२०२३ मा कम्पनीभन्दा व्यक्तिगत च्यानल हाबी, लोक फ्लेबरको अग्रता

म्यूजिक खबर
प्रकाशित: १५ पुष २०८०, आईतवार
top ten song of nepal

सबिता पोखरेल
काठमाडौं । गीत संगीतका लागि एउटा समय डिस्क रेकर्डको थियो । विस्तारै प्रविधिको विकास सँगसँगै क्यासेट प्लेयर, सिडि प्लेयर, पेनड्राइभ हुँदै अहिले अनलाइनको समयमा पुगीसकेको छ । पछिल्लो केहि वर्ष यता कलाकारका लागि युट्युबको महत्व र प्रयोग अत्याधिक बढ्दै गएको छ । आजको समयमा कुनै पनि गीतहरु युटुव मार्फत रिलिज हुने गरेका छन् ।
आज हामी सन् २०२३ को अन्त्यमा छौं । यो समयमा व्यक्ति, संस्था र क्षेत्रले यो वर्षमा हासिल भएका उपलब्धिलाई सार्वजनिक गर्ने प्रचलन छ । नेपाली सांगीतिक क्षेत्रमा पनि यो वर्ष विभिन्न शैलीका थुप्रै गीतहरु बजारमा आए । केहि चले भने केहि ओझेलमा परे । अहिले युट्युब गीत र सिनेमालाई कतिले मन पराए कतिले पराएनन् भन्ने कुरा मापन गर्ने यन्त्र जस्तै बनेको छ । हामीले यो वर्षका धेरै हेरिएका ÷सुनिएका गीतहरुको सूचि तयार पारेका छौं । यो सुचिको आधारमा यो वर्ष पनि लोकशैलीका, या अन्य जनरालाई पनि लोक संगीतमा फ्युजन गरी तयार पारिएका गीत सर्वाधिक रुचाइएका छन् ।
१. सकम्बरी : यो वर्षको सर्वाधिक हेरिएको गीतमा प्रकाश सपुतको माया ‘सकम्बरी’ पहिलो नम्बरमा पर्न सफल भएको छ । २०२३ को अप्रिल २३ मा सार्वजनिक गरिएको यो गीतले लाई वर्षको अन्त्यसम्म ५ करोड ५० लाख भन्दा धेरै पटक हेरिएको छ । प्रकाश सपुतकै शब्द र संगीत र स्वर रहेको लोक शैलीको यस गीतमा बर्ता गन्दर्भको पनि स्वर सुन्न सकिन्छ । गीतको भिडियोमा सुनिल थापा, कुशुम शर्मा, निक्स शर्मा, सन्जोग रसाइली, सरस्वती अधिकारी, सरिता राजोपाध्याय, शालिक भण्डारी लगायतले अभिनय गरेका छन् । यसै गीतबाट नव कलाकारको रुपमा भित्रिएकी कुशुम शर्माले समेत अत्याधिक पाउन सफल भइन् भने उनलाई अझै पनि सकम्बरीको नामबाट चर्चा गरिन्छ ।
२.‘अरेली काँडैले’: लोक गीत ‘अरेली काँडैले’ ले पनि ४ करोड ८० लाख भन्दा बढी भ्यूज पाउँदै यो वर्ष धेरै पटक हेरिएको दोश्रो गीत बनेको छ । कहिले ट्रेण्डिङ त कहिले करोड क्लब हुँदै यात्रा गरेको यो गीतले यो वर्षको तीजमा समेत एकछत्र राज गर्यो । तत्कालिन समयमा टिकटकमा समेत नं वानमा रहन सफल यस गीतमा शान्तिश्री परियारको स्वर, खेम सेन्चुरीको संगीत र नेत्र अर्यालको शब्दमा तयार गरिएको हो । सुनिल बिकको निर्देशन तथा गम्भीर विष्टको कोरियोग्राफी रहेको यो गीतको भिडियोमा प्रकाश सपुत र अन्जली अधिकारीले अभिनय गरेका छन् । गीतको भिडियोलाई १८ अगष्ट को २०२३ मा शान्तिश्री परियार युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको थियो ।
३. ‘जे छौ तिमी’: ९ महिना अघि २५ मार्च २०२३ मा सार्वजनिक भएको ‘जे छौ तिमी’ बोलको गीतले पनि युट्युबमा आफ्नो बर्चश्व राख्न सफल भएको छ । स्वप्त सुमन र समिर श्रेष्ठको स्वरले सजिएको यस गीतलाई ४ करोड २५ लाख बढी पटक हेरिएको छ । यस गीतमा शब्द र संगीत युवा पुस्तामाझ अत्याधिक लोकप्रिय बनेका स्वप्न सुमनकै रहेको छ । भिडियोलाई स्वप्न सुमन नामको युट्युब च्यानलमा हेर्न सुन्न सकिन्छ ।
४. सारंगी: लोकप्रिय गायक सुशान्त केसीको ‘सारंगी’ बोलको गीतलाई ३ करोड ७० लाख भन्दा बढी पटक हेरिएको छ । भ्यूजका आधारमा यो गीतले चौथो स्थान पाउन सफल भएको छ । ६ महिना अघि २४ जुन २०२३ मा गीतलाई शुसान्त केसी युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको थियो । यस गीतमा शब्द, संगीत तथा आवाज सुशान्तकै रहेको छ । गीतको भिडियोलाई गौरव कुमार तामाङले निर्देशन गरेका छन्। गीतमा सुशान्त र अन्ना शर्मा फिचर्ड छन् ।
५. दर्शन सलामः वर्ष २०२३ का लागि पाँचौ स्थान भने चलचित्रका ‘छक्कापञ्जा ४’ मा समावेश ‘दर्शन सलाम’ बोलको गीतले ओगटेको छ । ११ महिना अघि सार्वजनिक भएको यस गीतलाई युट्युबमा ३ करोड ८५ लाख पटक हेरिएको छ । यो भ्युजसँगै गीतले वर्ष २०२३ का लागि पाँचौ स्थान सुरक्षित गरेको छ । दिपक शर्माको संगीत तथा राजेन्द्र थापाको शब्द रचना रहेको गीतमा डेभिड शंकर र सहिमा श्रेष्ठको स्वर रहेको छ । गीतको भिडियोमा चलचित्रका कलाकारहरु दिपकराज गिरी, केदार प्रसाद घिमिरे ‘माग्ने बुढा’, बुद्धि तामाङ ‘हैट’, दिपाश्री निरौला, निर्मल शर्मा, स्वस्तिमा खड्का र राज आचार्यको अभिनय रहेको छ । ओएसआर युट्युब च्यानल मार्फत जनवरी ३० २०२३ मा गीतलाई सार्वजनिक गरिएको हो ।
६.फूलथुंगे रानी : पछिल्लो पुस्ताका लोकप्रिय गायक सुजन चापागाईंको ‘फूलथुंगे रानी’ पनि यो वर्षको धेरै हेरिने गीतहरुमा पर्न सफल भएको छ । हर्क साउदको शब्द तथा सुजन चापागाईंको संगीत र स्वर रहेको यस गीतको भिडियोलाई २ करोड ८२ लाख भन्दा धेरै पटक हेरिएको छ । ८ महिना अघि सुजन चापागाईं युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको भिडियोमा एलेक्स विश्वकर्मा र विभूति सिटौलाको अभिनय छ । दुवैले यही म्युजिकल फिल्ममार्फत अभिनयमा डेब्यू गरेका हुन् । १७ मार्च २०२३ मा गीतसार्वजनिक गरिएको हो ।
७.भिखारीः २०२३ का गीत संगीतका भ्यूजलाई गणना गर्दा ओसिस थापाको ‘भिखारी’ बोलको गीत आठौं स्थानमा पर्न सफल भएको छ । ६ महिना अघि १० जुन २०२३ मा सार्वजनिक गरिएको यस गीतलाई २०२३ को अन्तिमम दिन हेर्दा २ करोड ८० लाख पटक हेरिएको छ । मायाप्रेममा आधारित यस गीतमा स्वर र संगीत शब्द ओसिसको नै रहेको छ । आकाश नेपाली र सरिता कठायतको अभिनय रहेको भिडियो स्वर्णिमा श्रेष्ठको निर्देशनमा तयार भएको हो । भिडियोलाई ओसिक कै युट्युब च्यानलमा हेर्न सकिन्छ ।
८. रिमैः पछिल्लो पुस्ताका चर्चित गायक गायक प्रकाश दूतराजको ‘रिमै’ बोलको गीतलाई २ करोड ५१ लाख पटक हेरिएको छ । गीतमा गायक प्रकाशसँगै मेलिना राईको स्वर सुन्न सकिन्छ । प्रकाश स्वयंमको शब्द रहेको यस गीतका लागि संगीत पनि प्रकाशले नै भरेका हुन् । गीतको भिडियोमा प्रकाश स्वयम र केपिना गोतामेको अभिनय छ । यो वर्षका हिट गीतको लिस्टमा यो गीत सबै भन्दा कान्छो गीत हो । २ महिना अघि दशैंको छेको पारेर २० अक्टोबर २०२३ मा गीतलाई अपलोड गरिएको हो । स्रोता दर्शकबाट राम्रो प्रतिक्रिया पाएको गीतलाई नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले समेत प्रशंसा गरेका थिए । सामाजिक सञ्जाल फेसबुकमा गीतको टिकटक भिडियो शेयर गर्दै उनले दशैँमा सुनेको मीठो गीत भनेका थिए । सुदूरपश्चिम र कर्णाली प्रदेशमा घुमन्ते जीवन बिताइरहेका लोपोन्मुख राउटे समुदायको जिवन शैली झल्काउने दृष्य समावेश गरिएको प्रेम कहानीमा आधारित यस गीतको भिडियोलाई प्रकाश दुतराजकै युट्युब च्यानमा हेर्न सकिन्छ ।
९.काले केटालेः चलचित्र ‘ऐंचो पैंचो’ मा समावेश गीत ‘काले केटाले’लाई २ करोड १९ लाख भन्दा धेरैपटक हेरिएको छ । ५ महिना अघि सार्वजनिक गरिएको यस गीतमा अस्मिता अधिकारी र अशिष अविरलको स्वर रहेको छ । एकनारायण भण्डारीको शब्द रहेको गीतमा अशिष अविरलले नै संगीत भरेका हुन् । गीतको भिडियोमा स्वस्तिमा खड्का, वर्षा राउत, मुकुन भुसाल, सुशील सिटौलालगायतका कलाकारलाई देख्न सकिन्छ । भिडियोलाई जुलाई २७, २०२३ मा मा ओएसआर डिजिटल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
१०. कमाउने नि हो, रमाउने नि होः २०२३ का लागि भ्यूजको आधारमा गीतको काउन्ट डाउन गर्दा तीज गीजका अवसरमा निकालिएको कमाउने नि हो, रमाउने नि हो बोलको गीत उत्कृष्ट १० को सुचिमा पर्न सफल भएको छ । गीतले यो सामाग्री तयार पार्दै गर्दा झण्डै २ करोड भ्यूज पाउन सफल भएको छ । खेम सेन्चुरी र सुनिता बुढाको स्वर रहेको यस गीतमा नेत्र अर्यालको शब्द र खेम सेन्चुरीको संगीत रहेको छ । निर्देशन तथा कोरियोग्राफर शंकर बि।सीले गरेका हुन् भने मनोज कार्कीले सम्पादन गरेका हुन् । यस गीतमा प्रकाश सपुत र जुना विश्वकर्माको अभिनय रहेको छ । गीतको भिडियोलाई १२ जुलाई २०२३ मा शुभारम्भ डिजिटल म्यूजिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

यी गीत सँगसँगै क्रममा १ करोडभन्दा बढी हेरिएका गीत थुप्रै छन् । विमल परियार, शान्तिश्री परियार र प्रकाश सपुतको गीत ‘कहाँको साइनो’लाई १ करोड ८३ लाख पटक हेरिएको छ । त्यसैगरि प्रकाश सपुतको ‘दमाई महाराज’लाई १ करोड २१ लाख, सज्जनराज वैद्यको ‘हत्तेरी’लाई १ करोड ५९ लाख, हरिवंश आचार्यको ‘काउली’लाई १ करोड ५९ लाख पटक हेरिएको छ । लोकप्रिय गायक यशकुमारको ‘सुस्तरी सुस्तरी’लाई १ करोड १४ लाख भ्यूज प्राप्त भएको छ । त्यसैगरि भीम बीसीको ‘चस्मा लगाउली’लाई १ करोड ३९ लाख, हेमन्त शर्मा र अस्मिता अधिकारीको ‘उता परेली झिमझिम भो’लाई १ करोड ३५ लाख, उर्गेन दोङ र अनु चौधरीको ‘सैया’लाई १ करोड ५८ लाख, जोन चाम्लिङ राईको ‘हावाजस्तै’लाई १ करोड २७ लाख पटक हेरिएको छ ।
चलचित्र ‘जारी’ मा समावेश गीत ‘चरी बस्यो’लाई १ करोड ४४ लाख प्राप्त भएको छ भने अर्को चलचित्र चलचित्र ‘छक्कापञ्जा ४’ मा समावेश गरिएको गीत ‘सिरुपाते जुंगामा’ ले १ करोड २१ लाख भन्दा बढी भ्यूज पाएको छ ।
यसरी २०२३ का गीतसंगीतको भ्यूजको तथ्याकं बनाउनु पर्दा टपटेनमा अधिकांश लोक र लोक फ्यूजन गरिएका गीत पर्न सफल भएका छन् । करोड भ्यूज क्रस गरेका गीतहरु नै संकलन गर्दा पनि लोक शैलीका गीतले नै अग्रता लिएका छन् । यी रेकर्डलाई सरसर्ती नियाल्दा कम्पनीभन्दा अधिकांश कलाकारका नाममा खोलेका युट्युब च्यानल नै हावी भएको देखिन्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु