‘प्रिय तिमीलाई’ लिएर आए रोहित मास्के

म्यूजिक खबर
प्रकाशित: २९ भाद्र २०७७, सोमबार
Rohit Maskey

धरान । धरान आफैमा सांगीतिक उर्बरभूमिको रुपमा पहिलेदेखिनै प्रख्यात छ । धरानमा पहिलेदेखि नै प्रोफेशनल रुपमा होस या शोखको रुपमा होश धेरैजसो युवाहरु संगीतमा लागेका नै हुन्छन र त्यसमा कोही सफल पनि भएका छन् र कोही असफल त कोही आफनै घरायशी कामकाजमा फसेर चाहेरपनि निरन्तरता दिन सकिरहेका हुदैनन् । यस्तै धरानका एक पुराना गायक हुन् रोहित मास्के । उनले करिब अढाई दशकपछि आफ्नो नयाँ गीत ‘प्रिय तिमीलाई’ म्युजिक भिडियो सहित भर्खरै मात्र रिलिज गरेका छन् ।

२०४९ सालताका ‘निश्चल’ नामक सांगीतिक एल्बम बजारमा ल्याएका गायक रोहित मास्केको टेक्सी टेक्सी, मेरी मायालु बोलका गीतहरु त्यसबेला केही गीतहरु रुचाइएका थिए । उक्त एल्बममा उनले त्यसबेला नाम चलेका चर्चित गायिकाहरु सुक्मित गुरुङ, सपनाश्री परियार र भगवती तुम्बाहाम्फेसंगै युगल गीतहरु समेत गाएका थिए ।

धरानको देउसी भैलो देखि विभिन्न सांगीतिक कार्यक्रममा आफुलाई अब्बल रुपमा अगाडी बढाएपनि एल्बम निकालेको केही समयपछि नै उनले हंगकंगलाई आफ्नो कर्मथलो बनाएका थिए जसले गर्दा त्यसपछि भने उनि उतै भुलिए । उता हुँदापनि यदाकदा फुर्सदको केही समय संगीतमा रमाउने मौका पाएका रोहितले केही गीतहरु रेकर्ड गराए भने उतै निर्मित ‘चुकेको चुरा’ नामक चलचित्रमा संगीत तथा स्वर समेत दिएका छन् ।

हंगकंगमा हुने सांगीतिक कार्यक्रममा पनि उनि छुट्दैन थिए । केहि बर्ष अघि मात्र उनि आफ्नै जन्म थलो धरान नै बस्ने गरि फर्किएका छन् । धरानआएपछि भने उनले आफ्नो काम संगसंगै आफ्नो सांगीतिक शोख पनि पुरा गरिरहेका छन् । धरानमा हुने यदाकदा बिभिन्न सांगीतिक कन्सर्टहरुमा झुल्किरहने गायक रोहित मास्केले कोरोना महामारीले ल्याएको लकडाउनको सदुपयोग गर्दै धरानका अन्य संगीतकर्मीहरु संजिव लामा, हेम सुब्बा र मनोज मोतेको सहयोगमा ‘हामी बाँचौ’ बोलको संदेश मुलक गीत निकाले । उक्त गीतको राम्रो प्रतिक्रियाले हौसिएका गायक रोहितले पहिलो लकडाउनमा संगीत दिवस, मलाई धेरै धेरै माया लगायतका गीतहरु पनि निकाले । अहिले भने उनले सन्जिब लामाको शब्द, संगीत र निर्देशनमा प्रिय तिमीलाई यो जुनी भरि बोलको गीत भिडियो सहित आफ्नै युट्युब च्यानल मार्फत रिलिज गरेका छन् । प्रशान्त तामांगले छायांकन तथा सम्पादन गरेको गीतको भिडियोमा लाजु श्रेष्ठको अभिनय रहेको छ ।

धरानको धरान संगीत प्रतिष्ठानमा समेत कोषाध्यक्षको रुपमा आबद्ध रहेका गायक अब भने पहिले देखि साँचेका र केहि नयाँ गीतहरु तुरुन्तै रेकर्ड गर्नका लागि लागिपरेका छन् । आफ्नो समयमा नगरेपनि निरन्तरताको लागि भएपनि धरानको संगीत क्षेत्रलाई टेवा पुग्ने काम गरिरहने सोच छ गायक रोहित मास्केको ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु