• शिवको शब्द, संगीतमा १० राष्ट्रिय कलाकारले गाए गरिबको गीत ‘अत्ति भयो अत्ति’

    म्यूजिक खबर
    प्रकाशित: ९ भाद्र २०७७, मंगलवार

    काठमाण्डौ। देशमा वैदेशिक शक्तिको हस्तक्षेप, बढ्दो भष्ट्राचार, कालोबजारी, कमिसनखोर र दलाल प्रवृत्तिले नेपाली जनताको जीवन कष्टकर बन्दै गएको छ । कोरोनाको महामारीको समयमा समेत भ्रष्टाचारको दुर्गन्ध फैलिएको आरोप लाग्दै आएको छ । सत्ताका लागि लुछाचुडी उस्तै छ । दुई तिहाइको सरकारबाट जनतामा जुन अपेक्षा थियो, त्यो निराशामा परिणत हुँदै गएको जनगुनासो छ ।

    यीनै विषयलाई शिव सुवेदीको शब्द तथा संगीतमा तयार भएको ‘इनफ इज इनफ’ अर्थात, ‘अत्ति भयो अत्ति’ बोलको गीतमा उतारिएको छ । यो गीतमा दशजना गायक–गायिकाले आवाज भरेका छन् । गीतमा कुलेन्द्र विक, सम्झना भण्डारी, खेम सेञ्चुरी, सुनिता बुढा क्षेत्री, सूर्य खड्का, मञ्जु पौडेल, विक्रम परियार, कमला पोखरेल, नरेश खाती र टिका सानुको स्वर रहेको छ ।

    देशमा राजनीति व्यवस्था परिवर्तन भए पनि सामान्ती सोच र संस्कारमा परिवर्तन आउन सकेको विषयलाई उठान गरिएको गीतमा देवेन्द्र क्षेत्रीको डाइलग छ । गीतमा ‘इनफ इज इनफ’ अभियानलाईसमेत जोडिएको छ ।

    गीतले वर्तमान नेपालको वास्तविक दृश्य पेश गरेको गीतकार सुवेदी बताउँछन् । ‘देश यसरी नै चलेको छ, निर्मल पन्तहरु रोइरहेछन, कोरोनाले सबैलाई तहस नहस बनाउदा देश चलाउनेहरु पैसा कमाउन, सत्ता जोगाउनतिर लागेका खबर सुनिन्छ। बिगत देखि नै जनता मार्ने र मर्ने चलिरहेकै छ। यस्तै घटनाहरुले जन्माएको हो यो – गरिबको गीत, जहाँ मैले गरिब जनताले के के भोग्नु पर्छ भनेर उतार्ने प्रयास गरेको छु’ गीतकार तथा संगीतकार सुवेदी भन्छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु