• ‘के लत बस्यो’ : भ्यूज र रिभ्यू बढेको बढै

    म्यूजिक खबर
    प्रकाशित: १६ माघ २०७९, सोमबार

    सबिता पोखरेल/काठमाडौं
    पछिल्लो समय नेपाली संगीतको बजार नियाल्दा म्युजिक भिडियोमा डान्सिङ प्याट्रन र लोक फ्युजनको ट्रेण्ड चलेको पाइन्छ । डिजिटल बजारमा उपलब्ध गीतसंगीतलाई सरसर्ती हेर्ने हो भने पनि अवस्था छर्लङ्ग बुझ्न सकिन्छ ।

    जब कुनै गीत सार्वजनिक हुन्छ । उफ्रिने र उफार्ने शैलीका गीत भए केहि समय चर्चामा आउँछ । सँगसँगै स्टन्टमा रमाउनेहरु व्यस्त पनि बन्छन् । सुर साधनाको गहिराईमा डुबुल्की मार्नेहरु भन्ने गर्छन् ‘सुर साधनामा डुबेर के गर्नु ? यस्ता श्रोता पाउनै गार्हो छ ।’

    तर सिर्जनामा दम छ भने सुर साधनामा रमाउनेहरुको पनि झन् धेरै खोजी, प्रशंसा र चर्चा हुन्छ भन्ने उदाहरण बनेको छ गजल गीत – ‘के लत बस्यो’ ।

    छोटो समयमा नै लोकप्रिय बनेको यस गीतको भिडियोलाई ३३ लाख बढी भिउज प्राप्त भएको छने भने मिडिया र दर्शक श्रोताबाट राम्रो रिभ्यू पनि प्राप्त भैरहेको छ।
    गायक तिलकसिंह पेलाको स्वर रहेको उक्त गजलले सार्वजनिक भएको १८ दिनमै युट्युबमा ३३ लाख बढी भ्यूज पाएको छ । यो समाचार तयार पारिरहँदाको समयमा गजलको म्युजिक भिडियोलाई ३३ लाख ३ हजारपटक हेरिएको छ । त्यस्तै एक लाख १९ हजारले ‘लाइक’ र १४ हजार बढीले उक्त गजलमा कमेन्ट गरेका छन् ।

    गत पुस २८ मा गायक पेलाको आफ्नै युट्युब च्यानलबाट गजल सार्वजनिक गरिएको थियो । राग मालकौंसमा आधारित सो गजलबाट गायक पेलाले छोटै अवधिमा स्रोता÷दर्शकको मन जित्न सफल भएका छन् ।
    गायक पेलाकै सङ्गीत रहेको गजललाई डा प्रदीकुमार मैनालीले लेखेका हुन् । गजलमा सङ्गीत संयोजन रिदम कँडेलले गरेका छन् । शास्त्रीय सङ्गीतका साधक पेलालाई लोकप्रियता दिलाएको उक्त गजलले युट्युबमा भ्यूजसँगै प्रशंसा पनि उत्तिकै बटुलिरहेको छ ।

    खँदिला शब्द, रागमा आधारित सङ्गीत र पाको गायकीले गजलमा प्राण भरेको छ । पेलाको गजलले गम्भीर भाव र शैलीका सङ्गीत सिर्जनालाई रुचाउने स्रोता-दर्शक पनि उत्तिकै छन् भन्ने प्रमाणित गरिदिएको छ । डिजिटल प्रविधिले गीत/गजल सुन्नेभन्दा हेर्नतिर दर्शकलाई डो¥याइरहेका बेला यो गजलले भने मुग्ध भएर सुन्न धेरेलाई बाध्य पारिरहेको छ । न कुनै कथानक, न कोही पात्र । गीतको म्युजिक भिडियो पनि सामान्य छ ।

    गायक पेलाले स्टुडियोमा गाइरहेको, डा मैनालीले गजल लेखिरहेको र वाद्यवादकले वाद्ययन्त्र बजाइरहेको दृश्य मात्र त्यसमा समेटिएको छ । लालित्यपूर्ण स्वर, लयमा माधुर्यता र मर्मस्पर्शी शब्दले गजललाई जीवन्त बनाएको छ । मौलिक र सिर्जनात्मक प्रस्तुति गजलको अर्को विशेषता हो ।
    गायक पेलाको मात्र नभएर गजलकार डा मैनाली र सङ्गीत संयोजक कँडेलको अब्बल प्रतिभा यो गजलबाट मुखरित भएको छ । बैतडीमा जन्मिएका पेला आफैँमा सङ्गीतका गुरुसमेत हुन् ।
    उनले काठमाडौँमा श्रीकृष्ण गुरुकुल सङ्गीत पाठशाला सञ्चालन गर्दै आएका छन् । गायक पेलाले विसं २०५३ मा ‘आँशु’, २०५४ मा ‘आँशु–२’, र सोही एल्बमको तस्रो भागका रूपमा केही वर्षअघि ‘निर्जन किनार’ सार्वजनिक गरेका थिए।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु