कलाकारितामा छलाङ मार्दै शित्तल

म्यूजिक खबर
प्रकाशित: २१ श्रावण २०७६, मंगलवार
Shittal Sharma

किस्ना आचार्य रोशनी/म्युजिक खवर

शितल शर्मा पेशाले उद्घोषक हुन् । मुख्य पेसा उद्घोषण भएपनि उनको पहिचान भने यतिमै सिमित छैन । शितलको पढाइप्रतिको लगाव र बुवाआमाको सपनाका कारण पनि सफल उद्घोषक र गायिका बन्ने रहर जति थियोे उति नै डाक्टर हुने रहर थियोे । सोही कारण उनी मेडिकल क्षेत्रप्रति आकर्षित भइन् । प्लस टु पास गरेपछि ज्ब् कोर्स पूरा गरिन् यही बिचमा उनले मिडियालगायत विभिन्न क्षेत्रमा काम गरिसकेकी थिइन् ।

 

बाग्लुङ जिल्ला बुर्तिबाङ– २ मा ईश्वरीलाल शर्मा र पूर्णकली शर्माकी एक्ली छोरी हुन् शितल । २०६१ मा तिनाउ एफएममा सांगीतिक कार्यक्रम संचालिकाको करिब १ वर्षको अनुभव लिएपछि उनले स्टेज कार्यक्रममा उद्घोषण शुरु गरेकी हुन् । मेचीकाली दैनिक पत्रिकाको मार्केटिङमा १ बर्ष बिताएपछि रेडियो जागरणमा ३ बर्षसम्म सांगीतिक र अन्य विधाका कार्यक्रम संचालन गरिन् । त्यस्तै शितलले २०६५ देखि २०७४ सम्म बुद्ध टेलिभिजनमा सांगीतिक साथै समाचार वाचन कार्य गरेपछि उनीभित्र पेशाप्रतिको जिम्मेवारी बोध हुँदै गएको हो ।
बुवाको असामयिक निधनपछि पारिवारिक जिम्मेवारी थपिएपछि उनको औपचारिक अध्ययन र डाक्टर बन्ने सपनामा पूर्णबिराम लाग्यो । तथापि सानैदेखिको कलाकार बन्ने मोह भने कायमै रह्यो । उद्घोषणलाई पेशाकै रूपमा अगाडि बढाउँदै गर्दा २०७३ मा उनले आफ्नो पहिलो गीत पानी जहाज (आर्थिक समृद्धि) रेकर्ड गरि प्रकाशन गरिन् । गायक तथा सर्जक बैकुण्ठ महतसँगको यस गीतको सहकार्यले उनको गायिका बन्ने रहर त मेटायो नै साथै नयाँ पहिचान पनि थपिदियो ।

 

कार्यक्रम संचालन गर्दै जाँदा अरुले गाएको देखेर गायिका बन्ने रहर लागेको हो भन्ने प्रश्नमा उनी भन्छिन्– “म अझै पनि आफुलाई गायिका हुँ भन्दिनँ । एउटा संचारकर्मी र उद्घोषककै पहिचानबाट चिनिन चाहन्छु । कार्यक्रम संचालन गर्दैगर्दा साथ संगत त कलाकार कै हुने भयो सबैजनाले गाएको देख्दा आफुलाई पनि रहर लाग्यो र रेकर्ड गरें । तर अहिलेसम्म जति गीत गरें ती रहरैले गरेका हुन् । म प्रोफेसनल गायिका बन्छु भनेरै रेकर्डिङ सुरु गरेको होइन । गायिका नै बन्छु भन्ने त्यस्तो सोच भएको भए मैले शुरूवात मै गीत रेकर्ड गर्थें तर मोफसलमा बसेरै संचारकर्म र उद्घोषणको धेरै लामो अनुभव पछि बल्ल म काठमाडौ आएँ र गीत पनि गाउन शुरु गरें । तर अहिले पनि मलाई त्यसरी सांगीतिक प्रस्तुति र उद्घोषण दुइवटैको लागि बोलाउनु हुन्न । मलाई खास उद्घोषणकै लागि अफर आउने हो र सांगीतिक प्रस्तुतिको लागि भन्दा पनि उद्घोषणकै लागि अफर गर्दा मलाई बढी आनन्द लाग्छ । कार्यक्रम चलाउँदै गर्दा स्टेजमा फाट्टफुट्ट संगै गाउनु त्यो अलग कुरा हो ।“

मोफसलको लामो संघर्ष मेहनत र उनको लोभलाग्दो उद्घोषण कला देखेरै उनलाई नेपाल टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम झंकार लाइभ सो कार्यक्रम संचालनको अफर आएको थियोे । उक्त अफर स्वीकार गरेर करिब एक बर्ष कार्यक्रम संचालन गरेकी शर्माले थोरै मात्रामा गीत गाएर पनि राम्रो सफलता हात पारेकी छन् । हालसम्म आधा दर्जन जतिमात्रै गीत गाएता पनि उनका हरेक गीतले राम्रो चर्चा पाएका छन् । २०७५ तिजमा उनी आफैले अभिनय र स्वर भरेको गीत “महारानी“ले उनलाई राम्रो सफलताको स्वाद चखायो‌ । मैले उद्घोषण मात्रै होइन गाउन र अभिनय गरेर पनि दर्शक श्रोताको माया उत्तिकै पाउन सक्ने रैछु भनेर म अझै बिश्वस्त भएँ, उनले थपिन् ।
रहरैले लागेको गायन क्षेत्रको यात्रालाई पनि धेरै दर्शकश्रोताले माया दिएर अत्यन्तै सहज बनाइदिनुभयो त्यही मायाले सांगीतिक प्रस्तुति दिनको लागि दुबई, कतार, मलेसिया, इन्डिया लगायतका देशहरूमा पुग्ने अवसर मिल्यो ।“

गीत गाउन सजिलो या कार्यक्रम चलाउन ? आर्थिक हिसाबमा कुन सवल छ भन्ने प्रश्नमा उनी भन्छिन– “आफूमा साँच्चिकै क्षमता छ भने गीत गाउन पनि उद्घोषण गर्न पनि उत्तिकै सहज छ तर मानिसहरूको हेराई र तुलनाले संघर्ष गर्न र आफ्नो लेभल मेन्टेन गर्न असाध्यै गाह्रो छ । विभिन्न जिल्लाहरूमा आयोजना हुने सांगीतिक कार्यक्रममा उद्घोषण होस् या प्रस्तुतिको लागि आउने जाने भाडा पाए पुगिदिने धेरै छ्न् म आफू त्यसरी हिंड्न सक्दिनँ यसकारण पनि निरन्तर कार्यक्रमहरु पाइरहन सकिंदैन ।

कुरा नै नआउने होइन कुरा आउँछ कार्यक्रम फिक्स पनि हुन्छ तर त्यसले भन्दा कममा म आउँछु म गरिदिन्छु भन्नेहरू बिचमा आइदिन्छ्न यस्तै कारणले धेरै कार्यक्रमहरु मैले क्यान्सिल गर्नुपरेको छ । कम पैसामा गर्दै नगर्ने पनि होइन परिस्थिति हेरेर सित्तैमा पनि गरेकी छु तर अरुजस्तै भाडा खर्चमै हिंड्न मेरो नैतिकताले दिंदैन ।”

कार्यक्रम उद्घोषण गरेपनि प्रस्तुति दिए पनि नेपाली सांगीतिक क्षेत्रकै पेरिफेरिमा रहेर गीतसंगीतकै श्रीवृद्धिका लागि लागिरहेकी शितल शर्माले यसपटक पनि आफ्नो तिज सांगितिक कोशेली “चौतारी” भर्खरै मात्र सार्वजनिक गरेकी छ्न् । चौतारीले अझै उनको गायकीलाई उचाइमा पु¥याउने विश्वास शर्माले लिएकी छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु