मङ्सिर २१ मा त्रिवेणी साङ्गीतिक साँझ

म्यूजिक खबर
प्रकाशित: २६ कार्तिक २०७६, मंगलवार

पोखरा । त्रिवेणी सङ्गीतालयको आयोजनामा त्रिवेणी साङ्गीतिक साँझ आगामी मङ्सिर २१ गते शनिबार हुने भएको छ । पोखरा उद्योग वाणिज्य सङ्घको सभा हलमा हुने कार्यक्रमलाई व्यस्थित बनाउनका लागि उषा माताको संयोजकत्वमा ५१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । समितिका सहसंयोजकमा केदार अधिकारी, सचिवमा सुनील बराल र कोषाध्यक्षमा देवीमाया गुरुङ तथा प्रचारप्रसार संयोजकमा सन्दिप बराल रहेका छन् ।

लामो समयदेखि पोखरामा रहेर सङ्गीत प्रशिक्षण सञ्चालन गर्दै आएको सङ्गीतालयले हरेक वर्ष साङ्गीतिक साँझका अलावा विविध साङ्गीतिक, सांस्कृतिक तथा सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । सो कार्यक्रममा प्रदान गरिने विभिन्न सम्मानका लागि प्रतिभा छनोट समितिसमेत गठन गरिएको प्रबन्ध निर्देशक नवराज बरालले जानकारी दिए । उनका अनुसार समितिको संयोजकमा गायक पद्मराज ढकाल तथा सदस्यहरुमा ताराबहादुर गुरुङ, मनकुमार श्रेष्ठ, गोरे गुरुङ, शारदा भट्टराई, अनुराग अधिकारी र सुमन श्रापित रहेका छन् ।

सो समितिको सिफारिसमा १÷१ जना सङ्गीतकर्मीलाई दीपक भट्टराई स्मृति सङ्गीत पुरस्कार र त्रिवेणी सङ्गीत सम्मान प्रदान गरिने छ । दुवै सम्मान र पुरस्कारको राशि जनही १० हजार रुपैयाँ नगदसहित, सम्मान पत्र र दोसल्ला रहेको छ । सो कार्यक्रममा पोखरा र पोखराबाहिरका कलाकारहरुले साङ्गीतिक प्रस्तुति राख्ने छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु