• शुभबहादुरलाई संगीतकर्मीहरुद्वारा सांगीतिक श्रद्धाञ्जली अर्पण

    म्यूजिक खबर
    प्रकाशित: ३ आश्विन २०७९, सोमबार

    काठमाडौं । चर्चित संगीतकार शुभबहादुर सुनामको निधन भएको छ । उनको सोमबार बिहान ७४ वर्षको उमेरमा निधन भएको हो । सेक्सोफोन बाजालाई नेपाली संगीतको वाद्यवाधनमा स्थापित गर्ने सुनामको छाउनीस्थित सैनिक अस्पतालमा बिहान ५ बजे सुनामको निधन भएको हो । किड्नीको रोगबाट पीडित उनको डायलाइसिस पनि हुँदै आएको थियो ।

    अन्तिम श्रद्धाञ्जलीका लागि सुनामको पार्थिव शरिरलाई पशुपति परिसरमा राखिएको थियो । संगीतकार संघ नेपालका तर्फबाट उनैले संगीत भरेको ‘हुँ यात्री एउटा’ बोलको गीत मार्फत सुनामप्रति श्रद्धाञ्जली अर्पण गरियो । संगीतकार संघ नेपालका केन्द्रीय कमीटिको साथमा बरिष्ठ संगीतकार सम्भुजित बास्कोटा, सुरेश अधिकारी, महेश खड्का, संगीतकार संघ नेपालका अध्यक्ष चेतन सापकोटा, बसन्त सापकोटा, लक्ष्मण शेष, राजु सिंह, संगीतकर्मी कृष्ण कँडेल लगायत संगीतका बिशिष्ट व्यक्तित्वले उक्त गीत एकसाथ गाएर सांगीतिक श्रद्धाञ्जली अर्पण गरे । ‘हुँ यात्री एउटा’ मा भैरवनाथ रिमालको शब्द, दिप श्रेष्ठको स्वर र शुभबहादुरको संगीत रहेको छ । उनको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार समेत गरियो ।

    ११ वर्षको उमेरदेखि नै नेपाली सेनाको ब्वाइज दर्जामा जागिर सुरु गरेर जर्नेलसम्म भएका सुनामलाई सैनिक सलामीसहित अन्तिम श्रद्धाञ्जली दिइयो ।
    सैनिक ब्यान्डमा रही उनी वाद्यवादन र तथा संगीत सिर्जनामा सक्रिय उनले तत्कालीन युवराज दीपेन्द्र शाहलाई समेत संगीत सिकाएका थिए ।

    रेलीमाई रेलीमाई, फूलैफूलको मौसम तिमीलाई, हुँ यात्री, पर लैजाऊ फूलहरु, गोरेटो त्यो गाउँको, यो नानीको शीरैमा, चिसो चिसो हावामा उनका हिट गीतहरु हुन् । त्यसबाहेक सुनामले रेडियो नेपालमा छँदा थुप्रै कालजयी गीतमा स्याक्सोफोन बजाएका थिए।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु