आफ्ना सिर्जना सम्झिँदै संगीतकार शान्तिराम राईले जन्मदिन मनाए

म्यूजिक खबर
प्रकाशित: २३ भाद्र २०७७, मंगलवार

काठमाडौं । वरिष्ठ संगीतकार शान्तिराम राईको आज जन्मदिन । सामाजिक सञ्जालभरि उनका शुभचिन्तक, आफन्त र संगीतप्रेमी मनहरुको शुभकामनाको ओइरो लागेको छ । फोन, एसएमएस र सामाजिक सञ्जालमार्फत् जन्मदिनको शुभकामना दिइरहँदा उनले भने जन्मदिनका अवसरमा सामाजिक संजालमार्फत आफ्ना चर्चित गीतहरुलाई पस्किएर स्मरण गराएका छन् । छालहरु, बाटो हेरे हुन्छ आमा, धोका दियौ तिमीले, म त भएँ स्वदेशमै परदेशी, आइडी कार्डैले जस्ता संगीत सिर्जनालाई सुनाएर स्रोताहरुसँग साक्षात्कार गरेका छन् ।

प्रारम्भिक सङ्गीतको ज्ञान शम्भु राई र बुलु मुकारुङ बाट लिएका संगीतकार शान्तिराम राईले कलेजबाट भने सङ्गीत र समाजशास्त्र विषयमा डिग्री सम्मको अध्ययन गरेका छन् । काठमाडौंको बसाईमा जीवन गुजारा गर्दा उनले कक्षा ७ सम्म गणित विषयको शिक्षक भएर स्कुल पढाए भने कक्षा ६ र ७ लाई संस्कृत विषय पनि पठाएका थिए । मैले त्यस समयमा शम्भु दाईका छोरा छोरीलाई ट्युसन पनि पढाउँथे, उनले पुराना दिन सम्झिँदै भने– ‘त्यस वापत दाईले मलाई आफ्नो पुरानो हार्मोनियम दिनु भएको थियो । मैले त्यसमै सङ्गीत सिकें ।’ उनी त्यही हारमोनियममा विहान बेलुका चाही सङ्गीत साधना गर्थें । त्यसबेलाका गर्चित गायक शम्भु राईसँग नजिक भएको थिएँ । सोही समयमा वरिष्ठ गायक शम्भु राईसँग थुप्रै लोकगीत गाउने मौका पनि उनलाई मिल्यो । फुल फुल्यो गाउँ वेसी छैन बासना, मोहनी भाकाले हेर हाँसेको, सुन काटी फुली आम्मैनी ठुली, यो गाउँमा फुल राम्रो चमेली जस्ता गीतहरु गायौं । ती गीतहरु निकै लोकप्रिय बने ।

खोटाङबाट पैंतालिस सालमा म राजधानी पसेका संगीतकार शान्तिराम राईले संगीत यात्राले तीन दशक पार गरिसकेको छ । दिक्तेल बहुमखी क्याम्पसमा आईए पढ्दै गर्दा क्याम्पस गायन प्रतियोगितामा तेस्रो भएका उनी साथीभाईको आग्रहलाई स्वीकार गर्दै रेडियो नेपालमा गाउन राजधानी आएका थिए । साथमा आमाले दिएको बाटो खर्च सोह्र सय रुपैयाँ थियो । साथमा गोठालो जाँदा रचेका गीतको डायरी र झम्के झोला लिएर काठमाडौं आएका संगीतकार राईको खुट्टामा भने बकुल्ला छाप चप्पल थिए । दुई दिन हिंडेर गाइघाट झरेपछि सत्तरी रुपैयाँको टिकट काटेर रात्रीबस चढी थानकोट छिचोल्दै राजधानी आएका संगीतकार राईले संगीत सिर्जनामा भने अमिट छाप छोड्न सफल भएका छन् । उनका सदाबहार संगीत सिर्जनाले धेरै गायक गायिकालाई चर्चाको शिखरमा पु¥यायो ।

उनको संगीतमा रहेका धेरै गीतहरु छन् । तीमध्ये स्रोताहरुको मनमा सदाबहार बनेका धोका दियौ तिमीले बदनामको दाग लाग्यो, – तिमी तारे भिर म त लहरा, बाटो हेरे हुन्छ आमा, म त आउँदैछु, तिमीलाई हङकङ पुरयायो, आइडी कार्डैले, – धरान सुनसरी, यो मनमा चल्छनी तिम्रै मनपरी, भेटौंला मायालु, इन्टरनेटैमा, छालहरु ओ छालहरु, आएर मलाई भिजाएर जाऊ समयको वहाव संगै, यहाँसम्म आईपुग्दा, – भञ्याङको चौतारिमा आउनु है माया आउनु है, डुल्न मन लाग्छ मायालु साँझ सँगै बतास सँगै, आजको यो साँझ, सम्हालेर राख, एकै छिनको छुटाई पनि कति नमिठो लाग्न थाल्यो, तिम्रो माया लाग्छ नी लै लै हो, सङ्गीतको भाका मीठो झरनाको पानी जस्तो, ए पारि सालघारी मिनी बसमा चढेर जाउँला बेलबारी, उकाली ओराली, पुग्नै पर्छ आज लौ सिम्ले पुल पारि, ए कान्छी, दिक्तेल बजार माया लाउँ भनेर यो मन हतार, ए बैनौ बिस्र्यौ कि कसो हो जस्ता सयौं गीतहरु छन् । जुन संगीतप्रेमी मनहरुले उनको नाम बिर्सिए भने पनि उनका सिर्जनाबाट कहिल्यै टाढा रहन सक्दैनन् ।

संगीतकार शान्तिराम राई यतिबेला भने संगीतकार संघ नेपालको अध्यक्ष पदमा रहेर सामाजिक कार्य गरिरहेका छन् । राईजिङ स्टार जस्तो रियालिटी शोसमेत संचालन गर्दै आइरहेका राई नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञसमेत भइसकेका छन् । उनीद्वारा लिखित संगीत सम्बन्धी पुस्तक यतिबेला विद्यालयस्तरको पाठ्यक्रममा समेत पढाइ हुने भएको छ । संगीत रोयल्टी संकलन समाजसँग आबद्ध भएर बौद्धि सम्पत्ति र कपिराई सम्बन्धी अभियानमा सक्रिय स्रष्टा शान्तिराम राईलाई जन्मदिनको अनगिन्ती शुभकामना । उहाँको आगामी दिन अझै संगीत सिर्जनाले भरिपूर्ण बनोस्, सुस्वास्थ्य, दीर्घायू एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछौं ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु