‘द भ्वाइस अफ नेपाल’ सिजन–३ को डिजिटल अडिसनमा कसरी हुने सहभागी ?

म्यूजिक खबर
प्रकाशित: २४ मंसिर २०७७, बुधबार

काठमाडौं । द भ्वाइस अफ नेपाल सिजन–३ का लागि प्रतियोगीको खोजी सुरु भएको छ । यसको अडिसन डिजिटल प्रविधिबाटै सुरु गरिएको आयोजक सुशील नेपालले जानकारी गराएका छन् । डिजिटल अडिसनमार्फत आफ्नो गीतको भिडियो रेकर्ड पठाई यसमा आवेदन गर्न सकिने पनि उनले बताएका छन् । द भ्वाइस अफ नेपाल हिमालय टेलिभिजनले उत्पादन र प्रसारण गर्दै आएको छ ।

तेस्रो सिजनको द भ्वाइस अफ नेपालका लागि शनिबारबाट डिजिटल अडिसन सुरु गरिएको हो । द भ्वाइस अफ नेपालको प्लेटर्फममार्फत सांगीतिक करियर निर्माण गर्न चाहने प्रतिभाहरूले अडिसनमा सहभागी हुन पाउने पनि आयोजक पक्षले जनाएको छ । यो प्रतियोगितामा १६ वर्षदेखि ४५ वर्षसम्मका प्रतिभाहरूले भाग लिन पाउने पनि आयोजक पक्षले जनाएको छ । अडिसनमा नेपाली नागरिक मात्र नभई नेपाली भाषामा गीत गाउन सक्ने नेपाली मूलका विदेशी वा विदेशी नागरिक पनि सहभागी हुन सक्ने सुशीलले बताए । यस्ता प्रतिभाहरूले अडिसन दिनका अडिसन कार्यक्रममा प्रत्यक्ष सहभागी हुनुपर्ने पनि आयोजक पक्षले जानकारी गराएको छ ।

द भ्वाइस अफ नेपाल सिजन ३ को डिजिटल अडिसनमा सहभागी हुन द भ्वाइस अफ नेपालको अफिसियल एप डाउनलोड गरी फाराम भर्नुपर्ने पनि आयोजक पक्षले जानकारी गराएक छ । फाराम भरेपछि मोबाइलमार्फत् नै गीत रेकर्ड गरी पठाउनुपर्ने पनि आयोजक सुशीलले जानकारी गराए । प्रयोगकर्ताले फेसबुकमा रहेको द भ्वाइस अफ नेपालको पेजमा गई म्यासेन्जरमा समेत भिडियो पठाउन सक्नेछन् । इन्टरनेटको पहुँच नभएका प्रयोगकर्ताले द भ्वाइस अफ नेपालको उत्पादन टिमको फोन नम्बरमा फोन गरेर अडिसनका लागि समन्वय गर्न सक्ने पनि उनले बताए । यस पटकको कोचमा गायक प्रमोद खरेल र राजु लामा चयन भइसकेका छन् । आफुहरू नयाँ प्रतियोगीहरूसँग सहकार्य गर्न उत्साहित भएको उनीहरूको भनाइ छ ।

द भ्वाइस अफ नेपालका निर्देशक लक्ष्मण पौडेलले गर्दै छन् । उनका अनुसार कोरोना संक्रमणका कारण यसपटक डिजिटल अडिसन लिन लागिएको हो । अडिसनबाट चयन भएका १ सय जना प्रतिभालाई ब्लाइन्ड अडिसनमा सहभागी गराइने पनि उनले बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु