रुपा सापकोटाले चुमिन् साधना अनलाईन ट्यालेन्ट हन्टको उपाधि

म्यूजिक खबर
प्रकाशित: १२ आश्विन २०७७, सोमबार

काठमाडौं । साधना कला केन्द्र र नेपाल सांगीतिक संघको संयुक्त आयोजनामा भएको ‘साधना अनलाइन ट्यालेन्ट हन्ट २०७७’ को उपाधि रुपा सापकोटाले जितेकी छन् । लकडाउनको समयलाई मध्यनजर गर्दै अनलाइनबाट आयोजना गरिएको गायनको रियालिटी शोमा सहभागी रहेका सयौं प्रतिस्पर्धीहरुलाई पछि पार्दै ललितपुरकी रुपा सापकोटा प्रथम बनेकी हुन् । सापकोटालाई नगद २५ हजार सहित साधना कला केन्द्रको एक बर्षको ब्रान्ड एम्बास्डरको रुपमा अवार्ड प्रदान गरिएको छ।
त्यसैगरि दोलखाकी ममता तामाङले दोस्रो हुन सफल भइन् भने विराटनगरका डाक्टर मञ्जिल श्रेष्ठ तेस्रो हुन सफल भए । उनीहरुलाई १५ हजार र १० हजार नगद राशिसहित अवार्ड प्रदान गरिएको छ ।

यस्तै, जुरी अवार्ड बिजेता जिग्मे छ्योकी घिसिङ, कन्सोलेसन प्राईजबाट बिमल रुसाल र निशान्त रत्न तुलाधर, पब्लिक च्वाईस अवार्डबाट सुमन शाक्य, पपुलारिटी अवार्डबाट रोबिन्सन कँसाकार, एड्माईरेसन अवार्डबाट दिपाली सोनी, चाईल्ड आर्टिष्ट अवार्डबाट ईभा न्यौपाने, पर्फर्मेन्स अवार्डबाट शिशिर थापा समेत पुरस्कृत भएका छन् ।

विजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले पुरस्कार तथा सम्मान–पत्र वितरण गरेका थिए। कार्यक्रममा स्वागत मन्तव्य दिँदै साधना कला केन्द्रका संस्थापक निर्देशक तथा प्रमुख मिलन मोक्तानले कोरोनाभाइरस (कोभिड–१९) का कारण भएको लकडाउनको बन्दाबन्दी अवस्थामा सिर्जनात्मक कार्य गर्न र गराउने सोचबाट अनलाइन गायन प्रतियोगिता गरेको बताए। कार्यक्रम संचालन पत्रकार सुमन बैरागीले गरेका थिए ।

देश विदेशवाट ८ सयभन्दा बढीको सहभागिता रहेको साधना अनलाइन ट्यालेन्ट हन्ट २०७७ ले घर घरमा रहेका प्रतिभाहरुलाई स्टार बनाउने अवसर प्रदान गरेको बताए ।
साधना अनलाईन ट्यालेन्ट हन्टमा बरिष्ठ गीतकार डा.कृष्णहरि बराल, संगीतकार किशोर गुरुङ, संगीतज्ञ दीप तुलाधर र तबलावादक सुरेन्द्र श्रेष्ठ रहेको निर्णायक मण्डलमा रहेका थिए ।

पुरस्कार वितरण समारोहमा आयोजक साधना कला केन्द्रले दोश्रो सिजनको साधना अनलाइन हन्ट २०७७ को शुभारम्भ भएको पनि घोषणा गरिएको छ। दोश्रो सिजनको साधना अनलाइन हन्टमा पनि पहिलोको जस्तै व्यापक सहभागिता हुने आशा तथा विश्वास आयोजक साधना कला केन्द्रका प्रवन्ध निर्देशक आशा गौतमले गरेकी छन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु