– सुमन बैरागी
तार्के बनकाे चिसो हावामा खेलेको
लटरम्म पाकेको ऐंसेलु र काफल खाएको
खारखाेलाकाे झरनासँगै रमाउँदै
कञ्चन पानीमा पाैडी खेलेकाे दिन
ताजै छ काेइलीसँगै विरह पाेखेकाे
तर हरेक चैत बैशाख आउँछ अनि,
भत्काउँछ याे मुग्लानीकाे मन
आजै जस्तो लाग्छ मुग्लान पसेकाे पनि
खेत बाँझो छाडेर परिवारकाे हाँसो खाेसेकाे
साहुकाे रिन लिएर आफू बेचिएको
खै पत्तै भएनछ समय !
खुशी खाेज्दा खाेज्दै याैवन सकिएछ
धुरी फेर्ने सपनामा जवानी रित्तिएछ
दाना, माना र छानाको खाेजीमै
ऋतु फेरिन्छ, साल बदलिन्छ
तर बदलिँदैन याे मुग्लानीकाे मन
आकाश र धर्ती जस्तो बनेकाे छ जन्मभूमि
डाँडाको घाम जून बनेका छन् बाआमा
रहरै रहर बाकेर दिनरात बितेकाे छ प्यारीकाे
पर्खाइमा छन् तार्के बन र खारखाेला
अस्तित्वकाे संकटमा छ अरे थानीथानकाे चाैताराे
पहिचान फेरिएको छ हाेला बस्तीहरुकाे
तर उस्तै छ जिन्दगीको पाठ्यक्रम
फेरिएको छैन याे मुग्लानीकाे मन
कस्तो भयो हाेला बलाखे र धर्लेबेशी
परिवर्तनकाे बिगुल फुक्ने सिरानचाेक
एकताको सन्देश बाेक्ने लिगलिगकाेट
क्रान्तिकाे मसाल बाेक्ने हर्मी भन्ज्याङ
विचार बदलियाे कि माटाे बदलियाे ?
देश बदलियाे कि परिवेश बदलियाे ?
मनमा बहकिन्छ यस्तै यस्तै भावना
नलेखिएकाे इतिहास बन्दैछ जिन्दगी
एकादेशकाे कथा बन्दैछ साइनो र सम्बन्ध
घरबासकाे सम्झनामा प्याराे बनेको छ प्रवास
तर पनि हरेक वसन्त आउँछ अनि,
भत्काउँछ याे मुग्लानीकाे मन
२०७७-११-२६