• ‘बाँसुरीको धूनसँगै उदाएको मास्केको संगीत’

    म्यूजिक खवर
    प्रकाशित: ५ चैत्र २०७५, मंगलवार

    सुमन बैरागी/म्यूजिकखबर


    विहानको समय, संगीतकार सुनिल मास्केसँगको भेट एउटा जिल्लाबासीले मात्र होइन गीतसंगीतको प्रतिनिधित्व पात्रको हैसियतले नै बित्यो । करिब साढे नौ बजे उहाँकै निवासमा भेट गर्दाको क्षण अविस्मरणीय पनि बन्न पुग्यो । गोरखा नगरपालिका–३ हरमटारीमा २०२३ साल चैत ११ गते जन्मिएका संगीतकार सुनिल मास्केको जीवनयात्राको बारेमा कुरा गर्दै गर्दा निकै रोचक मात्र भएन इतिहासको पाना पल्टाउँदै गरेको एउटा पाठकजस्तै म अचम्ममा परेँ । मलाई लाग्थ्यो एउटै जिल्ला भएर पनि मास्केसँग नजिक भएर कुरा खासै गरिएको थिएन तर टाढैबाट मैले बुझेको र चिनेको सुनिल मास्के एउटा सरल र सहज व्यक्तित्व मात्र लाग्थ्यो ।

    गोरखाको शक्ति माविबाट एसएलसी दिएका उनले स्कुलको पढाईमा पाएको तारिफ सुनाए– ‘म साह्रै राम्रा अक्षर लेख्ने गर्थें, स्कुलको स्याब्बासीको पात्र बन्ने गर्थें । परीक्षा हुँदा चिट बोकेर जाने गर्थे तर चोर्न नसकेर लुकाउँदा लुकाउँदै शिक्षकले खोसेर लैजाने गर्थे । किन चोर्न दिएनन्, खोसे भन्ने कुरा पछि मात्र मैले थाहा पाएँ । मैले लेखेको अक्षर हेर्नका लागि मात्र खोसिएको भन्ने पछि शिक्षकले बताएपछि म आफैं दंग परें ।’


    उनी स्कुलदेखि नै राम्रा भलिबल खेलाडी पनि हुन् । उनी गण्डकी अञ्चलस्तरीय ३ खेल विजय भएका थिए भने बाग्मतीमा १ र राष्ट्रियस्तरमा १ खेल जितेर भलिबलमा आफूलाई खेलाडीको रुपमा स्थापित गरेका थिए । त्यसो तर प्रत्येक वर्ष हुने वीरेन्द्र शिल्ड धेरै जितेको अनुभव छ मास्केसँग ।
    कक्षा ७ मा पढ्दाताका बाँसुरी बजाउन सुरु गरेका संगीतकार मास्केले सबैलाई दंग बनादिएका थिए । उनको बाँसुरी गुरु आफैं नै हुन् । उनले बजाएको बाँसुरीको धूनमा धेरै मन्त्रमुग्ध भएका छन् । साँझको बेला गीतकार राजुबाबुको घर छेउको खोपीधारामा गएर बजाएको बाँसुरीमा धेरैको तारिफ बटुलेका छन् उनले । गाउँका सबैले तारिफ गर्दै कति राम्रो बजाएको, कहाँ सिकेको ? भनेर सोध्ने गर्थे तर उनले आफैं सिकेको भन्दा सबै छक्क पर्थे पुराना याद सुनाए ।

    गोरखामा छँदा नै उनी छहारी परिवारसँग सम्बद्ध भएर बाँसुरी बजाउँदै हिंडे । पछि छहारी पनि पृथ्वी सांस्कृतिक परिवारमा परिणत भयो । जसको अध्यक्षता अहिलेका चर्चित संगीत गुरु चन्दनकुमार श्रेष्ठले गरेका थिए । पृथ्वी सांस्कृतिक परिवारले स्कुलस्तरीय प्रतियोगिताहरुलाई बढी प्राथमिकतामा राखेर हिंड्थ्यो । त्यसैबेला तीर्थ शेरचन र राधेश्याम निर्णायकका लागि गोरखा पुगेका थिए । कार्यक्रममा उनको बाँसुरीको धून सुनेर ‘नोटेशन आउँछ ?’ भनेर सोध्दा थाहा छैन भनेपछि ०४० सालमा भारतमा स्कलरसीपमा पढ्न जाने मौका पाएको उनले बताए । उनीहरुकै प्रेरणाले सुनिल मास्के आजका उत्कृष्ट श्रेणीका संगीतकार बन्न सफल भएका हुन् । नेपालकै माटो सम्झिएर मास्केको तन्नेरीपन काठमाडौंमा आएर दीप तुलाधरको मिर्मिरे ग्रुपसँग गाँसियो । लोचन भट्टराई, प्रदीप बमजन, टीका भण्डारी लगायतको समूहमा बसेर उनी पनि बाँसुरी बजाउन थाले । त्यतिबेलै उनले स्टुडियोमा बाँसुरीको टेक लिने अवसर पनि पाए तर नोटेशन भने आफैं किताब हेरेर सिकेका थिए ।


    ४५ सालतिर बल्ल संगीतकार मास्केले औपचारिक रुपमा संगीत क्षेत्रमा होमिएका थिए । बाँसुरी बजाउँदा बजाउँदै यो क्षेत्रमा छिरेको भए पनि तत्कालिन समयमा उनले आफ्नै स्वरमा ‘भाखा’ एल्बम बजारमा ल्याएका थिए । जुन एल्बममा ७ वटा गीत समावेश थियो । ३ वटा गीतमा मनिला सोताङले स्वरमा साथ दिएकी थिइन् । केही गीतमा उनले शब्द पनि लेखे, संगीत पनि भरे । गीत गाउने रहर पूरा गरे।

    २०५३ सालमा कुमार कान्छाको स्वरमा ‘मैले खोजेको साइँली तिमीलाई’ गीत बजारमा ल्याए । जुन गीतले राम्रै चर्चा पनि पायो । त्यसपछि उनले संगीत क्षेत्रलाई अलि पर सारेर नयाँ व्यवसायको मोड लिए अर्थात् मनभरि ठूलो व्यवसायी बनेर देखा पर्ने लक्ष्य थियो । जसअनुसार १३ वर्ष उनले व्यवसायी बन्ने दौडमा सबै त्यागेर लागे ।

    फूल सम्झी चुम्न खोजें मैले छुँदा काँडा भयो
    जतन गरी राखौं भन्थें तर माया अन्तै गइदियो

    राजुबाबु श्रेष्ठको पहिलो गीत आफ्नै संगीतमा रेकर्ड गर्न सफल भएका थिए मास्केले । ०५६ सालमा नेपाल फर्केको बेलामा यो गीत यम बरालको स्वरमा रेकर्ड गराएका थिए । त्यसलाई अपवादको रुपमा लिए उनले । तर ०६७ सालसम्म उनले कुनै पनि रेकर्ड गराएनन् ।

    सफल व्यवसायी बन्ने लक्ष्य पूरा गरेर फर्केका सुनिल मास्के ०६७ सालमा आएर मनिला सोताङ र स्वरुपराज आचार्यको स्वरमा ‘सुनिभा’ लिएर १३ वर्षे गुप्तबास पछि उनी संगीतमै पुनरागमन गरे । त्यसपछि उनको निरन्तरता संगीतमै अघि बढ्यो । ०६९ मा सत्यराजको आवाजमा ‘शुभ’ लिएर आए । त्यसपछि मिलन अमात्यको स्वरमा, राजुबाबु श्रेष्ठको शब्द, सचिन सिंहको एरेन्जमा ‘मधुर मिलन’ ल्याए भने ०७२ सालमा श्रावणी सार्वजनिक गरे । ०७४ सालमा भने नूतन कृति र शब्द सलोनी बजारमा ल्याए । जति एल्बम बजारमा ल्याए सबैमा एकल संगीत भएको एल्बम मात्र बजारमा आए उनका । सोलो संगीतमा पनि फरक पहिचान दिनुपर्छ, स्रोताको मन जित्नुपर्छ भन्ने सोचमा संगीतमा लागिरहँदा उनी सफल भएको बताउँछन् ।


    बुबा गोरखाका राम्रा व्यवसायी थिए । बुबा कपडाको व्यापार र ठेक्का पट्टा गर्ने गर्थे । त्यही भएर पनि होला उनले पनि आफू सबैले चिन्ने सफल व्यवसायी भएर आउने सोचमा लाग्दा लाग्दै संगीतको यात्रा बीचमै टुटेको थियो । उनी बाँसुरी बजाउँदै गर्दा धेरै गीतमा स्टुडियोमा गएर बजाएका छन् तर पारिश्रमिक भने एक रुपैयाँ पनि लिएका छैनन् । ०४२ सालमा स्काउटको कार्यक्रममा रविन शर्माको गीतमा बाँसुरी बजाएका उनलाई दुई सय रुपैयाँ मिलेको थियो । तर नलिने भनेपछि मदनकृष्ण श्रेष्ठले सरस्वतीको प्रसाद हो लिनुपर्छ भनेर कराउनुभयो अनि मात्र लिएँ, उनले भने – ‘पैसा धेरै भएर नलिएको होइन, खर्च चलाउन त्यतिबेला पनि गाह्रै थियो तर ठूलै व्यापारी बन्नुपर्छ भन्ने सोचमा ५०–१०० लिएर जिन्दगी चल्दैन भन्ने सोचमा नलिएको बताउँछन् ।’
    उनको लक्ष्य एकातिर भएपछि संगीतको हुटहुटी भने कायमै थियो । कता जाउँ या नजाउँ मनभित्र भए पनि सफल व्यवसायी बन्नुपर्छ भन्ने अठोट लिएरै छाडे उनले । कता जाउँ कता जाउँ भइरहेको बेलामा उनले एसपी कोइरालाको गीतमा संगीत गरेका थिए । ०५४ सालमा प्रकाश श्रेष्ठ, आनन्द कार्की, रामकृष्ण ढकाल, यम बराल, सपना श्री, उदय सोताङ लगायतको स्वरमा रेकर्ड भएको एल्बम बजारमा अहिलेसम्म ल्याएका छैनन् । अब छिट्टै तीनवटा एल्बम बजारमा ल्याउने सोचमा रहेका उनले यो एल्बमलाई पनि सँगै लिएर आउने भएका छन् । अब मास्केकै सोलो संगीतमा राज सिग्देलसँग र अशोक खलानको मान्छेसँगको एल्बमसँगै यो गर्भमा रहेको एल्बम पनि आउने भएको छ ।


    त्यसो त उनी गायक भएर उदाएको भए पनि पछिल्लो समय उनको स्वरमा कुनै पनि रेकर्ड छैन । अब २७ वर्षपछि उनी गायक भएर नै देखा पर्ने लक्ष्यमा छन् । हुन त उनी राम्रा साहित्यकार पनि हुन् । उनले लेखेको उपन्यास ५० दशकमै चर्चा बटुलेको थियो भने अर्को उपन्यास पाइपलाइनमा रहेको छ ।
    भर्खरै उनी संगीतकार संघको वरिष्ठ उपाध्यक्ष पदमा चयन भएका छन् । अब संघको योजनाअनुरुप काम गर्ने लक्ष्यमा उनी छन् । संघले फराकिलो बनाउँदै गरेको संगीतकर्मी कल्याणकारी कोष अब करोडको योजनामा छ । अहिले १५÷१६ लाखको यात्रामा रहेको कोषलाई बढाउने सोचमा उनी छन् । हुन त संगीतकर्मी कल्याणकारी कोष बनाउनु पर्छ भनेर उनले आफ्नै पहलमा सबै संगीतकर्मीलाई भेला गराएर अभियान सुरु गरेका थिए । आफू आफूबाट नै कोषमा रकम राखेर सुरु गरौं भनेर उनले लक्ष्मण शेष, सुरेश अधिकारी, योगेन्द्रमणी दाहाल लगायतका संगीतकर्मी सबैलाई एक ठाउँ बनाएका थिए । पछि उक्त कोष संगीतकार संघको मातहातमा राखौं भन्ने कुरा आएपछि बाटो मोडिएको थियो ।
    कसैले नसोचेको कुरा हुन सक्छ, उनी आफूले संगीत गरेवापत आएको पैसा छुट्टै खाता खोलेर जम्मा गर्ने गर्छन् । जुन पैसा सामाजिक सेवामा लगाउने काम गरिरहेका छन् । अब गोरखा जिल्लाको कुनै पनि गाउँका गरीब, बाबुआमा नभएका, असक्त बालबच्चालाई शिक्षादिक्षाका लागि त्यो रकम खर्च गर्ने योजनामा छन् संगीतकार मास्के । १० जना बालबालिकालाई निःशुल्क पढाउने सोचका साथ अब गोर्खातिर लाग्ने सोचमा रहेका मास्केको यो योजना छिट्टै अघि बढ्ने भएको छ ।
    संगीत क्षेत्रमा यति ठूलो लगानी छ तर कसले खाइरहेको छ त्यो, खोजी गर्नुपर्ने अवस्था छ । १६ वटा गीत गर्नेले १६ करोड कमाइ ग¥यो रे, अब सयौं गीत गर्नेले सुका पैसा नभएर मनुपर्ने अवस्था किन आयो सबै एकजुट भएर हिंड्नु पर्ने अवस्था छ । सधैं एउटाको गीत मात्र किन दशौं नम्बरसम्म पर्छ, चलेको गीत किन पर्दैन ? यहाँ पनि सिन्डिकेट लागेको छ, यसलाई हटाउनका लागि सबै एकजुट हुनुपर्ने अवस्था आएको छ उनले संगीतकर्मीको दुःखको दिन सम्झाए । अब संगीतकर्मीको लुटिएको सम्पत्ति फिर्ता ल्याउने काममा सबै लाग्नुपर्छ ।

    तस्विरः नविनबाबु गुरुङ

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु