प्रतिलिपि अधिकार हननको मुद्दामा विन्ध्यवासिनी म्यूजिककी कार्यकारी अधिकृत शर्मा पक्राउ

म्यूजिक खबर
प्रकाशित: २७ पुष २०७७, सोमबार

काठमाडौं । प्रतिलिपि अधिकार हनन् गरेको उजुरीका आधारमा प्रहरीले विन्ध्यवासिनी म्युजिककी कार्यकारी अधिकृत लिना शर्मा रेग्मीलाई प्रक्राउ गरेको छ । गायक प्रमोद खरेल र विन्ध्यवासिनी म्युजिकबीच भएको प्रतिलिपि अधिकार हननको मुद्दा प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालय हुँदै महानगरीय प्रहरी परिसर टेकुसम्म पुगेको थियो । गायक खरेलले आफ्नो प्रतिलिपि अधिकार हनन् गरेको भन्दै विन्ध्यवासिनी म्यूजिक विरुद्ध प्रहरीसमक्ष उजुरी दिएका थिए ।

‘प्रतिलिपि अधिकार हनन् गरेको उजुरीका आधारमा हामीले रेग्मीलाई पक्राउ गरेका हौं,’ महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता प्रमेश विष्टले भने, ‘अनुसन्धानको प्रक्रियामा छौं ।’

यता विन्ध्यवासिनी म्यूजिकका संचालक सुवास रेग्मीले म्यूजिक खबरसँग भने– ‘प्रतिलिपि अधिकार हनन मुद्दामा पक्राउ गरिएको बताउँदै आफूहरु पनि त्यही अधिकारका लागि लडिरहेको हुँदा लँडाइलाई स्रष्टा, प्रस्तोता र उत्पादकको अधिकारका रुपमा लिएको बताएका छन् । उनले कसैको पनि अधिकार हनन् हुनु हुन्न, यो मुद्दामा खरेलको अधिकार जति हनन् भएको छ विन्ध्यवासिनीको पनि अधिकार हनन् भएकोले नै यहाँसम्म अगाडि बढेको हुनसक्ने बताए ।’

यसअघि गायक प्रमोद खरेललाई गालीगलौज गरेको भन्दै विन्ध्यवासिनी म्युजिकका सञ्चालकलाई कारबाहीको माग गर्दै ५७ जना गायक गायिकाले हस्ताक्षर गरेर महानगरीय प्रहरी परिसर टेकु काठमाडौंमा निवेदन समेत दिएका थिए ।

प्रतिलिपि अधिकार हनन्को विषयमा प्रहरीले आरोपीलाई पक्राउ गरेको यो पहिलो घटना भएको बताइएको छ । प्रतिलिपि अधिकारका विषयमा पटक–पटक विवाद र उजुरी परे पनि प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालय र प्रहरीमा पुगेपछि बीचमै मिलापत्र हुँदै आएको थियो ।

आफ्नै लगानी र कपीराइट रहेको ‘प्रणय’ एल्बम विन्ध्यवासिनी म्युजिकसँग नियमअनुसार फिर्ता माग्दा रेग्मीले गालीगलौज गरेको उनीहरुको निवेदनमा उल्लेख छ । ‘सद्भावपूर्ण अनुरोधलाई बेवास्ता गरी रेग्मी पक्षबाट गालीगलौज, अपमानपूर्ण र अन्यायपूर्ण अभिव्यक्ति भएकोप्रति हाम्रो ध्यानाकर्षण भएको छ,’ खरेलको अपिलमा उल्लेख गरिएको छ । स्मरण रहोस् विन्ध्यवासिनीका संचालक सुवास रेग्मी संगीत रोयल्टी संकलन समाजका उपाध्यक्ष समेत हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु