• चर्चित संगीतकार वाजिद खानको निधन

    म्यूजिक खबर
    प्रकाशित: १९ जेष्ठ २०७७, सोमबार

    एजेन्सी । बलिउडका चर्चित संगीतकार वाजिद खानको निधन भएको छ । आइतबार राति उनको ४२ वर्षको उमेरमा निधन भएको हो । बलिउडमा साजिद–वाजिदको जोडी सर्वाधिक चर्चित मानिन्छ ।

    वाजिद लामो समयदेखि किड्नीका बिरामी थिए । उनको मुम्बइको एक अस्पतालमा उपचार भइरहेको थियो । तर, स्वास्थ्य अवस्था झनै खराब भएपछि उनको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

    उनलाई एक साता अगाडि कोरोना पोजिटिभ पुष्टि भएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन्। साजिद–वाजिद बलिउड नायक सलमान खानको मनपर्ने संगीतकार हुन् । इदको अवसरमा सलमानले सार्वजनिक गरेको ‘भाइ भाइ’ बोलको गीतमा साजिद–वाजिदको संगीत थियो।

    सन् १९९८ मा सलमान अभिनित चलचित्र ‘प्यार किया तो डरना क्या’ बाट वाजिदले बलिउडमा संगीतको काम सुरु गरेका थिए । यसका साथै उनले ‘दबंग ३’ को सबै गीतमा संगीत भरेका थिए । उनले ‘मेरा ही जलवा, सोनी दे नखरे, माआअल्लाह, डू यु वन्ना पार्टनर’ लगायतका हिट गीतमा संगीत भरेका छन् । उनले सन् २०११ मा ‘फिल्मफेयर अवार्ड’मा उत्कृष्ट संगीतकारको अवार्ड पनि प्राप्त गरेका थिए ।

    वाजिदको निधनले सिंगो बलिउड नै स्तब्ध बनेको छ । केही साताअगाडि मात्र बलिउडका दुई चर्चित कलाकार इरफान खान र ऋषि कपुरलाई गुमाएको बलिउडले आइतबार राति अर्का चर्चित संगीतकार वाजिद खानलाई गुमाएको छ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु