शंकर बिसीको लकडाउन डायरीः भोकै मर्नुपर्ने अवस्था आउला झैं लाग्छ

म्यूजिक खबर
प्रकाशित: २२ जेष्ठ २०७७, बिहीबार

काठमाडौं । शंकर बिसी हरेक नेपालीको मनमा बसेका लोकप्रिय कलाकार हुन् । नेपाली लोक दोहोरी क्षेत्रमा चर्चित, सफल तथ उत्कृष्ट कलाकारको दर्जा उनमा छ । लोकगीतका ‘राजेश हमाल’ भनेर पनि चिनिन्छ । उसो त उनी चलचित्रका गीतहरुमा पनि उतिकै जमेका निर्देशक हुन् । कोरोनाको विश्वव्यापी महामारी र कोरानाले निम्त्याएको लकडाउनको बीचमा शंकरले दिनहरु कसरी बिताइरहेका होलान् भन्ने जिज्ञासा धेरैमा हुन सक्छ । यही जिज्ञासालाई मेटाउन लकडाउनको बीचमा उनको ब्यस्तता र दैनिकीको सम्बन्धमा हामीले उनै मोडल तथा निर्देशक शंकर बिसीसँग कुरा गरेका छौँ । यहि कुराकानीमा आधारित शंकरको लकडाउन डायरी यस्तो छ–
“कोरोना भाइरस महामारीको चर्चा यतिबेला विश्वभरी छ । विश्वभरिका मानिसहरुलाई यसले प्रत्यक्ष असर पू¥याइरहेको छ । जसका कारण धेरै मुलुकमा लकडाउन छ । लकडाउनले मानिसहरुको दैनिकी नै परिवर्तन गरिदिएको छ । म र मेरो कामलाई पनि लकडाउनको प्रभाव प्रत्यक्ष परेको छ ।
यतिबेला म नेपागन्ज घरमा छु । लकडाउनको शुरुवाती मै काठमाडौंबाट नेपालगन्ज आएको हुँ । विगतका वर्षहरुमा यतिबेला काम भ्याइनभ्याइ हुन्थ्यो । तीजका गीतहरुको सुटिङको सेड्युल मिलाउन पनि हम्मे हुन्थ्यो । त्यो सोचेर मात्र पनि भएन । अहिले घरमै बस्नुपर्ने बाध्यता छ । बिहान ५ बजे नै उठ्छु । दैनिक ६ किमी मर्निङ वाक गर्ने गरेको छु । मनोज गुरुङ दाई हुनुहुन्छ मेरो मर्निङ वाकको साथी । उहाँसँग कोरोना, लकडाउन र यसका समस्याहरुका बारेमा धेरै कुरा हुन्छ । केहि पारिवारीक ।
घर आउँछु, २ ग्लास मनतातो पानी खान्छु । ब्रेकफास्ट पनि यतिबेलै हुन्छ । दुध, बिस्कुट जुस जस्ता लाइट ब्रेकफास्ट लिन्छु । मेरो प्रोफेसन नै मोडलिङ भएकाले पनि फिट हुन, देखिन जरुरी छ । यसो त हरेक मानिसले शारिरीक र मानसिक रुपमा फिट हुन जरुरी छ । घरमै १ घण्टा फिजिकल एक्सरसाइज गर्छु । त्यसका अतिरिक्त अनलाइनको माध्यमबाट विभिन्न भिडियोहरू हेर्छु, समाचार पढ्छु ।
पछिल्लो केहि दिनयताका समाचारले निकै सोच्न बाध्य भएको छु । नेपालमा लकडाउन भएको पनि साढे दुई महिना भयो । भोको पेट र गहभरि आँशु राखेर पनि निकै धैर्यता, त्याग, साहस र समर्पणका साथ सरकारले दिएको आज्ञा पालन गरिरहेका छन् श्रमजीवि जनता । तर जोहो राखेकाले त खालान् लामो समय दिनभरी कामगरेर बेलुकाको छाक टार्नेहरुको अवस्था के होला ? यस्ता समाचार देख्छु दुःख लाग्छ । कसैले दिएको सहयोगले एक छाक, भलै एक हप्ता खाला कसैले । त्यस्पछि त फेरि उहि हो कुरा– पेट भोकै । हामीले पनि म्यूजिक भिडियो कलाकार संघका तर्फबाट, लोकदोहोरी प्रतिष्ठानका तर्फबाट सकेको सहयोग गरिरहेका छौं । तर सहयोगले मात्र पनि हुँदैन । यस्तै हो भने आज सहयोग गरिरहेकाहरु नै भोली भोकै बस्नु पर्ने अवस्था नआउला भन्न सकिन्न । आयश्रोत पनि नहुनु, जोहो गरेको पनि सकिएपछि त सबै भोकै मर्नुपर्ने अवस्था आउला झैं लाग्छ ।
खाना बनाउन पनि सहयोग गर्छु । घर सरसफाइमा पनि ध्यान दिने गरेको छु । दिउँसो भने पुराना नयाँ चलचित्रहरु हेर्ने गरेको छु । युट्युवमा गीत नयाँ पुराना सबै किसिमका गीतहरु हेर्छु । मैंले अभिनय र निर्देशन गरेका पुराना गीतहरु पनि हेर्छु । यस्ता गीतहरु हेर्दा त्यहि समयमा पुगेको फिल गर्छु । निकै नै रमाउँछु । मामाघर नजिकै छ । निकै रमाइलो हुन्छ । धेरै समयमा परिवारलाई समय दिन पाउँदा मलाई त रमाइलो लागेको छ ।
फेरि साँझको समयमा पनि वाक गर्ने गरेको छु । साँझमा भने बाबुराम गुरुङ दाइ हुनुहुन्छ साथमा । हामी गफ गर्दै रमाउँछौं । घर फर्किदा ६ बजिसकेको हुन्छ । फुलमा र तरकारीमा पानी हाल्छु । यो समयलाई भरपूर सदुपयोग गरिरहेको छु । बेलुकाको खाना खाँदा सामान्यतया ८ बजिसकेको हुन्छ । बेलुका रोटी दाल सब्जीको साथमा एउटा अन्डा नियमित खान्छु ।
बेलुका सबैजना बसेर टिभी हेर्छौं । केहिछिन पछि इन्टरनेटमा व्यस्त हुन्छु । सांगीतिक फिल्डका साथी भाइसँग धेरै कुरा हुन्छ । कुरा पनि सांगीतिक फिल्ड कै । कोरोनाले सबैलाई असर पु¥याएको छ । मलाई लाग्छ सबैभन्दा मारमा पर्नेचाँही प्राविधिक हुन् । यति भनिरहँदा फुलटाइम कलाकारिता नै गरिरहेकालाई पनि अब केही समय सहज हुने अवस्था छैन । नयाँ प्रोजेक्ट पाउन पनि मुश्किल हुन्छ । लकडाउन यति धेरै होला भनेर कसैले पनि सोचेका थिएनन् होला । मैंले पनि थिइनँ । झन् लकडाउन शुरु हुँदा त यस्तो भयानक अवस्था आउला भन्ने कुरा अनुमान पनि गरेको थिइनँ ।
अझ थप लकडाउन भयो भने स्थिति झन् भयावह होला भन्ने लाग्छ । रोगले भन्दा पनि भोकले मर्नेको संख्या बढी होला भन्ने लाग्छ । हाम्रोमा अन्य देशको तुलनामा संक्रमितको संख्या कम छ । लक डाउनका कारण यो फैलिन नपाएको हुन सक्छ । यद्यपि भारतको परिदृश्य हेर्ने हो भने लक डाउनकै अवधिमा पनि भारतमा भाइरस बढीरहेको छ । यसकारण पनि लक डाउननै उपाय हो मान्न सकिंदैन । अरु विकल्प सोच्नु पर्छ । सचेत रहेर काम गर्ने वातावरण बनाउनुपर्छ सरकारले भन्ने लाग्छ । लकडाउनलाई साथ दिएका जनताले त्यसपछि पनि पक्का साथ दिनेछन् भन्ने लाग्छ ।
यो सब परिस्थितीका बाबजुद यदि कोरोनाको औषधी पत्ता लाग्यो भने संगीत क्षेत्र पनि बौरिन धेरै समय लाग्दैन । किनभने लकडाउनले बोर भएका मानिसहरुलाई अन्ततः मनोरञ्जनको आवश्यकता त पर्छ नै । त्यसमा पनि गीत त झन् अपरिहार्य जस्तै हो । भनेर मन बुझाउँछु अनि निदाउँछु । १० देखी साढे १० को समयमा ओछ्यानमा गइसकेको हुन्छु ।”

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु