मौलिक तिज गीत प्रतियोगितामा ललितपुर समितिको ह्याट्रिक

म्यूजिक खबर
प्रकाशित: १० भाद्र २०७६, मंगलवार

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका समन्वय समिति नयाँ बसपार्क समितिको आयोजनामा भएको चौथो संस्थागत मौलिक तिज गीत प्रतियोगिता २०७६ मा ललितपुर कार्यसमितिले प्रथम पुरस्कार चुम्दै ह्याट्रिक गरेको छ । ९ वटा समूहले भाग लिएको तिज मौलिक गीत प्रतियोगितामा उपत्यका समन्वय ललितपुर समितिले ३१६.५ अंक ल्याएको प्रथम स्थान हासिल गरेको हो । सुजन बराइली अध्यक्ष रहेको समितिले ३३ हजार चार सय नगद राशिसहित ललिपुर समितिले तेस्रो पटकसम्म निरन्तर पुरस्कार जित्न सफल भएको हो ।

त्यसैगरी कमलादी समितिले ३१५ अंक ल्याएर दोस्रो स्थान हासिल गरेको छ । नीर आले अध्यक्ष रहेको समूहले २२ हजार ३ सय नगद राशिसहितको पुरस्कार जित्न सफल भएको हो । त्यस्तै साधुराम रोका अध्यक्ष रहेको ठमेल समितिले ३१४.५ अंक ल्याएर तेस्रो स्थान हासिल गरेको थियो । विमल परियार अध्यक्ष रहेको अनामनगर समिति र प्रकाश पराजुली अध्यक्ष रहेको लाजिम्पाट समितिले ३१०.५ अंक ल्याएर ६ हजार ५ सय नगद राशिसहित सान्त्वना पुरस्कार जित्न सफल भएको छ ।


उपत्यका समन्वय नयाँ बसपार्क समितिका अध्यक्ष अञ्चल शाहीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा केन्द्रीय कार्यसमितिका वरिष्ठ उपाध्यक्ष रमेश बिजीको प्रमुख आतिथ्यता रहेको थियो । केन्द्रीय सदस्य राजु ढकालको संयोजकत्वमा रहेको निर्णायक समितिमा केन्द्रीय महासचिव सुवास केसी, केन्द्रीय सदस्य शिव हमाल, देवी घर्ती, कृष्ण आँसु र उपत्यका समन्वय समितिका अध्यक्ष पिएन सापकोटा, उपाध्यक्ष कुमार राना रहेका थिए । कार्यक्रममा रेकर्ड नभएका नयाँ मौलिक सिर्जनालाई प्रत्यक्ष रुपमा प्रस्तुत गनुपर्ने प्रावधान रहेको थियो ।


सोही अवसरमा भरत बमजन, सविता पोखरेल, प्रकाश बराइली, सुमन बैरागी, स्वस्तिका पन्थी लगायतका पत्रकारहरुलाई सम्मान गरिएको थियो भने कार्यक्रमलाई सहयोग पु¥याउने संघसंस्था एवं वाद्यवादकहरुलाई समेत प्रमाणपत्र प्रदान गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु