स्वर्णिम साँझमा गुन्जियो ७३ वर्षिय तीर्थ कुमारीको स्वरको माधुर्यता

म्यूजिक खबर
प्रकाशित: ९ मंसिर २०८०, शनिबार
Suraj Kumar Thapa

काठमाडौं । प्रतिष्ठित गायिका तीर्थ कुमारी थापा १९ वटा गीत प्रस्तुत गर्दै स्वर्णिम साँझमा गुन्जिइन् । अन्नपूर्ण चेम्बर अर्केष्टाको आयोजनामा राष्ट्रिय नाचघर जमलमा कार्यक्रम भएको थियो । कार्यक्रम काठमाडौं प्रज्ञा कुञ्ज स्कुल र तुलसीभक्त कन्स्ट्रक्सनको सहआयोजनामा भएको थियो । ‘तीर्थ कुमारी थापा स्वर्णिम साँझ’मा गायिका थापाले निरन्तर दुई घन्टासम्म १९ वटा लोकप्रिय एवम् चर्चित गीतहरु प्रस्तुत गरेकी हुन् ।

भद्राकुमारी घलेको संकलनमा रहेको डाँडामाथि बिहानै गीतबाट सुरु भएको स्वर्णिम साँझ झम्के फूली नाकैमा बुलाँकी गीतबाट समापन गरिएको थियो । हलभरि खचाखच रहेका दर्शकहरुले गायिका थापालाई ‘वान्स मोर’ भन्दै तालीबजाउँदै नृत्यसमेत प्रस्तुत गरेका थिए । गायिका तीर्थ कुमारी थापालाई छोरा सुरजकुमार थापाले स्वरमा साथ दिएका थिए । गायिका थापाले चर्चित लोकगीतहरुको साथमा नेवारी गीतहरु पनि प्रस्तुत गरेकी थिइन् ।

स्वर्णिम साँझमा चरि बनी उडुँला (शब्द सङ्गीत रामहरि गुरुङ), कति साह्रै जमेको पिरती (संकलक अशोक कुमार श्रेष्ठ), सलल पानी बबइको तिरैमा (शब्द चन्द्रकला शाह र सङ्गीत रत्न बहादुर खड्गी), बारीको डिलमा ओखरबोट (शब्द सङ्गीत लाल बहादुर खाती), ढुङ्गे बगर (संकलन लाल बहादुर खाती), तालको माछा (संकलन सुन्दर श्रेष्ठ), उकालीमा पनि हजुर (संकलन सुन्दर श्रेष्ठ), सुन काटी जन्तर (संकलन दिपक नारायण विश्वकर्मा), म त खाँदिन कुवाको पानी (संकलन बरुण जंग राणा), दाइ कहाँको (शब्द सङ्गीत रत्न बेहोसी), सुमरुगु ताक सोया वा (रचना सङ्गीत रत्न बेहोसी), छंगु हिसी दुगु ख्वा (रचना सङ्गीत राजभाइ बज्राचार्य), घुम्तीमा भेट भयो (संकलन नवीन गुरुङ), हुँदो रैछ भेट (संकलन नवीन गुरुङ), माछी मारन (संकलन नवीन गुरुङ), कति बोलाउँ (संकलन विदुर खड्का र सङ्गीत ध्रुबराज खड्का) र झम्के फूली (शब्द संकलन सुरेश खड्का र लय ध्रुबराज खड्का) जस्ता १९ वटा गीत रहेका थिए ।

कार्यक्रमको समापन भयो भनेर घोषणा गर्दा पनि हलका दर्शकहरुले पुनः गीत गाउनका लागि अनुरोध गरेपछि ‘माछी मारन हे दाइ हो’ गीत पुनः गाएर गायिका थापाले दर्शक स्रोताको मन जित्न सफल भएकी थिइन् ।
एकल साँझ गर्ने आमाको सपनालाई पूरा गर्न पाउँदा खुशी व्यक्त गर्दै छोरा सुरज कुमार थापाले भने– ‘मेरो सपना पूरा भयो । आमाका लागि यति गर्न पाएँ, मेरो जीवन सफल भयो । आमालाई यसरी नै आागामी वर्षहरूमा गाउन लगाइरहन पाऊँ ।’
कार्यक्रममा वरिष्ठ गायक तथा संगीतकार रत्न बेहोशी, वरिष्ठ लोक गायक तथा संगीतकार ध्रुवराज खड्का, वरिष्ठ लोक गायक तथा संगीतकार फणिन्द्र सुवेदीुले स्वरमा साथ दिएका थिए । त्यस्तै चर्चित गायक तथा गायिकाहरु विपिन घिमिरे, देवेन्द्रमान सिंह, श्रीवत्स खरेल, शिला विष्ट, निशा देशार, राधिका भण्डारी र काठमाण्डौ प्रज्ञा कुञ्ज स्कुलका विधार्थीहरुले समेत स्वरमा साथ दिएका थिए । २७ जना वाद्यवादकको समूहलाई अन्नपूर्ण चेम्बर अर्केष्टाका अध्यक्ष राजकुमार श्रेष्ठको संगीत निर्देशन रहेको थियो ।

वि.सं २०२८ सालमा रेडियो नेपालमा गीत रेकर्डिङ गरेर गायन यात्राको सुरुआत गरेकी ७३ वर्षिया गायिका थापा पाँच दशकदेखि लोकसंगीतमा सक्रिय रहेकी छन् । गायिका थापाको हालसम्म एक हजारभन्दा बढी गीत रेकर्ड भइसकेका छन् । थापाले प्रबल गोरखा दक्षिणवाहु मानपदवी २०५७, वीरेन्द्र ऐश्वर्य सेवा पदक २०५८ लगायत दर्जनौँ सम्मान, पदक र पुरस्कार प्राप्त गरिसकेकी छिन् ।


फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु