
असोज ८, काठमाडौं । गीतकार नरेश खड्काको एकल शब्दरचना र संगीतकार सन्तोष श्रेष्ठको एकल संगीतमा तयार पारिएको गीतगजल संग्रह ‘प्रवाह’ लोकार्पण गरिएको छ । भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव टिकाराम घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वरिष्ठ चलचित्र निर्देशक मोहन निरौला,चलचित्र पत्रकार एवम् गीतकार शान्ति प्रिय, चलचित्र पत्रकार भरत बम्जन, लगायतकाको उपस्थितिमा प्रवाहलाई सार्वजनिक गरिएको हो ।
लोकार्पण समारोहमा बोल्दै गीतकार नरेश खड्काले पहिलो प्रयास स्वरुप बजारमा ल्याएको प्रवाहमा माया प्रेमको एउटा कथालाई गीतमा ढाल्ने प्रयास गरेको बताए । यो आफ्नो पहिलो प्रयासलाई सम्पूर्ण स्रोता वर्गले सुनेर सल्लाह र सुझाव दिन अनुरोध गरे ।
संगीतकार सन्तोष श्रेष्ठले नेपाली गीत संगीतको क्षेत्रमा जति पनि फूल फुलेका छन् तिनै कृति र साहित्यको बीचमा फूलेको हुँदा प्रवाह पनि एउटा नयाँ फूलका रुपमा फक्रिएको बताए । आफ्नो २६ औँ एकल गीतिसंग्रह ‘प्रवाह’ गीत तथा गजल संग्रहमा पाँच वटा वियोगान्त भावका र १ वटा समगान्त भावका गीतहरु रहेको बताउदै उनले भने संसारमा धेरै थरिका गीत गाउने र लेख्ने गरेका हुन्छन् तर सबै गीत संगीत एउटै अथाव एकै जस्तो भयो भने त्यसको कुनै आवश्यकता र महत्व नहुन सक्छ, त्यसले नयाँ र नौलो प्रस्तुति ल्याउन जरुरी छ, श्रेष्ठले भने ।
प्रमुख अतिथिको आसनबाट बोल्दै सहसचिव घिमिरेले नेपाल सरकारले कला र साहित्यको कदर गर्न नसक्दा अहिले कलाकारहरु विदेश पलायन हुन बाध्य भएको भन्दै हरेस नखाएर आफ्नो कला साहित्यलाई निरन्तरता दिन सबै कलाकारहरुलाई आग्रह गरे । घिमिरेले एक न एक दिन पक्कै पनि कलाकारहरुको कलाको कदर हुने विश्वास व्यक्त गर्दै नेपालको पश्चिमी भेग आधुनिक गीत संगीतको क्षेत्रमा निकै पछाडी परिरहेको बेलामा सन्तोष श्रेष्ठ र नरेश खड्का जस्ता प्रतिभाहरुले प्रतिनिधित्व गरिरहेकोमा शुभकामना व्यक्त गरे ।
गीतिसंग्रहमा मैले फूलको वर्षात् गरेँ, यति धेरै माया गरी, हार्नु मैले हारि सकें, खोजी देउन पवन तिमी, यति धेरै माया गरी, तिम्रै दिलको संघारमा जस्ता गीत समावेश गरेका छन् । जसमा गायक कृष्ण भक्त राई, मनोज राज, प्राश्ना शाक्य लगायतका कलाकारहरुको सुमधुर स्वर सुन्न सकिन्छ । कार्यक्रममा नेपाली गीत संगीत एवम् कला र साहित्य प्रति अभिरुचि राख्ने स्रष्टा, सर्जक र पत्रकारहरुको सहभागीता रहेको थियो ।