मौलिकता बोकेको गीत शक्ति चन्द र विष्णु माझीको ‘स्याउला’

म्यूजिक खबर
प्रकाशित: ३१ भाद्र २०७८, बिहीबार

काठमाडौं । गायिका विष्णु माझीको पछिल्लो गीत ‘स्याउला’ बजारमा आएको छ । प्रतिभाशाली गायक शक्ति चन्दले ‘स्याउला’मा विष्णु माझीलाई स्वरमा साथ दिएका छन् । चन्द्र परियारको शब्द तथा संगीतमा रहेको गीत ‘स्याउला’लाई राजधानीको सामाखुशीस्थित ट्रान्जिट रेष्टुरेन्ट तथा थकाली भान्छाघरको हलमा कार्यक्रम आयोजना गरी सार्वजनिक गरिएको हो । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष चन्द्र शर्माको प्रमुख आतिथ्यतामा ‘स्याउला’ गीतको अडियो भिडियो सार्वजनिक गरिएको थियो ।

म्यूजिक खबरको आयोजनामा भएको उक्त कार्यक्रममा गायक शक्ति चन्दले अध्यक्षता गरेका थिए । कार्यक्रममा संगीत रोयल्टी संकलन समाजका सदस्य गीतकार बी.पाण्डे को विशेष आतिथ्यता रहेको थियो भने स्याउला गीतका मोडल करिश्मा ढकाल, अभिषेक श्रेष्ठ, निर्देशक राज कुमार मगर लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन गीतकार तथा पत्रकार सुमन बैरागीले गरेका थिए ।

‘स्याउला’ गीतको अडियो भिडियो सार्वजनिकसँगै शुभकामना मन्तव्य दिँदै गीतकार बी.पाण्डेले ‘स्याउला’ शीर्षकले आफूलाई एकपटक गाउतर्फको यादहरु सम्झाएको बताए । उनले हराउँदै गएको मौलिक शब्दहरुलाई गीतमार्फत बजारमा सार्वजनिक गर्नुले पनि गीतको सफलता भएको बताएका थिए । त्यसैगरी प्रतिष्ठानकी केन्द्रीय सदस्य चर्चित गायिका देवी घर्तीले गीतको सफलताको शुभकामना दिइन् ।

त्यस्तै प्रमुख अतिथि चन्द्र शर्माले गीतले करोडौं स्रोता दर्शकको माया पाउने बताउँदै शक्ति चन्द गीतसंगीतमा लामोसमयदेखि क्रियाशील रहेको लोकप्रिय सर्जक भएकाले सबैको माया पाएको बताएका थिए । शक्ति चन्द गायनको क्षेत्रमा स्थापित नाम भएर पनि लोकसंगीतमा जीवन समर्पण गरेको व्यक्ति भएकै कारण ‘स्याउला’ गीतको मौलिक भाकाले अझै उनलाई चिनाउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा मोडल करिश्मा ढकालले गीतको भिडियोमा आफूले निकै मेहनत गरेको र भिडियो पनि राम्रो बनेको बताउँदै सबैले माया गरिदिनुहुनका लागि आग्रह गरिन् । त्यस्तै मोडल अभिषेक श्रेष्ठले पनि आफूले सकेको मेहनत गरेको कारण सबैको माया पाउनेमा विश्वस्त रहेको बताए । भिडियोका निर्देशक राजकुमार मगरले पनि गीत अनुसार भिडियो निर्माण गरेको बताउँदै सबैले माया गरिदिन अनुरोध गरे ।
गीतको संगीत संयोजन कृष्ण वि.क. भान्जाको रहेको छ भने मिक्सिङ कुमार रानाको रहेको छ । भिडियोको छायाँकन करण चैंसिरको रहेको छ भने सम्पादन तथा कलरको काम निर्देशक राजकुमार मगरले नै गरेका छन् । भिडियोलाई गायक शक्ति चन्दको अफिसियल यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु