आज जन्मदिन मनाइरहेकी नेपाली संगीतकी ‘सिता’ लाई नजिकबाट नियाल्दा

म्यूजिक खबर
प्रकाशित: २४ भाद्र २०७७, बुधबार

बाल्यकालदेखिकै गायनमा रुचि गायिका राख्ने सीता थापा काठ क्षेत्रको रानीका रुपमा परिचित छिन् । समग्र लोक गायनको क्षेत्रकी उनी अकबरी सुन नै हुन् । उनको स्वरलाई कसी लगाउनु पर्ने कतै ठाउँ छैन । आज यिनै सुमधुर स्वरकी धनी सुप्रसिद्ध गायिका सिता थापाको जन्मदिन परेको छ । उनलाई बिहानैदेखी सांगीतिक क्षेत्रका अग्रज र अनुज व्यक्तित्व लगायत धेरैले जन्मदिनको शुभकामना दिइरहेका छन् । लकडाउनका कारण घरमै समय बिताइरहेकी सिताले आज आफ्नो जन्मदिन छोरी, आफन्त र छोरीका केहि साथीहरुसँग मनाउँदैछिन् ।

सबैको मन मुटुमा बस्न सफल उनै गायिकालाई जन्मदिनको अवसरमा नजिकबाट चिन्ने प्रयास गरौं । गायनको यात्रामा अढाइ दशकको यात्रा पार गरिसकेकी अब्बल गायिका थापाको जन्म रामेछाप जिल्लाको रामेछाप नगरपालिका ४ साविक हिमगंगा गाविसमा बुबा बज्रबहादुर र आमा धुमिदेवी थापाको कोखबाट जेठ १५ मा भएको हो ।
बाल्यकालमै बालगीत गाएकी उनले बालकलाकारको रूपमा बाल टेलिफिल्ममा अभिनय समेत गर्ने अवसर पाएकी थिइन् । उनको बालप्रतिभा देखेर सबै मोहित हुन्थे । आम नेपाली आमाबुबाभन्दा ठीक विपरीत उनका बाबुले उनलाई गायिका बनाउने सपना देखेका थिए । उनी सम्झिन्छिन्, “अरूका बाआमाले झैं कलाकारितामा लाग्न कहिल्यै रोकछेक गर्नुभएन । छोरी तिमीलाई गायिका बनाउने सपना देखेको छु, बुबाले भन्नुहुन्थ्यो ।“

२०५४ सालमा भएको राष्ट्रिय लोकगीत प्रतियोगितामा २०५४ सालमा तृतीय स्थान हासिल गरेकी गायिका सिता थापाले नगरपालिका लोकदोहारी गीत प्रतियोगिता २०५४ मा नै बद्री पराजुलीसँगको समूहमा प्रथम स्थान हासिल गर्न सफल भएको थियो ।
त्यसपछि उनले रुपै राम्रो, सान्नानी, सीपाघाटै र घर हाम्रो चरिकोट जस्ता एल्बम बजारमा आए । जसले गर्दा उनलाई लोक दोहोरी गायनमा फर्केर हेर्नुपर्ने अवस्था आएन ।

अहिले उनको स्वरमा बजारमा आएका गीतको संख्या १२ सय नाघिसकेको छ । संख्याका हिसाबले मात्र होइन गुणस्तर र चर्चाका दृष्टिले पनि उत्तिकै अग्रपंक्तिमा छन् थापाद्वारा स्वरबद्ध गीतहरू ।

उनलाई लोक तथा दोहोरी गायिकाको रुपमा स्थापित गराउने गीतहरूमा काँचो ओखर, नयाँ बानेश्वर, काठमाडौं सिंहदरबार, गालैमा रै’छ डण्डीफोर, ऊनीको पछ्यौरी, खानीखोला, दुई रुपैयाँको बिंडी, घर हाम्रो रापेछाप, मोरालाई पड्काइदिन्छु सौताको छोरालाई, सिन्धुली बर्दिबास, घुम्तीमा पहिरो छ लगायत रहेका छन् ।
काठ क्षेत्रकी रानीको रुपमा चिनिएकी कर्णप्रिय स्वरकी धनि गायिका सितालाई हाम्रो तर्फबाट पनि जन्मदिनको अथाह शुभकामना

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु