गायक ढकालसहित लालीगुराँस पीडितहरु मिडियामा

म्यूजिक खवर
प्रकाशित: ३१ श्रावण २०७६, शुक्रबार

काठमाडौं । गायक रामकृष्ण ढकाल र उनकी पत्नी निलम शाहले करिब ५ करोड ऋण नतिरेको भन्दै ललितपुरस्थित श्रीलालीगुराँस सहकारीले एक दैनिक पत्रिमा सार्वजनिक सूचना निकालेपछि गायक ढकाल मिडियामा आएका छन् । ढकालले चाहिँ ४ वर्षअघि नै ऋण सल्टाइसकेको र अहिले पत्रिकामा सूचना निकालेर आफ्नो मानहानी गर्न खोजिएको बताएका छन् । सूचनामा ‘ऋण तिर्न आउनू’ भन्नेखालको सन्देशचाहिँ छैन । बरु ढकालले सहकारीविरुद्ध मिडियावाजी गरेको र अपरिचित व्यक्तिहरुमार्फत धम्क्याएको आरोप सहकारीका प्रमुख सुरेन्द्र भणडरीले लगाउँदै आएका छन् । उक्तल मुद्धा अदालतबाट ऋण तिर्न बाँकी नरहेको फैसलासमेत भइसकेको हुँदा सूचना प्रकाशित गरेर पनि मानहानी गर्न खोजेको ढकालले पत्रकार सम्मेलनमा बताएका छन् ।

ढकालसहित अन्य तीनजना पीडितहरुले पत्रकार सम्मलेनको आयोजना गरी आफूहरुले तिरिसकेको ऋणलाई पुनः तिर्नुपर्ने भन्दै सूचना निकालिएको र आफ्नो डिपोजिट गरेको रकम र सेयर रकमसमेत नदिइएको पीडितहरुले बताएका छन् ।
ढकालकी श्रीमती निलमले ९ वर्षअघि उक्त सहकारी संस्थाबाट एक करोड ८० लाख रुपैयाँ ऋण लिएकी थिइन् । उक्त ऋणको साँवा–ब्याज तिर्न नसकेपछि ०७० सालमा सहकारीले धितोमा राखिएको घर एक करोड ५० लाख मूल्यमा लिलाम गरेको थियो । तर सहकारीको सूचनाअनुसार ढकालका नाममा अहिले २ करोड ३० लाख ९७ हजार ७ सय ६१ रुपैयाँ र उनकी श्रीमती निलमको नाममा २ करोड ६२ लाख २४ हजार ८९ रुपैयाँ गरी करिब ५ करोड रुपैयाँ ऋण देखिन्छ भनी सहकारीले सूचना निकालेपछि उनीहरु मिडियामा आएका हुन् ।

उक्त सूचनामा छुट्टाछुट्टै कर्जा रकमसहित केशव पुरी, अञ्जु पुरी, श्यामबहादुर खत्री र शीतल भिडियो चलचित्र मन्दिरको नाम पनि उल्लेख छ । सहकारीबाट हालै प्रकाशित सूचनामा सहकारीले ‘ऋण तिर्न आउनू भनेर’ उल्लेख नगरेकाले केवल तर्साउने वा विवादमा ल्याउने उद्देश्यले मात्र सूचना प्रकाशित गरिएको हुन सक्ने ढकालको तर्क छ । पत्रिकामा नाम छपाएर आफ्नो बदनामी गर्न खोजिएको भन्दै आफूमाथि मानहानी भएको हुँदा अदालत जाने तयारीमा रहेको पत्रकार सम्मेलनमा बताए ।
०६६ गते फागुन ५ गते पुल्चोकस्थित लालीगुराँस सहकारीले ढकालपत्नी निलमका नाममा १ करोड ८० लाख रुपैयाँ कर्जा निकासा गरेको थियो । यसका लागि ललितपुरस्थित सैंवु गाविस–८ मा अवस्थित कित्ता नं. ३९२, ३९३ को ८७.४४ र २००.७१ वर्गमिटर क्षेत्रफल भएको जग्गासहित उक्त जग्गामा निर्मित घर धितो राखिएको थियो ।

त्यतिबेला करिब १७ प्रतिशत व्याजदरमा लिइएको कर्जाको नियमित किस्ता ढकाल दम्पत्तिले तिर्न सकेनन् । तत्कालीन समयमा आफ्नो आर्थिक अवस्थामा गिरावट आउँदा समयमा किस्ता तिर्न नसकेको स्वीकार्छन् ढकाल ।
घर लिलामीपछि पनि सहकारीले पछ्याउन थालेपछि ढकालले जिल्ला अदालत पाटनमा मुद्दा दायर गरेका थिए । त्यस मुद्दामा ०७२ साल फागुन १२ गते अदालतले गरेको फैसला ढकालको पक्षमा आयो । गायक ढकालले ‘हरहिसाब शून्य घोषित गरी पाउँ’ भनी ललितपुर जिल्ला अदालतमा ०७२ साउन ३२ गते मुद्दा दायर गरेका थिए । त्यस मुद्दामा उनले आफ्नो घर लिलामीपछि थप ऋण तिर्नु नपर्ने आदेश माग गरेका थिए ।

कार्यक्रममा पीडितहरुले आफूहरु एउटा नमूना पात्र मात्र भएको बताउँदै लालीगुराँस सहकारीले ८–९ ऋणीहरुलाई यसरी नै घरबास बनाएको आरोप लगाएका छन् । उनीहरुले सम्पत्ति सुद्धिकरणमा, अख्तियारमा उजुरी गर्दा पनि लालीगुराँस सहकारीका प्रमुख सुरेन्द्र भण्डारीले किनेको आरोप लगाएका छन् । उनको बैंकमा अहिले २४ करोड रुपैयाँ बैंक ब्यालेन्स रहेको चितवनमा २०–२५ विगाहा जमिन रहेको, यहाँ विभिन्न व्यवसायमा लालीगुराँसको तर्फबाट लगानी गरिएको, आफन्तले ऋण लिँदा ब्याज बिना ब्याज ऋण दिइएको समेत आरोप लगाएका छन् । भण्डारीले पीडितहरुको फोन नउठाउने, भेट्न नचाहने अनि ऋण तिर्नु छ भन्ने बिडम्बना भएको बताए । यदि पैसा असुल उपर गर्ने व्यक्ति हामीबाट किन डराउँछ ? पीडितहरुले आक्रोश पोख्दै भने एउटै टेबलमा बसेर मिडियाको अगाडि कुरा गर्न आफूहरु तयार रहेकोसमेत बताएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु