गीतकार शुभ मुकारुङलाई एक लाखको प्रतिभा पुरस्कार

म्यूजिक खबर
प्रकाशित: २० पुष २०७६, आईतवार
Shubha Mukarung

काठमाडौं । गीतकार संघ नेपालका उपाध्यक्ष एवं संस्कृतिकर्मी शुभ मुकारुङलाई नगद एक लाख राशिको ‘प्रतिभा पुरस्कार’द्वारा पुरस्कृत गरिएको छ । नेपाली गीतिकाव्य तथा संस्कृतिका क्षेत्रमा खोज अन्वेषण गरी उल्लेखनीय योगदान दिएबापत् उनलाई नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले उक्त पुरस्कार प्रदान गरेको हो ।

त्यसैगरी प्रयोगवादी धाराका स्रष्टा कवि गोपाल पराजुलीलाई नगद २५ हजार राशिको ‘प्रतिभा सम्मान’द्वारा सम्मानित गरियो । नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति एवम् वरिष्ठ बैरागी काइँलाले मुकारुङ र पराजुलीलाई टोपी, माला, नगद, दोसल्ला र सम्मानपत्रद्वारा पुरस्कार एवं सम्मान प्रदान गरेका थिए ।

समारोहमा प्रमुख अतिथि काइँलाले विदेशमा क्रियाशील सङ्घसंस्थाले नेपालका रहेका स्रष्टा र नेपालमा क्रियाशील सङ्घसंस्थाले विदेशमा रहेका स्रष्टालाई सम्मान गर्ने परिपाटीले अन्तरदेशीय सम्बन्ध वृद्धि हुने बताए ।

प्रा.डा. गोविन्दराज भट्टराईले नेपाली साहित्यको श्रीबृद्धिमा डायास्पोरामा रहेका सङ्घसंस्था र स्रष्टाहरूको उल्लेखनीय योगदान रहेको बताए । नेपाल प्रज्ञा–प्रतिष्ठानका काव्यविभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेलले डायास्पोरिक साहित्यको प्रवद्र्धनका लागि प्रज्ञा–प्रतिष्ठानले योजना बनाएरै काम गरिरहेको बताए ।

प्रतिभा प्रतिष्ठानका नेपाल संयोजक तथा मानार्थ सदस्य प्राज्ञ शशी लुमुम्बूले संस्थाको गतिविधिमा प्रकाश पार्दै सन् २००८ मा बेलायतमा स्थापना भएको प्रतिभा प्रतिष्ठानले अहिलेसम्म २४ जना स्रष्टालाई सम्मानित तथा पुरस्कृत गरिएको जानकारी दिए । प्रतिभा प्रतिष्ठानका महासचिव एवम् समारोहका सभापति मिजास तेम्बेले नेपाली भाषा, साहित्य, कला तथा संस्कृतिको विकासका लागि बेलायतमा स्थापित प्रतिभा प्रतिष्ठानले निरन्तर काम गरिरहेको जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु