रुक्सना लिम्बु र प्रमोदको स्वरमा ‘नोगेन’ सार्वजनिक, छोटो समयमा ट्रेन्डिङको यात्रामा

म्यूजिक खबर
प्रकाशित: २३ माघ २०७८, आईतवार

काठमाडौं । गायक प्रमोद खरेल र भ्वाइस अफ किड्स फाइनलिस्ट रुक्सना लिम्बूको स्वरमा रहेको गीत ‘नोगेन’ शीर्षकको गीत सार्वजनिक भएको छ । महेश खड्काको शब्द तथा संगीत रहेको गीतलाई विशाल निरौलाले संगीत संयोजन गरेका हुन् ।

गीतमा गायिका रुक्सना लिम्बूको स्वरको प्रशंसा गरिएको छ भने रुक्सनाले गायक प्रमोद खरेललाई पनि मेरो आश बन्यो, विश्वास बन्यौ नोगेन भने वास्तविकतामा गरिएको कुराकानीजस्तै भिडियो निर्माण गरिएको छ । भ्वाइस अफ किड्सका कोच प्रमोद खरेल र फाइनलिस्ट रुक्सना लिम्बूको यो गीतको अन्तरसम्वादले रुक्सनालाई विजयी गराउन नपाए पनि उनी राम्रो प्रतिभा हो भन्ने देखाइएको छ । भिडियोमा रुक्सना र प्रमोदलाई नै फिचरिङ गराइएको छ ।

मिनाक्षी कोइरालाको निर्देशनमा बनेको भिडियोलाई अर्जुन तिवारीले छायांकन र मिलन विश्वकर्माले सम्पादन गरेका हुन् । गायक प्रमोदले झण्डै पाँच महिनाको अन्तरपछि आफ्नै युट्युब च्यानलबाट यो गीत ल्याएका हुन् ।

युट्यूबमा सार्वजनिक भएको ६ घन्टा बित्न नपाउँदै गीतको भिडियो ट्रेन्डिङको नवौ नम्बरमा पुगिसकेको छ । सार्वजनिक भएको छोटो समयमा देखिएको यो ट्रेन्डिङको यात्राले २४ घन्टाभित्रमै पहिलो नम्बरको स्थान ओगट्न सफल हुने देखिन्छ । भ्वाइस अफ किड्समा सर्वाधिक चर्चा बटुलेकी रुक्सना लिम्बू र उनका कोच प्रमोद खरेलको यो गीतको सफलताले अझै चर्चा बटुल्न सफल हुने विश्वास लिइएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु