तीन गाउँले थकालीले मनाए त्युङ्ला पर्व

म्यूजिक खबर
प्रकाशित: २२ फाल्गुन २०८०, मंगलवार

काठमाडौं । काठमाडौंमा रहेका मुस्ताङका तीन गाउँले थकालीले एक आपसमा भेला भएर त्युङ्ला पर्व मनाएका छन् । मुस्ताङका तीन गाउँले थकाली समुदायको महान पर्व ‘त्युङ्ला’ ऐतिहासिक पर्वका रुपमा स्थापित छ । त्युङ्ला थकाली पात्रो अनुसार दोस्रो महिनाको छेव चौध तिथिदेखि तेस्रो महिनाको छेव एकसम्म विभिन्न धार्मिक क्रियाकलाप गरी मनाइन्छ ।
मुस्ताङको घरपझोङ– १ चिमाङ, घरपझोङ ३ स्याङ र घरपझोङ ५ ठिनीमा बसोबास गर्ने तीन गाउँले थकाली समुदायको यो पर्व मुस्ताङबाट बसाइसराइ गरी अन्य जिल्लामा गएका र काठमाडौं बसोबास गरेका तीन गाउँले थकालीले पनि ‘त्युङ्ला’ पर्व मनाउने गरेका छन् । मुस्ताङमा तीनगाउँले थकालीले एकापसमा भेला भई ‘त्युङ्ला’ पर्व मनाउँदै आए पनि सो परम्परालाई काठमाडौंमा बसोबास गर्दै आएका तीन गाउँले थकालीले पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाउने गरेका छन् ।
‘त्युङ्ला’ मा देश विदेशमा रहेका तीन गाउँले थकाली पनि पर्व मनानउन गाउँ फर्किन्छन् । त्युङ्लाको शाब्दिक अर्थ थकाली पात्रो अनुसार दोस्रो महिना हो । बर्सेनी दोस्रो महिनामा पर्व मनाईने भएकाले यसलाई तीन गाउँले थकाली समुदायले ‘त्युङ्ला’ पर्व भनी मान्ने गरेको हो ।
पर्वको सुरुवाती दिनमा तीन गाउँले थकाली समुदायले तारो हान्ने खेलको काठको धसा थाप्ने कार्य गर्छन् । छेव चौध तिथिमा ठिनी, स्याङ र चिमाङ गाउँका थकालीले विभिन्न देवी देवतालाई थकाली गीत गाउँदै बोलाएर तारोको धसामा प्राण प्रतिष्ठा गर्ने गर्छन् । धसालाई सांस्कृतिक प्रचलन अनुसार पूजाआजासमेत गरिन्छ ।

पूजाआजा र प्राणप्रतिष्ठापछि तारो हान्ने खेल औपचारिक रुपमा सुरुवात गर्ने प्रचलन छ । पर्वको पाँचौं दिन तीन गाउँले थकालीले तारोको धसामा प्राणप्रतिस्ठान गरिएका देवीदेवतालाई खुसी पार्न छ्याङ, रक्सी, उवा र खानेकुरा चढाउने चलन रहेको तीन गाउँले थकाली सेवा समाजका अध्यक्ष छिरिङ प्रसाद थकालीले बताए । त्युङ्लाको अवसरमा ३ दिनसम्म दिवंगत पितृलाई खुसी पार्न बिहान र बेलुकी पूजा गर्ने गरिन्छ । त्युङ्ला पर्व तीन गाउँले थकालीको महान पर्व भएकाले हर्षाेल्लासका साथ मनाइने सेवा समाजका कोषाध्यक्ष मनेलाल थकालीले बताए । ‘त्युङ्लाको पितृ तथा कूल पुजा गर्ने तिथिमा कर्मघर गएका चेलीहरु माइती भेट्न आउँछन् । आउँदा फलफूल, रोटी, छ्याङ, रक्सी ल्याउने गर्छन् ।
माइती आएका चेली र छुट्टिएर बसेका दाजुभाइले ल्याएका प्रसाद सबै दिवंगत पितृलाई चढाउने गरिन्छ । छेव चौधका सुरुवाती ३ दिनसम्म पितृ पूजा गर्ने र पितृलाई चढाइएका खानेकुरा पूजा सकिएपछि अस्तु राखेको ठाउँमा बिर्सजन गर्ने गरिन्छ ।
थकाली पात्रोको त्युङ्ला महिनाको छेव चौधदेखि तेस्रो महिनाको छेव एकसम्म मनाइने त्युङ्ला दुई सातासम्म चल्ने सेवा समाजका अध्यक्ष थकालीले बताए । त्युङ्लाकै अवसरमा प्रकृति पूजा गरेको भोलिपल्ट थकाली गित गाउँदै खेतबारी घुम्ने गरिन्छ । यसरी खेतबारी घुमेको पर्सीपल्ट तिथि २५ मा नाङ्खोर अर्थात गाउँभित्र मात्र थकाली गीत गाउँदै परिक्रमा गरिन्छ ।
ययसपछि ज्येष्ठ नागरिकले गाउँ परिक्रमा गर्ने टोलीलाई आशीर्वाद दिन्छन् । केटीहरुले पनि थकाली गीतबाट आशीर्वाद दिन्छन् । पर्वको पाँचौ दिन तिथि १८ मा पितृपूजा विर्सजनसंगै तीन गाउँले थकाली समुदायका महिला र पुरुषहरुले थकाली भाषामा दोहोरी गाएका छन् । मुस्ताङमा फूल्ने विभिन्न फूलको नाम, महत्व, परिचय, प्रयोग लगायतका बिषयमा प्रश्नोउत्तर शैलीमा उनीहरुले गीत गाएका हुन् ।
भाषा र संस्कृति जोगाउन थकाली कला, संस्कृति र मौलिकता पुस्तान्तरण गर्न आवश्यक रहेको पाँच गाउँ थकाली सेवा समाजका अध्यक्ष कुलबहादुर थकालीले बताए ।
छिरिङ प्रसाद थकालीको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि संस्थापक अध्यक्ष हरिबहादुर थकाली रहेका थिए । विशिष्ट अतिथिहरुमा पूर्व सांसद श्रीमाया थकाली, पूर्व अध्यक्ष सञ्जय थकाली, अशोक थकाली, मीनबहादुर थकाली, आमा समूहका पूर्व अध्यक्ष सरम थकाली र वर्तमान अध्यक्ष राममाया थकाली लगायतको विशिष्ट अतिथिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन तीन गाउँले थकाली सेवा समाजका कार्यकारी सदस्य बादल थकालीले गरेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य सचिव रामबहादुर थकालीले गरेका थिए भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष मनेलाल थकालीले प्रस्तुत गरेका थिए । कार्यक्रममा थकाली कला संस्कृतिको संरक्षण एवं सम्बद्र्धन कसरी गर्ने र यसलाई पर्यटकीय रुपमा कसरी प्रस्तुत गरी समाजको समृद्धिमा टेवा पु¥याउने भन्ने कुरामा विशेष छलफल समेत भएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु