• गजलकार संजिताले ल्याइन् ‘मेरो गजल तिम्रो लागि’

    म्यूजिक खबर
    प्रकाशित: १५ श्रावण २०७५, मंगलवार

    १५ साउन, काठमाडौँ । पचपन्न सालदेखि गजल लेखनमा सक्रिय गजलकार संजिता देउजाको प्रथम गजल एल्वम ‘‘मेरो गजल तिम्रो लागि’ मंगलबार राजधानीमा सार्वजनिक गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि डा.कृष्णहरि बराल, उन्नति बोहरा शीला, गजलकार ज्ञानुवाकर पौडेल, मेरिना स्मृति र संजिता देउजाले संयुक्त रुपमा सार्वजनिक गरेका थिए ।

    कार्यक्रममा प्राज्ञ तथा गीतकार उन्नति बोहरा शीलाले गजलमाथि चर्चा गर्दै सुनौलो भविश्व बोकेकी संजिताका गजल नेपाली संगीतको क्षेत्रमा एउटा चम्किलो तारा भएको बताइन् ।कार्यक्रममा ज्ञानुवाकर पौडेलले संजिताको गजल लेखनमाथि चर्चा गर्दै भने, “जुनबेला संजिताले गजल लेख्न थाल्नुभएको थियो, त्यो बेला महिला गजलकार कमै थिए । उहाँ निकै सम्भावना भएको गजलकार हो । विदेशको व्यस्तताले अलि हराउनुभयो । त्यति हुँदाहुँदै पनि गजल एल्वम निकाल्नुभयो, खुशीको कुरा हो ।” उनले भन्नुभयो, “गजललाई कविता र गीतबाट अलग गर्नुहुन्न । संजिताका गजलमा कविता र गीत पनि पाइन्छ ।”

    कार्यक्रमका प्रमुख अतिथि डा. कृष्णहरि बरालले एल्वममाथि चर्चा गर्दै नेपाली गजल संगीतमा मेरो गजल तिम्रो लागि उत्कृष्ट संकलनका रुपमा आएको बताए । उनले गीत संगीत लोकप्रिय हुन स्वर, संगीत, एरेन्ज, भिडियो भन्दा पनि गीत, गजल नै शब्द संरचना र लयका हिसावले उत्कृष्ट हुनुपर्ने बताए ।
    गजलकार संजिता देउजाको सभापतित्वमा सम्पन्न कार्यक्रममा साहित्यकार शुशीला देउजाले स्वागत गरेकी थिइन् । कार्यक्रममा गजलकार संजिता देउजाले अतिथि तथा सहयोगीहरुलाई मायाको चिनो प्रदान गरेको थिइन् ।

    एल्वममा विभिन्न समयमा लेखिएका संजिताका आठ गजल संग्रहित छन् । एल्वममा सत्यराज आचार्य, स्वरुपराज आचार्य र दीपक थापाको स्वर रहेको छ । सत्य स्वरुपको संगीत रहेको एल्वममा तिम्रो लागि…, छ अझै…, जवाव यौटा…, दैवको हातमा…, कुनै बेला म…, एक मानिस…, किन ?..र अनुरोध…बोलका गजल रहेका छन् । एल्वममा तीन तीन गजल सत्य स्वरुप तथा दुई गजल दीपक थापाले गाएका छन् ।

     


    महेन्द्र भवन कन्या स्कुलमा अध्ययन गर्दैदेखि गीत, गजल, मुक्तक र कविता लेखनमा रुचि राख्ने गजलकार संजिताका एक सयभन्दा बढी गजल रहेका छन् । त्यसमध्ये २५ भन्दा बढी रेकर्डमा रहेका छन् । उनका गजल र कविता मधुपर्कलगायत पत्रपत्रिकामा प्रकाशित हुँदैआएका छन् ।
    अध्ययनको शीलसिलामा बेलायतमा रहदैआएकी गजलकार देउजाको संयुक्त मुक्तक संग्रह ‘मुक्तक महक’ प्रकाशित छ । त्यस्तै गायक दीपक थापाको एल्वम होराइजनमा समेत गजलकार देउजाको गजल संग्रहित छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु