत गाएर समाज परिवर्तनका लागि होमिएका थिए । बालापनबाट नै खेतबारीका गह्रामा गीतमार्फत् नै बीउ रोप्ने गरेका गायक अर्यालका धेरै गीतहरुले समाज बोलेको पाइन्छ । उनका लोकदोहोरी गीतहरुमा पनि समाज परिवर्तनको झल्को मिल्छ । दुःख, पीडासँगै समाजका कथा बुन्दै आएका गायक अर्याल सानैदेखिका लोकप्रिय बनेका थिए ।

गोरखाको बक्राङमा जन्मिएका गायक रामचन्द्र अर्यालको बालापन नै गीतसंगीतमा थियो । बाबुआमालाई गीतले नै प्रभाव पारेर उनी गाउँमा गीत गाउन हिंड्थे । रोधी बस्थे, भजन, चुट्का, झ्याउरे, तिज गीत गाउँथे । यसो त उनी चुट्काका गुरु नै थिए । गाउँ नजिकैको मगर समुदायमा उनी खैजडी बोकेर चुट्का गाउन पुग्थे । अरुलाई नचाएर आफू गाउँदै नाच्ने हिंड्ने उनको क्षमता थियो । उनको क्षमता देखेर बुबाआमा पनि गीत सुन्न उनकै पछि लाग्ने बनाएका थिए गायक अर्यालले । उनको गायनकला देखेरे गाउँघरका सबै चकित पर्थे । गायक अर्याल भन्छन्– ‘पहिला त घरमै गायक बन्नुपर्छ त्यसपछि बल्ल गाउँको र देशको भइन्छ ।’
Ram Chandra Aryal

स्कुल पढ्दाताका उनी निर्देशक थिए । गाउँका बालक्लब, स्कुलमा हुने सांस्कृतिक कार्यक्रमहरुमा उनी सांस्कृतिक कार्यक्रमको निर्देशन गर्थे, आफू पनि गाउँथे र अरुलाई पनि यसरी गाउन पर्छ भनेर सिकाउँथे । उनी भन्छन्– ‘म त पहिला निर्देशक रहेछु पछि मात्र गायक भएँ ।’ १३ वर्षको उमेरमै मनकामनाको पञ्चमी जात्रामा प्रत्यक्ष दोहोरी गाएका रामचन्द्र अर्यालले गाउँमा हुने जात्रा, मेला महोत्सव, दशैं तिहार, पूजाआजा सबै ठाउँमा मादल बोकेर पुग्ने गर्थे । रेडियो नेपालबाट बजेका गीतहरुलाई टपक्कै टिपेर प्रस्तुति दिन उनी माहिर थिए । १५ वर्षकै उमेरमा गोरखाका अम्बिर श्रेष्ठसँग संगीतको सुरताल सिकेका गायक अर्यालले आधुनिक र लोक गीतको क्षेत्रमा आफूलाई उतारेका थिए । जुनसुकै बाजा देखेपछि तुरुन्तै बजाउन सक्ने क्षमता भएका उनका गुरु अम्बिर श्रेष्ठकै संगत र शिक्षाबाट संगीतमा उर्जा मिलेको थियो गायक अर्याललाई ।

एसएलसीपछिको अध्ययनपछि गायक रामचन्द्र अर्यालले सांस्कृतिक कार्यक्रमसँगसँगै समाज परिवर्तनको अगुवाई गर्दै आए । सांस्कृतिक कार्यक्रमबाट समाज रुपान्तरण हुनुहुपर्छ, समाजमा उर्जा थप्नुपर्छ, सबै समान हुनुपर्छ, सुखी र समृद्ध बन्नका लागि जनतालाई उर्जा दिने गीतसंगीत निर्माण हुनुपर्छ भन्नेमा नै उनी सक्रिय रहे । सांस्कृतिक अगुवाई गर्दै गर्दा उनी प्रत्यक्ष दोहोरी गायनमा सक्रिय रहे । १५–१६ वर्षको उमेरमा नै उनी गोरखाको छेपेटारमा भएको क्लबस्तरमा दोहोरी प्रतियोगितामा पहिलो स्थान हासिल गरे । त्यसपछि उनलाई झन् उर्जा मिल्दै गयो । ०४५ सालमा भएको जिल्लास्तरीय दोहोरी प्रतियोगितामा पनि उनी प्रथम स्थान हासिल गरेपछि त्यसपछि उनको दोहोरी गायनकै यात्रा अघि बढ्दै गयो । अञ्चलस्तरीय दोहोरी प्रतियोगिता हुँदै उनी राष्ट्रियस्तरमा गोरखामा भएको दोहोरी प्रतियोगितामा पनि उनले प्रथम नै भएर आए । त्यसपछि राष्ट्रियस्तरमा नै पोखरामा भएको दोहोरी प्रतियोगिता र काठमाडौंमा भएको दोहोरी प्रतियोगितामा भाग लिए । चैंतेदशैं मेला बाग्लुङमा पनि प्रथम स्थानको उपाधि चुमेका थिए । त्यस्तै बुटवलमा भएको राष्ट्रव्यापी दोहोरी प्रतियोगितामा दुईपटकसम्म प्रथम स्थान हासिल गर्न सफल भए । २०५९ सालमा भएको बुटवलको दोहोरी प्रतियोगितामा रामचन्द्र अर्यालसँगै काजीबाबु अर्याल, सरिता अधिकारी, सन्तोष आले, याममाया सापकोटा, मनमाया गुरुङको समूह थियो । बुटवलको प्रतियोगिता जितिसकेपछि उनले प्रत्यक्ष दोहोरी गायनमा प्रतिस्पर्धा गर्न छाडे ।

गायनकै क्रममा उनी क्याम्पस पढ्दै गर्दा अतिरिक्त शिक्षकका रुपमा खेलकूद र संगीत शिक्षक भएर बोर्डिङ स्कुल र सरकारी स्कुलमा जागिरे समेत भए । करिब ६÷७ वर्ष शिक्षण पेशामा आवद्ध भए र पुनः गीतसंगीतमा नै सक्रिय भएर लागे ।

प्रत्यक्ष दोहोरी गायनसँगै विभिन्न सांस्कृतिक कार्यक्रममा आफ्नो स्वर प्रस्तुत गर्दै आएका गायक अर्यालले २०५४ सालबाट आफूलाई एल्बममार्फत् बजारमा ल्याएका हुन् । जीवन बर्खे भेलबाट उनको एल्बमको यात्रा तय भए पनि उनका छाति चर्किन्छ, चिन्ता बढ्यो झन्, रिनैमाथि रिन, दरौंदिमा पुल लगायतका गीतहरु चर्चाको शिखरमा रहेका थिए । गायनको यात्रासँगै गीतसंगीतको क्षेत्रमा बढेको संगतले गर्दा दोहोरी गीतको पनि संस्था चाहिन्छ भन्ने उद्देश्यले ‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल’ गठन भयो । उनी त्यस संस्थाका संस्थापक सदस्य भएर दोहोरी अभियन्ताको रुपमा कार्य गर्दै आए ।

दोहोरी गीतलाई नै आत्मसात गर्दै आएका अर्यालले प्रतिष्ठानमा रहेर हालसम्म पनि कार्य गरिरहेकै छन् । विभिन्न संघसंस्थामा आबद्ध भएर गीतसंगीतको क्षेत्रमा सक्रिय रहेका गायक अर्याल यतिखेर भने रेडियो नेपालको बोर्ड सदस्य भएर कार्य गरिरहेका छन् । २–३ रातसम्म निरन्तर खैजडी बजाउँदै हिंडेको गाउँको अनुभवदेखि रेडियो नेपालको बोर्ड सदस्य हुँदासम्म उनका जीवनका आरोह अवरोहले धेरै संघर्ष गरिसकेको छ ।

 

गीतमा मौलिकता नै विशेष हुनुपर्छ भन्ने गर्छन् । लोकगीत भनिसकेपछि लोक अर्थात् समाजसँग मेल खाने लय, शब्दको सिर्जना हुनुपर्छ भन्ने मान्यता राख्ने गायक अर्याल पछिल्लो समयमा पनि उत्तिकै सक्रिय छन् । यतिखेर बजारमा उनका दुई तिज गीत आएका छन् । गायिका दुर्गा केसीको प्रस्तुतिमा रहेको ‘माइतीको आँगनी’ गायक अर्यालकै लय सिर्जनामा बजारमा आएको छ । माइतीको आँगनीमा शिव केसी र दुर्गा केसीको स्वर रहेको छ भने शब्द गायक अर्याल र शिव केसीले सिर्जना गरेका छन् । त्यस्तै गायिका दुर्गा गुरुङको ‘माइतीको माया’ मा पनि गायक अर्यालको लय सिर्जना रहेको छ । गणेश गुरुङको शब्दमा गायिका दुर्गा गुरुङले स्वर दिएकी छन् । दुई वटै गीतमा तिजको मौलिक भाव छ । तिजमा हुनुपर्ने विशेषता भित्र गायक रामचन्द्र अर्याल सफल भएका छन् ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु