गायिका रितु कँडेलको लकडाउन डायरी, ‘लकडाउनमा पनि रमाइरहेकी छु’

म्यूजिक खबर
प्रकाशित: २२ जेष्ठ २०७७, बिहीबार

काठमाडौं । हाम्रो मुलुक मात्र होइन विश्वमा नै कोरोना भाइरस (कोभिड–१९) ले आक्रमण गरेको कारण लकडाउनको अवस्था सिर्जना भएको छ । लकडाउनका कारण कुनै पनि उद्योगधन्दा, कल कारखाना, पसल, होटल व्यवसाय लगायत मनोरञ्जन क्षेत्रका सबै काम ठप्प छ । बलिउड, हलिउड, कलिउडका सबै कलाकारहरुको जिवन एकनास भएको छ । सबै लकडाउनमा थुनिएका छन् । म पनि लकडाउन हुनु केहि दिन अघि मात्र मेरो गाउँ चितवन आइपुगेकी थिएँ ।
हामी कलाकारहरु चाहेर होस् या नचाहेर सदैव भिडभाडमै हुनुपथ्र्यो । कहिले सुटिङ, कहिले रेकर्डिङ त कहिले स्जेज प्रोगाम । अरु केहि नभएपनि साथीभाई भेट्न र गफ गर्न मन लाग्ने । त्यसैले पनि पक्कै पनि सबै कलाकारलाई लकडाउनमा समय काट्न कठिन नै भयो होला । अब त बानी नि पर्यो, कसैलाई भने थप कठिन भएको हुनसक्छ । मेरो हकमा भनें म चितवन घरभित्र मज्जाले रमाइरहेकी छु ।

हामी घरमा ममी, बुबा दिजु र नानीबाबुहरु छौं । म सँधै झैं बिहान ५ बजे उठ्छु । त्यसपछि मेडिटेसन, योगा गर्छु । नुहाउँधुवाईको काम सकाएर दैनिक १ घण्टा रियाज पनि गर्ने गरेकी छु । यो मेरो लकडाउन अघिको पनि मेरो यहि दैनिकी हो । अनलाईन न्युजहरु पढ्छु । गीतहरु सुन्छु । विशेषतः हिन्दी पुराना गीतहरु सुन्दै घरको काम गर्छु ।
बिहान बेलुका खाना खाने समयमा पनि हाम्रो केहि फरक भएको छैन, लकडाउन अघि र अहिले । दिउँसोको खाजा पनि पहिलाको जस्तै उहि २–३ बजेतिर नै ।
अहिले भने दिदी–दाइका छोराछोरीलाई संगीत सिकाउँछु । उनीहरुसँग रमाइलो गर्छु । ममी, दिदीलाई किचनको काममा पनि सघाउँछु । लकडाउनले अर्को रमाइलो पक्ष किचनको काम पनि हो । सामान्य खाना मात्र बनाउँन आउँथ्यो । अहिले युट्युव हेरेर नयाँ नयाँ परिकार पकाउन सिकें ।


पढ्न मनलागेका तर अल्छी लागेर यात समय नमिलेर नपढिएका किताबहरु यतिकै थन्किएका थिए । लामो अन्तरालपछि ती किताब पढ्न समय पाएको छु । अहिले ती किताबहरु पढिरहेको छु । यसैले मलाई लाग्छ यो समय आफूलाई रहर लागेको तर गर्न नसकेको कर्म गर्ने समय हो । साथीहरुसँग ग्रुप च्याट हुन्छ । भोलीका दिनका बारेमा, र संगीत क्षेत्रको अवस्थाका बारेमा कुरा गछौं ।
लकडाउन, जीवनको नौलो अनुभव भएता पनि एक्कासी आएको यो फूर्सदको समयले पनि मलाई धेरै कुरा सिक्ने अवसर दिएको छ । संसारमा परिवारभन्दा नजिक कोहि होइन भन्ने अनुभुति गरेकी छु । त्यस्तै सरसफाईको महत्व । मलाई मात्र होइन यो सोचाई विश्वका धेरै मानिसलाई पैदा भएको हुनुपर्छ । मानिसमा सकारात्मक सोच र आध्यात्मिक चिन्तनको जरुरी छ । त्यस्तै योग प्रणायमको महत्व पनि उतिकै छ । रोगका लागि आफैं सचेत हुनुपर्ने र कुनै पनि समस्याको समाधानका लागि मानिस धैर्य हुनैपर्छ भन्ने कुरा पनि लकडाउनले सिकाएको छ । साँच्चिकै एकपटक मनन गरौं त हामी अहिले कति धैर्य गरिरहेका छौं भोलीको सुनौलो दिनहरुका लागि ।
यस्तै मेरा केहि आफन्तहरु विदेशमा हुनुहुन्छ । दाई अमेरिकामा हुनुहुन्छ । त्यताको अवस्था यताको भन्दा भयवित भएकाले मन अमिलो हुन्छ । उहाँहरुसँग कुराकानी गर्न मल लाग्छ । कुराकानीमा सचेत रही सावधानी अपनाउन भन्छौं । किचनमा भने बिहान बेलुका नै सघाउँछु । सुत्नु अघि परिवारका सबैजना एकछिन गफ गर्छौ ।
मेरो अहिलेको लकडाउनको दैनिकी सामान्यतया यसरी नै बितिरहेको छ ।

देशमा भयवित अवस्था नआओस् भन्नका लागि सरकारले लकडाउन गरेको छ । हुनत केहि दिनमा लकडाउन अलि खुकुलो गराउने कुरा पनि छ । तर पनि कोरोना नै समाप्त नहुन्जेल हामी सबैले सुरक्षित रहनु जरुरी छ । साथै कोरोनाबाट बच्नका लागि नेपाल सरकार र डब्लुएचओले जारी गरेका निर्देशनहरुको पालना म गरिरहेकी छु, अरुलाई पनि सचेत भई सुरक्षित रहन आग्रह गर्छु ।
-विगत लामो समय देखि आधुनिक तथा लोकगितहरुमा सुमधुर स्वर दिदैं आएकी गायिका रितु कँडेलसँग सविता पोखरेलले गरेको कुराकानीमा आधारित ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु