• द भ्वाइसमाको स्टेजमा सन्ध्या बुढा ‘काउली’, भावुक हुँदै हँसाइन् जज

    म्यूजिक खबर
    प्रकाशित: २७ भाद्र २०७९, सोमबार

    काठमाडौं । ‘काउली बुढी’ र ‘सन्ध्या बुढा’ दुबै नाम उतिकै लोकप्रिय छन् नेपाली कलाकारिता क्षेत्रमा । ‘काउली बुढी’ हाँस्यक्षेत्रमा जमेको नाम हो । त्यस्तै त्यस्तै सन्ध्या बुढा पनि उतिकै सशक्त नाम हो सांगीतिक क्षेत्रका लागि । यी दुई नाम, फरक काम तर पनि सधैं सँगै जोडिन्छ । कारण धेरैलाई थाहा छ – सन्ध्या बुढा भनेकै काउली बुढी भनेर ।

    हाँस्यजगतमा सक्रिय रहेकी उनी संगीतलाई पनि उतिकै उपस्थिती जनाइरहेकी हुन्छिन् । संगीतमा उनको उपस्थितीलाई दर्शक श्रोताले मन पराइदिएका पनि छन् ।

    उनको स्वरमा लोक, आधुनिक, पपजस्ता विभिन्न विधाका एकसे एक गीत सार्वजनिक भएका छन् ।
    पछिल्लो समय चर्चित गायन रियालिटी शो द भ्वाइस अफ नेपाल सिजन ४ मा भाग लिन आएकी छन् । शनिबार प्रसारण भएको शोको ब्लाइन्ड अडिसनमा ‘जुनी जुनीलाई’ गीत गाएकी सन्ध्या ब्याटल राउन्डका लागि छनोट भइसकेकी छन् । चार जना कोचमध्ये उनको गायकी मन पराएर कोच प्रविशा अधिकारी फर्किएकी थिइन् ।


    उनी आमालाई सम्झिंदा भावुक बनेपछि कोच प्रविशाले उनलाई शान्त बनाइन् । आफ्नो मन चारै जान कोचलाई आफूतिर फर्काउने भएको, तर तीन जनालाई भने फर्काउन नसकेको भन्दै सन्ध्या हाँसिन् ।

    काउली बुढीमा उनी बुढी आमाको नक्कल गरेर अभिनय गर्छिन् र स्वर पनि दुरुस्तै निकाल्छिन् । भ्वाइ अफ नेपालको स्टेजमा पनि कोचहरुको आग्रहमा उनले केहीबेर काउली बुढीको अभिनय समेत गरिन् ।

    सन्ध्याले नेपाल आइडलको सिजन २ मा पनि भाग लिएकी थिइन् । उनी त्यसबेला टप २० सम्म पुगेर बाहिरिएकी थिइन् । नेपाल आइडलको अडिसनमा ‘फूलको थुंगा बहेर गयो, गंगाको पानीमा’ गीत गाउँदा जजहरुले निकै प्रशंसा गरेका थिए ।

    भ्वाइस अफ नेपाल हरेक शुक्रबार र शनिबार राति ९ बजेदेखि हिमालय टीभीमा प्रसारण हुन्छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु