राजु सिंहको संगीतमा महिला उन्मुक्तिको भाव बोकेको गीत ‘खुल्ला आकाश’

म्यूजिक खबर
प्रकाशित: ३० फाल्गुन २०७६, शुक्रबार

काठमाडौं । नेपाली समाज अहिलेसम्म पनि पितृसत्तामै आधारित छ । हरेक काम, व्यवहार एवं निर्णयमा पुरुष सर्वेसर्वा रहने नियम अझै विदितै छ । शहरको सानो जनसंख्यालाई छोडेर, हालसम्म पनि नेपालका एक तिहाई भन्दा बढी महिला कुनै न कुनै रूपमा कुण्ठित जीवन बिताइरहेका छन् । यस्तो अवस्थामा रहेका महिलाहरु अब स्वतन्त्र, खुल्ला र खुसी महसुस गर्ने चाहना गर्दछन् । यस्तै चाहना सहित ‘प्रेमपिण्ड’ चलचित्रकी अभिनेत्री सनी रौनियार लामो समय पश्चात पुनः ‘खुल्ला आकाश’ नामक गीत लिएर श्रोता र दर्शकमाझ आएकी छिन् ।

‘खुल्ला आकाश’ को लागि विजय शिवाकोटीले शब्द कोरेका छन् भने वरिष्ठ संगीतकार राजु सिंहले संगीत दिएका छन् । गीतका लागि अरेन्जर गोपाल रसाइली रहेका छन् भने किशोर थापाले गीतको मिक्सिङ र मास्टरिङ गरेका छन् ।

सनीको गीत ‘खुल्ला आकाश’ को भिडियोको निर्देशन वरिष्ठ संचारकर्मी र निर्देशक भूषण दाहालले गरेका छन् । छायांकन जीवन रिजालले गरेका छन् । साथै भिडियोको सम्पादन भरत रेग्मीले गरेका छन् । दर्शकहरूका लागि गीतको भिडियोलाई ‘ओ एसआर डिजिटल’ को यूट्युब च्यानलबाट अपलोड गरिएको छ ।
सनीले आजभन्दा लगभग २४ वर्ष अगाडि ‘सनी’ नामक गीति अल्बम लिएर आएकी थिइन् । उक्त अल्बम श्रोताहरूले औधी रुचाएका थिए । सोही समयमा सनी चलचित्रहरू, ‘प्रेमपिण्ड’, ‘सडक’, ‘सीता’ र ‘दैवसंजोग’ आदि र केही टेलिभिजनका प्रोजेक्टमा व्यस्त रहेकी थिइन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु