• प्रतियोगितादेखि स्टुडियोसम्म शान्तिको सक्रियता

    म्यूजिक खवर
    प्रकाशित: १४ भाद्र २०७६, शनिबार

    किस्ना आचार्य रोशनी/म्यूजिकखबर
    गायिका शान्ति सुनारको यात्रा गायनको हिसाबले एक दशक भइसकेको छ । पहिलोपटक लमजुङ महोत्सवमा स्टेज चढेर प्रत्यक्ष दोहोरी गाउँदाको याद उनीभित्र ताजै छ । २०६६ साल उनका लागि औपचारिक रुपमा पहिलो स्टेज थियो । गाउँमा हुने रोधीमा त उनी सानैदेखि नै गाउने गर्थिन् तर स्रोता दर्शकहरुको भीडमा उनलाई पहिलो स्टेज पाउँदाको दिन इतिहासको पानामा सुनौला अक्षरले लेखिएका छन् ।
    शान्ति सुनार बुबा नरबहादुर सुनार र आमा रोशनी माया सुनारको कोखबाट लमजुङको दोर्दी गाउँपालिका–८, खिम्चोकमा मंसिर २८ मा जन्मिएकी हुन् । उनी जन्मिएको माटो नै लोकगीतको उर्वर भूमि हो । गीतको उर्वरतासँगै हुर्किएकी शान्तिलाई हावापानीले पनि संगीतमय बनाइदिएको थियो । हरेक क्षणमा उनीभित्र सिर्जनाका मुनाहरु टुसाइरहेका हुन्थे तर बचपनको चन्चले स्वभावभित्र उनको संगीतमय दुनियाँ भए पनि बाहिर ल्याउने अवसर मिलेको थिएन । गाउँको रोधीमा रमाउँदा रमाउँदै पहिलोपटक २०६६ सालमा स्टेज चढ्ने मौका पाएकी उनले सोही वर्ष नै लेखनाथ महोत्सवमा प्रत्यक्ष दोहोरी प्रतियोगितामा दोस्रो स्थान हासिल गर्न सफल भइन् । त्यसपछिका दिनहरु उनको प्रत्यक्ष दोहोरी गायनमा सक्रिय रह्यो, धेरै पुरस्कारहरु हात परे ।

    लमजुङ महोत्सवमा गायिका शान्ति सुनारले गाएको देखेर आफ्नै जिल्लाबासी सूर्य दुराको मनमा यो प्रतिभाले ठाउँ पायो भने केही गर्न सक्छ भन्ने लाग्यो । त्यसपछि उनले शान्तिलाई राजधानी प्रवेश गराए र यहाँको परिवेशमा घुलमिल गराए । त्यसपछि सूर्य दूराकै कालीगण्डकी दोहोरी साँझ मा एक वर्ष काम गरिन् । दोहोरी साँझ प्राय कलाकारको लागि एउटा विद्यालय हो । त्यहाँबाट धेरै कलाकारहरु उत्पादन भएका छन् र स्थापित पनि छन् । त्यहीँ काम गर्दागर्दै उनले ६७ मा पहिलो गीत रेकर्ड गरिन् । आफ्नै शब्द, लय र स्वरमा ‘यसपालिको तिज’ तिज गीत बजारमा लिएर आइन् । रेकर्डको हिसाबले उनको पहिलो गीत थियो । स्टेजका अनुभव धेरै बटुले पनि स्टुडियोको अनुभव उनका लागि पहिलो थियो । तिज गीतले उनलाई गायिकाको परिचय दियो । उनी त्यसपछि गामवेशी दोहोरी साँझमा काम गर्न थालिन् । सोही बेला पुलिसक्लबमा पनि सांस्कृतिक क्षेत्रमा नै उनको जागिर मिल्यो । उनको यात्रा अगाडि बढ्ने क्रममा धेरै चुनौतिभित्र सफलता पनि हात पर्दै गयो । सुरुवातका दिनमा उनलाई तिर्सना म्यूजिकका बाबुराम बोहरा र गायक खुमन अधिकारीले गीत रेकर्डिङ र प्रकाशनमा दिएको सहयोग उनी कहिल्यै भुल्न सक्दिनन् ।

    गीतसंगीतकै यात्रामा गायिका शान्ति सुनारको चर्चित गीत बन्न पुग्यो ‘झुम्के बुलाकीले’ । उनलाई यो गीतले बजारमा स्थापित नै गराइदियो । पशुपति शर्मासँगको सहकार्यमा झुम्के बुलाँकी बजारमा आएपछि शान्ति सुनारलाई सांगीतिक अफरहरु पनि आउन थाले । स्टेज पाउन थालिन्, गीतसँगै उनको पनि चर्चा हुन थाल्यो । पशुपति शर्माको शब्द, लय भएको झुम्के बुलाँकीमा पशुपति र शान्तिको स्वर एवं अभिनय रहेको छ । ०६७ देखि ०७४ सम्म गामवेशी दोहोरी साँझ शान्तिका लागि विद्यालय बन्यो ।
    गाउँमा आफ्नै किसिमले गाइन्थ्यो, सुर ताल भनेको के हो थाहा थिएन जसले गर्दा दोहोरी साँझमा आउँदा सुरुका दिन अप्ठ्यारो थियो, शान्तिले विगत सम्झिइन् । सुरताल भनेको गायनका लागि प्रमुख रहेश भन्ने थाहा पाउने वित्तिकै उनी राष्ट्रिय नाचघर जमलबाट संगीतको शिक्षा लिन पुगिन् । त्यहाँबाट ६ महिनाको संगीत शिक्षा लिएपछि उनी गान्धर्व संगीत विद्यालयमा संगीत शिक्षा लिन थालिन् । ६ महिनाको संगीत शिक्षा लिएपछि उनले त्यसलाई निरन्तरता दिन सकिनन् । तर पनि उनको मनमा अझै पनि संगीतको साधना गर्ने रहर ताजै छ ।

    त्यसपछि उनका गीतहरु एकपछि अर्को बजारमा आउन थाले । केरा मीठो, ब्लड प्रेसर हाइ, चट्ट कपाल, ऐया बाबै लगायतका गीतहरु बजारमा आए, लोकप्रिय पनि भए । ५० भन्दा बढी गीतमा स्वर दिइसकेकी गायिका शान्तिका २० वटा गीत त आफ्नै लगानीका रहेका छन् । पछिल्लो समय उनको तिज गीत ‘रेलिमै रेलिमै’ बजारमा आएको छ । जसले उनलाई गायनको यात्रामा थप उचाइ मिल्दै गएको छ । स्टेज कार्यक्रमहरुमा पनि भ्याइनभ्याइ बनाएको छ ।

    रात्रीकालिन व्यवसायलाई हेर्ने दृष्टिकोण नकारात्मक भए पनि दोहोरी साँझ भनेको पारिवारिक रुपमा गीतसंगीत पस्किएर गरिएको व्यवसाय हो । गामवेशीको वातावरण पनि पारिवारिक थियो । शान्तिका लागि मात्र होइन सम्पूर्ण स्टाफहरुका लागि सहज थियो । गामवेशीका संचालकहरु अर्जुन शेरचन, रवि गौचन, कृष्ण तुलाचन लगायतका दाइहरुको माया सपोर्ट ७ वर्षसम्म गामवेशीका काम गर्न सहज भएको गायिका शान्ति बताउँछिन् । गायिका शान्तिका अनुसार दोहोरीको व्यवस्थापन र कलाकार छनोटमा पनि ध्यान दिन्थे संचालकहरु । गायक गायिका बन्छु भनेर काठमाडांै आएका धेरै गायक गायिकालाई गामवेशीसम्म डो¥याएका संचालकरुकै कारण अहिले धेरै चर्चित गायक गायिका बनिसकेका छन् ।

    सरकारी जागिर धेरैको उद्देश्यभित्र पर्छ । उनी पनि त्यो सरकारी जागिरको पछि लागेकी थिइन् । दिनभरि पुलिसक्लबको जागिर साँझमा दोहोरीको जागिरले गर्दा उनलाई समय मिलाउन गाह्रो भइरहेको थियो । तर दिनभरिको थकान भए पनि दोहोरीले सबै बिर्साइरहेको थियो । अन्ततः उनको जागिरमा केही व्यक्तिसँग सम्झौता गर्नुपर्ने अवस्था आयो तर त्यो उनका लागि स्वीकार्य भएन । जसकारण उपत्यका बाहिर उनको सरुवा हुने भयो । त्यसपछि उनले जागिर नै छाडिदिइन् । सरकारी जागिर छाडेपछि गायनमै निरन्तरता दिने सोचमा रहेकी उनी यतिबेला व्यवसायमा पनि हात हालेकी छन् । गोंगबुस्थित कर्माचार्य कम्प्लेक्समा उनी फेन्सी पसल संचालन गरिरहेकी छन् । तर पसलभन्दा धेरै उनी मेला महोत्सवमा नै व्यस्त भइरहेकी छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु