सांगीतिक सहकार्यमा फापेको जोडी सञ्जीव–टीका

म्यूजिक खबर
प्रकाशित: २९ माघ २०७६, बुधबार
Sanjib Prajuli_Tika Prasain

काठमाडौं । सांगीतिक क्षेत्रमा पनि सहकार्य गरेर अघि बढ्ने कलाकार धेरै छन् । कतिलाई एकैपटकको सहकार्य फापेपछि निरन्तर सँगसँगै अघि बढेको पाइन्छ । कतिले भने खासै नजमेपछि सहकार्यको सम्बन्ध टुङ्ग्याएका पनि छन् । यस्तै गायक सञ्जिव पराजुली र गायिका टिका प्रसाईंको सहकार्य सांगीतिक क्षेत्रमा फापेको छ । उनीहरुले सार्वजनिक गरेका प्राय सबै गीत लोकप्रिय बनेका छन् । सहकार्यकै क्रममा गायक सञ्जीव पराजुली र गायिका टीका प्रसाईँको पछिल्लो सहयात्रा ‘युगल साँझ’ गत माघ ४ गते पोखरामा सम्पन्न भइसकेको छ । अनुपम म्युजिक पोखरा र लायन्स क्लब अफ् पोखरा आदर्श चौतारीले आयोजना गरेको कार्यक्रममा रातो र चन्द्रसूर्य बोल राष्ट्रिय भावको गीतबाट कार्यक्रमको सुरु गरेका गायक सञ्जीव र गायिका टीकाले पोखरेली दर्शकहरुको माझमा रौनकता थपिदिएका थिए । त्यसपछि ’बरु मौनता बढोस्’, ’पहाडको माथिमाथि’, ’तिमी साथ भएपछि’ जस्ता गीतहरु गाएका थिए ।

त्यसपछिको सेसनमा ’तिमी मलाई मन पर्छ’, ’नाई मलाई थाहा छैन’, ’माया लुकी लुकी’, ’कर्के नजर’, ’हिट हिट गीत’ लगायत १ दर्जन गीत गाएर पोखरेली दर्शकलाई मनोरञ्जन दिलाए । प्रत्यक्ष वाद्यवादनसहितको गायन र पृष्ठभूमिमा प्रस्तुत गरिएको नृत्यले दर्शक अझ रोमाञ्चित भए । पोखरेली दर्शकको स्तरीय गीत सङ्गीतप्रतिको लगाव आफूहरुलाई मन पर्ने सञ्जीव र टीकाले सुनाए । उनीहरुले जीवनमा थुप्रै साङ्गीतिक कार्यक्रममा सहभागी भए पनि ‘युगल साँझ’ जीवनकै ऐतिहासिक रहेको धारणा राखे । कलाकारद्वयलाई पोखरामा उभ्याउने चाँजोपाँजो गीतकार होमनाथ न्यौपानेले मिलाएका थिए ।

विराटनगर स्थायी घर भएका सञ्जीव र झापा स्थायी घर भएकी टीका नेपाली सांगीतिक क्षेत्रमा साङ्गीतिक जोडीका रुपमा परिचित छन् । ’तिमी मलाई मन पर्छ‘ बोलको गीतबाट अघि बढेको सांगीतिक यात्राको क्रममा पोखरेलीहरुले उनीहरुलाई युगल साँझको माध्यमबाट जोडेका छन् । प्रमुख अतिथिका रुपमा निम्त्याइएका नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति सरुभक्तको हातबाट युगल साँझकै मञ्चमा उनीहरुको पछिल्लो दुई गीतिसंग्रह ‘सँग सँगै’ भाग १ र २ पनि सार्वजनिक गरेका थिए । यी दुई एल्बमसँगै सञ्जीवका यस अघिका ‘त्यो सपना’ र ‘सुनय’ गरी ४ र टीकाका यस अघिको ‘मेलोडी’सँगै ३ एल्बम बजारमा आउन सफल भइसकेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि ’सरुभक्त’ले पनि सञ्जीव र टीकाको प्रस्तुतिको प्रशंसा गरे । नेपाली कला, साहित्य र सङ्गीतका लागि सबैले आ–आफ्नो ठाउँबाट योगदान गर्नुपर्नेमा जोड दिँदै उनले युवा पुस्ताका सचेत गायक र गायिकाका रुपमा आफूले सञ्जीव र टीकालाई चिनेको बताए । कार्यक्रममा अनुपम म्युजिकका प्रबन्ध निर्देशक अनुराग अधिकारीले अनुपमले एकल रुपमा र विभिन्न संस्थासँग मिलेर साङ्गीतिक कार्यक्रमहरु गर्दै आएको बताए । उनले यो कार्यक्रम नेपाली साङ्गीतिक क्षेत्रकै ऐतिहासिक कार्यक्रम भएको दाबी गर्दै सातौँ अनुपम साङ्गीतिक साँझ आगामी जेठमा हुने बताए । कार्यक्रमका अध्यक्ष लायन्स क्लब अफ् पोखरा आदर्श चौतारीका अध्यक्ष भरतराज सिग्देलले आफ्नो कार्यकालमा क्लबले समाजसेवाका अलावा सङ्गीतका माध्यमबाट सामाजिक कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रमको सञ्चालन आयोजक संस्थाका सचिव रुपिन्द्र प्रभावी तथा सहसचिव गोविन्द सिञ्जालीले गरेका थिए । लायनहरु वासुदेव कोइराला, मिलन थापा, कमलबहादुर बस्नेतलगायतले शुभकामना दिएका थिए । कार्यक्रममा मुख्य प्रायोजक बाबा एजुकेशन कन्सल्टेन्सीका प्रबन्ध निर्देशक राजेन्द्र कुमार शर्मालाई सम्मान समेत गरिएको थियो । सम्मानित शर्माले आफ्नो संस्थाले स्थापना कालदेखि नै साहित्य, सङ्गीतमा लगानी गरेको र आगामी दिनमा पनि गर्ने प्रतिबद्धता जनाए । सोही अवसरमा ’कर्के नजर’ बोलको गीतको कभर डान्स प्रतियोगितामा उत्कृष्ट हुन सफल नागी डान्स सेन्टर, इटहरीका कलाकारहरुलाई १ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो ।

गायक सञ्जीव पराजुली र गायिका टीका प्रसाईंले संयुक्त रुपमै ५ ओटा अवार्ड पाएका छन् । कान्तिपुर म्युजिक अवार्ड, हिट्स एफ. एम. म्युजिक अवार्ड, कालिका म्युजिक अवार्ड, प्रभु पे म्युजिक खबर म्युजिक अवार्ड, सूर्य इन्टरनेशनल म्युजिक अवार्ड उनीहरुले संयुक्त रुपमा ग्रहण गरेका छन् । गायिका टीकाले नातिकाजी युवा सङ्गीत सम्मान र इमेज अवार्ड पनि पाएकी छिन् भने सञ्जीव पनि अनुपम सङ्गीत सम्मानलगायतका सम्मान पाएका छन् ।
Sanjib Prajuli _Tika Prasain

गायक सञ्जीव पराजुली
अहिलेसम्म ५ दर्जनभन्दा बढी गीतमा स्वर दिइसकेका गायक सञ्जीव पराजुली पछिल्लो समयका लोकप्रिय र व्यस्त गायकका रुपमा स्थापित भइसकेका छन् । ‘देश हाम्रो कति राम्रो’ गीतबाट गायनमा औपचारिक गायन यात्रा सुरु गरेका थिए उनले । ’नीरभिम’को शब्द, दिपक भट्टराईको संगीतमा उनलाई गायन यात्रा सुरु गराउने अवसर मिलेको थियो । यो अवसर भने भूपेन्द्र रायमाझीले मिलाईदिएका थिए । रेडियो नेपालबाट सन् २००५ मा रेकर्डिङ गरेको उक्त गीतसँगै सञ्जीव पराजुलीको गायन यात्रा सुरु भएको थियो ।
नेपालमा गायनको क्षेत्रमा सुरु भएको नेपाली तारा रियालिटी शो गायक पराजुलीका लागि पनि एउटा राम्रो प्लेटफर्म थियो । नेपाली तारामा भाग लिएका उनी टप २० भित्र परेका थिए । टप २० बाट १० भित्र पर्ने क्रममा बाहिरिएका उनी आप्का हाउसद्वारा संचालित ’द हिमालयन टाइम्स’ मा कार्यरत थिए । सन् २००५ मा नै रेडियो नेपाल बाहेक अन्य बाहिरको स्टुडियोमा पनि गीत रेकर्ड गराउन सफल भए पराजुलीले । संगीतमा लागेका उनी एकातिर संचारमाध्यममा पनि कार्यरत रहेका थिए । तर भविश्यको खोजी भने खोज्ने क्रम उनीभित्र पनि थियो । सबैले सोचेको जस्तो सफल भविश्य, सुखी भविश्य उनको पनि सोच थियो । गीतसंगीत मान्छेको जीवनलाई सामाजिक बनाउने प्लेटफर्म हो, जसले दाम भन्दा नामलाई उच्च बनाउँछ । उनी नामसँगै दाम पनि आवश्यक पर्छ भन्नेमा सोचिरहन्थे । सोही बेला उनी करिअर डेभलपकै लागि अष्ट्रेलियालाई रोज्न पुगे ।

Sanjib Parajuli
सन् २००७ मा उनले नेपालमा गरिरहेको कर्मलाई छाडेर अष्ट्रेलियमा जिन्दगीको भविश्य खोज्न पुगे । अष्ट्रेलियामा काम गर्दै जाँदा उनको सुरुवाती जीवनको संगीतको नशा भने मनभित्र उथलपुथल भइरहेको थियो । संगीतबिनाको उनको जिन्दगी अझै अँध्यारो थियो । अष्ट्रेलियाको बसाईले उनलाई जीवन जिउने पाठ त सिकायो तर सामाजिक बन्ने काम भने संगीतले नै दिएको थियो । संगीतले समाजमा नाम दिएको क्षण उनी सम्झिरहन्थे । त्यही भएर अष्ट्रेलियाबाट नै उनले सांगीतिक एल्बम ‘उडान’ लिएर आएका थिए । कलाकारको सामूहिक एल्बम उडान–२ बजारमा आउने तयारीमा छ ।
पछिल्लो समय उनको सांगीतिक यात्रामा ‘झिलमिल झिलमिल’ बाट चर्चाको यात्रा सुरु भयो । त्यसपछि ’तिमी मलाई मन पर्छ’, ’नाइँ मलाई थाहा छैन’, कर्के नजर, सोचमा, हिट हिट गीत, पहिलो भेटैमा, बरु मौनता बढोस्, सहिछाप गरेर, कहिलेसम्म टिक्ने होला, जानी जानी एउटा गल्ती, अलि अलि गर्दै, नाइँ नाइँ हुन्न हुन्न लगायतका गीतले उनको गायन यात्रालाई शिखरको यात्रामा अगाडि बढाइरहेको छ । उनले कान्तिपुर म्युजिक अवार्ड, हिट्स एफ। एम। म्युजिक अवार्ड, कालिका म्युजिक अवार्ड, प्रभु पे म्युजिक खबर म्युजिक अवार्ड, सूर्य इन्टरनेशनल अवार्ड लगायतका अन्य थुप्रै अवार्डहरु गायनबाट नै चुमिसकेका छन् ।

गायिका टीका प्रसाईं
२०५८ सालमा बिर्तामोडमा नै रेकर्ड भएको गीत ‘के गर्नु मेरो खसम’, ’तिम्रो दिलको कुनाकानी’ बाट सांगीतिक यात्रामा औपचारिक सुरुवात गरेकी गायिका हुन् टीका प्रसाईं । झापाको तोपगाछी सरनपाडामा जन्मिएकी गायिका टीका प्रसाई पछिल्लो समयमा लोकप्रिय गायिकाको रुपमा स्थापित छन् । २०६१ सालमा संगीत सिक्न र गायिका बन्ने लक्ष्य बोकेर काठमाडौं प्रवेश गरेकी थिइन् । ललितकलामा संगीत शिक्षा अध्ययन गर्दै डोरेमीमा छैटौं वर्षसम्म संगीत शिक्षा लिएकी थिइन् । सांगीतिक अध्ययन सँगसँगै उनले २०६२ सालमा रेडियो नेपालमा स्वर परीक्षा उत्तीर्णसमेत गरेकी थिइन् । त्यसपछि उनले रियालिटी शोहरुमा भाग लिन थालिन् । तत्कालिन समयको रियालिटी शो ‘ब्राइटर तिम्रो सुर मेरो गीत’ को २०६४ सालमा विजेता पनि बन्न सफल भइन् ।
त्यसपछि आयोजना भएको नेपालको ठूलो रियालिटी शो ’नेपाली तारामा’ टप ४० सम्म भएकी उनी मायाको फस्ट रनरअप, डबली फस्ट रनरअप हुन सफल भइन् । रियालिटी शो र संगीत शिक्षाले खारिएकी उनी त्यसपछि एल्बमहरुमा गाउन थालिन् । २०६१ सालमा नै ‘छोरीको कर्म’ चलचित्रबाट पाश्र्व गायन पनि सुरु गरिसकेकी थिइन् । उनले नेपाली, भोजपुरी, राजवंशी, थारु लगायतका चलचित्रहरुमा स्वर दिइसकेकी छन् । उनको चलचित्रमा चर्चित गीत भने बीच बाटो चलचित्रको ’सेल्फीको जमाना’, कन्यादान चलचित्रको ’मन त मेरो उड्न थाल्यो’, ’तिम्ले साथ दिँदा संसारै पाएँ’ जस्ता रहेका छन् ।
Tika Prasain

गायिका प्रसाईंको ५ वर्ष अगाडि बजारमा आएको सोलो एल्बम ‘मेलोडी’को गीत ‘तिमी भन्छौ भने’ गीतले उनको गायकीलाई नै अब्बल सावित गरेको पाइन्छ । त्यस्तै ’परे माया जालैमा’ गीत सार्वजनिक गरेपछि अन्य धेरै गीत रेकर्ड गर्ने काममा उनलाई अफर पनि आउन थाल्यो । सोही बखत बजारमा आएको ‘तम्लाई चट्ट सलाम’, ‘जे पनि हुन सक्छ मायामा’, ‘मेरो याद तिमिलाई आउँछ आउँदैन’, ‘पिरतीमा जित हुन्न हार हुन्न’ जस्ता गीतले टीका प्रसाईंका उचाइ अझै उच्च बनाउन सफल भयो ।
त्यस्तै टीकाको आफ्नै शब्द र सङ्गीतमा रहेको ‘सँगसँगै’ एल्बमको गीत ’एउटा कुरा भनुँ (तिमी मलाई मन पर्छ)’ मा सञ्जीव पराजुलीसँग टीकाको स्वर धेरैले मन पराइदिए । त्यसपछिको गायक सञ्जीव पराजुलीसँगको सहकार्यमा काम गर्दै जाँदा अन्य गीतहरुको पनि माग बढ्यो गायिक प्रसाई भन्छिन्– ‘त्यसपछि त हामीले एल्बम नै तयार गर्ने सोच बनायौं ।’ ’नाइँ मलाई थाहा छैन’ उनीहरुको करिअरमै सबैभन्दा सफल गीत बन्न सफल बन्यो । त्यसपछि गायिका प्रसाईंले सोलो गीत ‘माया लुकी लुकी’ बजारमा ल्याइन् । उक्त गीतले छोटो समयमै करोडौं श्रोतादर्शकको माया पाउन सफल भयो । सफलताको श्रेणीमा नै फेरी गायक पराजुलीसँगै मिलेर ‘कर्के नजर’, आलि अलि गर्दै, जानी जानी एउटा गल्ती, पहिलो भेटैमा, बरु मौनता बढोस जस्ता गीतहरु आए । सबै गीतहरुले गायिका प्रसाईंको सांगीतिक यात्रालाई उच्च बनाइदियो ।

गायनको क्रमसँगै गायिका प्रसाईंलाई विभिन्न सम्मान तथा अवार्डहरु पनि मिल्दै गए । नातिकाजी राष्ट्रिय संगीत प्रतिभा पुरस्कार, काठमाडौं युनिफाइट सिटी कलेज सम्मान, बानिता संगीत सम्मान पुरस्कारबाट उनी सम्मानित भइन् । त्यस्तै उनले इमेज म्यूजिक अवार्ड २०७४, कान्तिपुर नेशनल म्यूजिक अवार्ड (०७५र०७६), हिट्स एफएम म्यूजिक अवार्ड २०७५, कालिका म्यूजिक अवार्ड (०७४र०७५र०७६), म्यूजिक खबर म्यूजिक अवार्ड २०७६, रापती म्यूजिक अवार्ड २०७६, विन्ध्यवासिनी म्यूजिक अवार्ड २०७४, सूर्य इन्टरनेशनल अवार्ड २०७६, ओएस नेपाल म्यूजिक अवार्ड २०७६, औद्योगिक शान्ति नेपाल म्यूजिक अवार्ड २०७६ लगायतका अवार्डसमेत चुम्ने अवसर पाइन् ।
म्यूजिक खबर पाक्षिकबाट

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु