काठमाडौं । कलाकार शंकर लामिछानेलाई र मीस पबिले धोका दिएकी छिन् । प्रेम बियोगले लामिछाने गाँजाको लतमा फस्न पुग्दै गहिरो चोट झेले । गाँजाको सेवन गरिरहेका बेला उनलाई प्रहरीले पक्राउ गर्यो र, केस अदालतसम्म नै पुग्यो । अदालतमा उनले एउटा प्रेमीले कहिलै भाग्न सक्दैन भन्दै आत्मसर्पण नै गरेका छन् । आत्मसमर्पण गरिरहँदा उनले सबैले देश, समाज र आफ्नो कर्तव्यलाई माया गर्न आग्रह गरेका छन् ।
यो सबै घटना वास्तविक जिवनमा घटेको भने होइन । ‘चिलिममा गाँजा भरेको’ बोलको म्यूजिक भिडियोमा यो कथावस्तु सहितको दृश्य देखाइएको छ । गीतको भिडियोमा मिस पविको रुपमा चर्चा कमाइरहेकी पवित्रा साकी , शंकर लामिछाने , लगायतका कलाकारको अभिनय रहेको छ । यस म्यूजिक भिडियोलाई विकास प्रसाईले निर्देशन गरेका छन् ।
लोकप्रिय गायक राजेशपायल राई स्वरले सजिएको यो गीतलाई मंगलवार ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको हो । लामिछानकै शब्द र संगीतमा रहेको गीतको एरेन्ज बाबुल गिरीले गरेका हुन् ।
गीतको अन्त्यतिर भिडियोमा समावेश गरिएको संवादले गीतको कथावस्तुलाई पूर्णता दिएको पाइन्छ । देशप्रेम र इमान्दारितालाई लामिछानेले बलियो रुपमा प्रस्तुत गरेका छन् । सो संवादमा चर्चित कानुन व्यवसायी स्वागत नेपाललाई समेत अतिथी कलाकारका रुपमा देख्न सकिन्छ ।
लामो समयदेखि अष्ट्रेलियामा बस्दै आएका लामिछानेको यसअघि दर्जनौं गीत बजारमा आएका छन् । छमछम , झुक्कायो ऐनाले जस्ता गीत लोकप्रिय भएका छन् । मेलिना राईको आवाजमा रहेको सबकुरा नक्कली बनायो चाईनाले मै राम्री हो कि झुक्कायो ऐनाले बोलको गीत बहुचर्चित भएको थियो ।
लामिछानेले नेपाली कथानक चलचित्र किन लाग्छ मायाँ को मुख्य भूमिकामा अभिनय गरेका छन् । लामिछानेले उपन्यासकार बालकृष्ण समको उपन्यास ‘बोक्सी’मा आधारित चलचित्र ‘बोक्सी’ लगायत अन्य केही नाटकमा समेत काम गरेका छन् ।