मर्मस्पर्शी तिज गीत सुमित्रा कोइरालाको ‘जा मलेवा जा’

म्यूजिक खबर
प्रकाशित: ४ श्रावण २०७८, सोमबार

काठमाडौं । तिज नजिकिँदै गर्दा बजारमा धेरै तिजका गीतहरु सार्वजनिक भइरहेका छन् । एकपछि अर्को तिज गीत बजारमा आउने क्रममा तिजको मौलिकतालाई पछ्याउने भने कमै भेटिने गर्छन् । कोहि झ्याउरे, कोही रत्यौली, कोही छाडा त कोहि ¥याप हानेरै भए पनि तिजको अवसरमा गीतहरु आउने गर्छन् । पछिल्लो समय बजारमा आइरहेका गीतहरुको भीडमा गायिका सुमित्रा कोइरालाको ‘जा मलेवा जा’ तिज गीतले सबैको मन जित्ने विश्वास लिइएको छ ।

केही समय बजारमा आएको उनको गीत ‘झुम्के बुलाँकी’ गीतको एक टुक्का ‘कोही चाख्दैनन् बोटैका भोगटे, भोगटेले ठाउँ मात्रै ओगटे’ले सामाजिक सञ्जालमा निकै चर्चा पायो । विभिन्न टिकाटिप्पणी पनि भए । तर उनका तिज गीतमा भने निकै मार्मिकता र मौलिकता समेटिएको छ । आफ्नै शब्द, संगीत र स्वरमा रहेको ‘जा मलेवा जा’ले एउटा नारीको वास्तविक जीवन, माइतीघर र बालापनका कुराहरुलाई मर्मस्पर्शी ढंगले समेट्न सफल भएकी छन् । गीत जति सुन्दै गयो उति नै मिठासपूर्ण बन्दै गएको आभास हुन्छ । गाउँघरको याद गराउँछ, जन्मघरमा रहँदाको पारिवारिक सुखदुःख गीतले साटेको छ । आमा र बाबाको मायासँगै छोरीको वेदना झल्किएको गीत हो ‘जा मलेवा जा’ ।

यस गीतको संगीत संयोजन भने कृष्ण वि.क. भान्जाले गरेका छन् । श्यामश्वेत रसाइलीको मिक्सिङ रहेको यो गीत प्रिज्म डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।

गीतको भिडियोमा अन्जली अधिकारी र रमा थपलियालाई फिचरिङ गरिएको छ । मौसम हिमालीको निर्देशनमा तयार भएको यो गीतको भिडियोलाई करन चैंसिरले खिचेका छन् भने मनोज कार्कीले सम्पादन गरेका छन् । गायिका सुमित्रा कोइरालाको आफ्नै यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको हो ।

गायिका सुमित्रा कोइराला सिर्जनाभित्र नयाँपन खोज्ने गायिका एवं संगीतकारका रुपमा परिचित छन् । समयअनुसारका शब्द र संगीतसँगै आफैं स्वर भर्ने गरेकी गायिका कोइरालाको गीतहरु आयो बरै झल्को माइती देश, घन्किदे मादलु, टपरी, सुनन मायाले जस्ता गीतहरुले पनि राम्रै चर्चा बटुल्न सफल भएका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु