अस्ताए गीतसंगीतको धरोहर सुक गुरुङ

म्यूजिक खबर
प्रकाशित: ६ पुष २०७६, आईतवार
Lyricist Suk Gurung

पोखरा । ‘छेक्यो छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोले’ जुन गीतले नेपथ्यलाई चिनायो त्यही गीतका सर्जक थिए सुक गुरुङ । त्यसो त अरुण थापाले गाएको एउटा चर्चित गीत छ ‘दोष कसैलाई दिन चाहन्न, पिउनेछु बरु आँखाको आँसु’ पनि सुक गुरुङकै सिर्जना थियो । यही गीतजस्तै जीवनको उत्तराद्र्धमा आएर रोगसँग लड्दा लड्दै उनको निधन हुन पुग्यो ।
मृगौलाको रोगले थलिएर आँखाको ज्योति समेत गुमाउन पुगेका सुक गुरुङले राम्रो उपचार समेत पाउन सकेनन्। उच्च रक्तचाप, मधुमेहसँग पनि दिनदिनै लडिरहे। अन्ततः दोष कसैलाई नदिई आइतबार उनले संसार त्यागेका छन्।

२०२२ सालमा चितवनमा जन्मिएका सुकको आइतबार बिहान पोखराको चरक अस्पतालमा निधन भयो। पोखरा २७ डाँडाकोनाकस्थित आफ्नै घरमा बस्दै आएका उनलाई उपचारका लागि केही दिनअघि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो।

गीतकार गुरुङको आइतबार नै पोखराको सेतीनदीस्थित रिठेपानी घाटमा गुरुङ संस्कार अनुसार दाहसंस्कार गरिएको छ। गीतकार तथा संगीतकार गुरुङलाई मिर्गौला, मधुमेह, उच्च रक्तचाप लगायतको समस्या थियो। सयौं गीतका सर्जक सुक गुरुङको उपचार सहयोगार्थ अभियानसमेत चलाइएको थियो। राजु लामाले गाएको चर्चित गीत ‘भाइटीकामा भेट्न आऊँला’ पनि यिनै सुक गुरुङले रचना गरेका हुन्।

२०३५ सालदेखि पोखरा रामबजारको भन्ज्याङ झंकार परिवारमा आवद्ध भई कला क्षेत्रमा होमिएका सुकका ‘इशारा भाग १ देखि ३सहित निवेदन, सूचना, विरानो माया गरी ११ सांगीतिक एल्वम बजारमा आएका छन्। उनका गीत, कविता र मुक्तक समेटिएको पुस्तक ‘ए मेरा अन्तरवेदना’ पनि प्रकाशित छ। आँखैमा झलझली, दोबाटोमा आँखाहरू नजुधेका हैन, लगायत दर्जनौं गीतका सर्जक हुन् सुक गुरुङ । उनको निधनले गीतसंगीत क्षेत्रमा अपुरणीय क्षति पुगेको छ ।
म्यूजिक खबर परिवार गीतकार तथा संगीतकार सुक गुरुङप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु