• रामप्रसाद खनालले गरे राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको खुलेर प्रंशसा

    म्यूजिक खबर
    प्रकाशित: १९ भाद्र २०७९, आईतवार

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सांसदको पदबाट राजीनामा दिएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले राजीनामाको घोषणा गरेका हुन् ।
    उनले संसदको आयु मंसिर ४ गतेपछि पनि कायम राख्ने निर्णयले आफूलाई लज्जित बनाएको बताए । आफूले पाउने तलव, भत्ता तथा सुविधाहरूको समेत रोक्का गर्न संसद सचिवालयलाई आग्रह समेत गरे ।
    यो खबरले यतिबेला सामाजिक सञ्जालमा प्राथमिकता पाएको छ । फरक राजनीति बिचार राख्ने व्यक्तिहरुबाट समेत लिङदेनको प्रशंसा भएको छ । नेपाली सांगीतिक क्षेत्रका चर्चित कलाकारहरुले समेत राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको प्रशंसा गर्दै पोष्टहरु सेयर गरिरहेका छन् ।

    यहि क्रममा नेपाली राजनीतिबारे गहिरो चासो राख्ने बरिष्ठ गायक रामप्रसाद खनालले नेताको साख जोगाएको भन्दै लिङदेनको खुलेर प्रशंसा गरेका छन् । खनालले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् – ‘धन्न एउटा राजेन्द्र लिङ्देन भन्ने मान्छे संसदमा रहेछन र नैतिकता, लज्जा सम्झाएछन अरु साँसदहरुलाई । तर नैतिकता र लज्जा बुझ्ने कसले ?’

    संसदको आयु मंसिर ४ गतेको निर्वाचनपछि पनि कायम राख्नेगरी प्रक्रिया अघि बढेपछि त्यसप्रति असन्तुष्ट हुँदै सांसद पद त्याग गर्ने निर्णय लिएको जानकारी दिए । निर्वाचन घोषणा भएसँगै संसदको आयु जीवित राख्नु नहुने पक्षमा आफू र आफ्नो पार्टी रहेको उल्लेख गर्दै आफू अनैतिक काममा सहभागिता हुन नसक्ने भन्दै राजीनामा दिएको लिङदेनले बताए ।
    ‘आगामी निर्वाचनपछि एक्लो सांसदको रुपमा मात्र नभई बलियो पार्टीको रुपमा संसदमा उपस्थित हुने छौं र संसदबाट गलत निर्णय गर्न नदिने संकल्पका साथ जनतामा जाने छौं’–उनले भने ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु